– सुजाता कोईराला, केन्द्रीय सदस्य, नेपाली काँग्रेस


ADVERTISEMENT


कांग्रेसले नेतृत्व गरिरहेको सरकारले स्थानीय तह दोस्रो चरणको निर्वाचन सम्पन्न गराएकोे छ र सबै तहको नतिजा पनि आइसकेको छ । यसलाई कसरी समिक्षा गरिराख्नु भएको छ ?


ADVERTISEMENT

# # #


नेपाली कांग्रेसको कुरा गर्दा यो नतिजाले के देखाउँछ भने गुटबन्दी, असन्तुष्टी र एकले अर्कालाई पेल्ने प्रवृत्तिले गर्दा धेरै ठाउँ गुमाउनु पर्यो । गिरिजाबाबुका जतिपनि मान्छे छन् उनीहरुलाई अहिलेको नेतृत्वले संरक्षण गर्न सकेन । जोगाउन सकेन उनीहरु सबै ’वाइपास’ भएका छन् । स्थानीय स्तरमा पकड भएका मान्छेहरुलाई काखापाखा लगाउन थालेपछि त्यो भोट नेपाली कांग्रसलाई आउन सकेन । कांग्रेसको प्रमुख त्रुटी भनेको तिनीहरुलाई टिकाएर राख्न नसक्नु हो । यो पार्टी सबैको हो । सबैले प्रजातन्त्रको लागि लडेका थिए । पार्टीमा सबैको योगदान छ । चाहे त्यो शेरबहादुरको मान्छे होस, चाहे रामचन्द्र पौडेलको मान्छे होस् वा सुजाता कोइरालाको मान्छे होस् । जसको भएपनि तिनीहरु नेपाली कांग्रेसका मान्छे हुन् । सबैलाई समेट्नु नेतृत्वको ठूलो दायित्व र जिम्मेवारी हो ।

मोरङमा हामीले जित्यौँ । पार्टी सभापतिजीले पनि मोरङमा उम्मेद्वार चयनका लागि हामीलाई नै जिम्मेवारी दिनुभएको थियो । कसलाई टिकट दिने, कसलाई नदिने भन्ने कुरा हाम्रो जिम्मेवारी थियो । मोरङमा जितेको कारण एउटा त्यो पनि हो । मोरङमा अझ राम्रो गर्न सकिन्थ्यो । माथिबाट हेर्दा त हामीले जितेका छौँ । तर नेताहरुको वडामा पनि कांग्रेस हारेको छ ।

झापा लगायतका जिल्लामा एमालेको अन्तर्घातले जितेको हो । हाम्रो संगठनले गर्दा जितेको होइन । यो कुरामा हामीले सचेत हुनु पर्छ । संगठन बलियो बनाउनु पर्छ । अर्को गल्ती के भयो भने भरतपुरमा जुन किसिमले हामीले नेकपा माओवादीसंग तालमेल गर्यौं र मञ्चबाट लाल सलाम भन्यौँ, त्यो हाम्रो हारको महत्वपूर्ण कारण बन्न पुग्यो । आफ्नो पकड भएका धेरै ठाउँमा हामीले विविध कारणले गुमाउनु पर्यो । त्यो असन्तुष्टीको कारणले भएकाले सबैलाई एकजुट गराएर विकास निर्माणका काम गरिएन भने अर्को चुनावमा कांग्रेसले जित्न मुस्किल हुने सम्भावना म देख्छु । अर्को कुरा, टिकट बाड्दा राम्रोसंग बाँडिएन । चुनावअघि भएका राजनीतिक निर्णयहरु जस्तो महाअभियोग, आइजीपी प्रकरण लगायतका विषय पनि यो चुनावमा हार्नुको कारक तत्व बने ।

टिकट वितरण गर्दा पैसा लिइयो भन्ने हल्लाहरु बाहिर आए । त्यो कती सत्य हो म जान्दिन । यदी सत्य हो भने त्यो बिल्कुल गलत कुरा हो । किनभने पार्टीको मान्छेको ठूलो योगदान हुन्छ । उनीहरुसित पैसा लिन थालियो भने विकृती पैदा हुन्छ, त्यो पार्टीलाई नै घातक भएर जान्छ । यदि त्यो कुरा असत्य हो भने त्यो हल्लालाई नेपाली कांग्रेसले चिर्न त सकेन नी ? यसले गर्दा आम जनतामा नराम्रो सन्देश गयो । नाकाबन्दीको बेला नेपाली कांग्रसले जनताको पक्षमा उभिन सकेन । कांग्रेसको एउटा नेताका हैसियतले भन्छु कि म आफैपनि यसमा सन्तुष्ट भएको थिइन ।

गिरिजाबाबुले नै मलाई भन्नु भएको थियो कि ’राष्ट्रवादी पार्टी र प्रजातन्त्रका लागि दिएको योगदानले नै नेपाली कांग्रेसले विगतदेखि जित्दै आएको छ र जित्छौँ । राष्ट्रप्रति जहिलेपनि जिम्मेवार रहनु पर्छ । त्यसैले तिमीहरुले यो छवीलाई कायम राख्नु पर्छ ।’ तर हामीले यो कायम गर्न सकेनौँ । मेरो प्रष्ट कुरा छ कि हामीले राष्ट्रवादीको छविपनि देखाउन सकेनौँ । हामीले जनताको हितमा पनि निर्णय गर्न सकेनौँ । जनताको पक्षमा बोल्नु पर्ने समयमा हामी मौन भएर बस्यौँ । सबै भन्दा ठूलो गल्ती नै यही थियोे । त्यसको असर नेपाली कांग्रेसमा पर्न गयो । जनतामा नेपाली कांग्रेसले हाम्रो संरक्षण गर्न सक्दैन भन्ने भावना पैदा भयो र त्यसको फाइदा अहिले ओलीजीले लिनुभयो ।

विगतमा गरिएको निणर्यले कांग्रेस पराजित भयो भन्नु भयो । कांग्रेसले यसबाट कत्तिको पाठ सिकेको छ ? अब कांग्रेसले सुधारिएको कांग्रेसको रुपमा कसरी आउनुपर्छ ?

एकदमै, अब सुधारिएको कांग्रेसको रुपमा आउन जरुरी छ । पहिलो कुरा हामीले कुनै पनि निर्णय गर्दा नेपालको हितलाई ध्यान राखेर गर्नु पर्छ । राष्ट्रको हितमा हामी उभिन सक्नु पर्छ र राष्ट्रका पक्षमा हामीले आवाज उठाउन सक्नु पर्छ ।

विकासको लागि अन्तराष्ट्रिय लगानी ल्याउँदा सबै राष्ट्र एउटा मुलूकलाई मात्र प्राथमिकता नदिएर सबैसंग समान रुपमा अगाडी बढ्नु पर्छ । एउटा कुरा भनिहालौँ, मैले गरिजाबाबुसंग भारत र चीनसंग कस्तो सम्बन्ध स्थापना गर्नुपर्छ भनेर सोध्दा उहाँले दुबै देशसंग धेरै नजिकको सम्बन्ध पनि नराख्नु र टाढा पनि नराखेर सन्तुलित सम्बन्ध कायम गर्नु भन्नु भएको थियो । धरै नजिक भइयो भने उसले हेप्छ र धेरै पर भइयो भने उसले लखेट्ने डर हुन्छ । उहाँले नेपालमा भारतको प्रभाव बढी भएकोले उससंग एकदम सन्तुलित सम्बन्ध राख्नु पर्छ तर यसको अर्थ यो होइन कि चीनसंग सम्बन्ध बिगार्ने भन्नुहुन्थ्यो । उहाँले चीनसंग पनि एकदमै सन्तुलित सम्बन्ध राख्नु भएको थियो । अबका दिनमा कांग्रेसले यसरी नै अगाडी बढ्नु पर्छ ।

अन्य प्रदेशमा स्थानीय निर्वाचन भएपनि २ नम्बरमा भएको छैन । संविधान कार्यान्वयनका लागि आगामी माघ ७ भित्र प्रदेश र संसदको निर्वाचन गर्नुपर्ने हुन्छ । मुद्दाहरुपनि धेरै छन् । राजनीतिक निकासका लागि के गरिनु पर्छ ?

हामीले २ नम्बर प्रदेशमा पनि निर्वाचन गराउनु पर्ने थियो । तर त्यहाँ केही हुन्छ कि भनेर हामी डरायौँ ।

जसकारण निर्वाचन हुन सकेन । सरकारले यो चुनावलाई सार्यो । पाँच नम्बर प्रदेशका केही जिल्लामा समेत दास्रो चरणमा निर्वाचन नगराउने भन्ने कुरा भइराखेको थियो । यदि त्यो गरेको भए गलत हुन्थ्यो । एकै पटक गराएको भएपनि आखिर केही नहुने रहेछ ।

पाँच नम्बरका केही क्षेत्रमा राजपाका कार्यकर्ताले पनि स्वतन्त्र उम्मेद्वारी दिएका थिए । सबैतिर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भयो । जे भएपनि अब असोज २ गते दुई नम्बर प्रदेशमा निर्वाचन अनिवार्य हुनुपर्छ । यो पनि देशकै भूभाग हो ।

समाधानको नाममा अहिले निर्वाचन क्षेत्र थप्ने जुन बिषय चलिरहेको छ, यो गलत छ । अहिले रहेकै निर्वाचन क्षेत्र बैज्ञानिक छ । यो भन्दा फरक सोच्न थालियो भने देश र जनताका लागि झन प्रत्युत्पादक हुन्छ ।

रोकिएको निकासको बिषयलाई भने छिटो भन्दा छिटो टुङ्ग्याउनु पर्छ । प्रदेश र संसद्को चुनाव माघ ७ सम्म गराउन सकियो भने एकदमै राम्रो हुन्छ । निर्वाचन आयोगसंग छलफल गरेर दुईवटै निर्वाचन गराउनु पर्छ । तर यो सार्ने कुरा आइरहेका छ । त्यसका बारेमा मैले बुझेको छैन । निश्चित समयभित्र निर्वाचन गराउन सकियो भने मुलूक एउटा सकारात्मक दिशातिर जान्छ । देशमा राजनीतिक अस्थिरता समाप्त हुन्छ । नेपाली कांग्रसले चुनाव सम्पन्न गराएको छ । यसको सबैले प्रशंसा गरेका छन् ।

कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएको पनि एक महिना नाघिसक्यो । मन्त्रीपरिषद् पनि विस्तार गर्न बाँकी नै छ । देश लाई निकास दिनका लागि अब कस्ता व्यक्तिहरु मन्त्रीमण्डलमा जानुपर्छ ?

दोस्रो चरणको निर्वाचन भएकाले केही ढिला भएपनि अब चाडै नै मन्त्रीपरिषद् विस्तार हुन्छ । बाहिरबाट मान्छे ल्याउने कुरा पनि भएन । जे भए पनि हामीसंग भएकाहरुबाट नै सरकारमा जाने हुन् । तर नेतृत्वले मन्त्री बनाउँदा ध्यान दिनु पर्ने कुरा के छ भने कस्ता मान्छेलाई मन्त्री बनाउँदा आगामी निर्वाचन सम्पन्न गर्न सकिन्छ ? कांग्रेसले भोलिको निर्वाचन जित्नका लागि कस्को काम, विचार तथा भनाईहरु महत्वको तथा उपयोगी हुन्छ ? देश विकासका लागि कोसंग भिजन छ ? यी सबै कुराको विश्लेषण गर्नसक्नु पर्छ । सबैको प्रतिनिधित्व हुने गरी मन्त्रीमण्डल विस्तार गरिनु पर्छ । एउटालाई ‘माइनस’ गराएर अर्को पक्षको पूर्ण सहभागिता गर्नु हुँदैन ।

यसका लागि पार्टीभित्र छलफल चलेको छ ?

पार्टी भित्र गुट–उपगुट छन् । रामचन्द्रजीको गुटले एउटा प्रस्ताव गर्छ । सिटौलाजीको गुटले अर्को प्रस्ताव गर्छ । शेरबहादुर देउवा त पार्टी सभापति नै हुनु भो । उहाँले आफ्नो पक्षमा गर्नु नै हुनेभयो । अर्को समुहले अर्को प्रस्ताव गर्छ । पत्रपत्रिकाहरुमा मैले यस्तो पढ्दै आइरहेकी छु । यसका बारेमा सल्लाह पनि लिएको छैन । मलाई बोलाएको पनि छैन । मेरो के विचार छ भनेर सोधेको पनि छैन । त्यसैले यसको बारेमा मलाई थाहा छैन । त्यो ‘माइनस’ गरिएकोमा एउटा म पनि परेको छु कि जस्तो पो लाग्न थाल्यो ।

ब्यस्तता र धपेडिको बीच तपाईको स्वास्थ्य अवस्था कस्तो छ ? बताइदिनुस न ।

मेरो स्वास्थ्य एकदम राम्रो छ । मलाई कुनै समस्या छैन । निर्वाचनको ‘मोनिटरिङ’ गर्नलाई म कम्बोडिया गएँ । त्यहाँको सरकारले निमन्त्रणा गरेको थियो । त्यसपछि म कोरिया गएँ । एसियाली राजनीतिक पार्टीको अन्तराष्ट्रिय सम्मेलन आईक्याप स्थायी कमिटी सदस्य र आईक्याप महिला बिभाग उपाध्यक्ष छु । त्यहाँ ‘आइक्याप’को ठूलो सम्मेलन भएको थियो । जसमा एसियाका राजनीतिक पार्टीहरुको प्रतिनिधित्व थियो । युरोपियन युनियनकोलाई पनि आइक्यापले सहभागी गराएको छ । युरोप र एसिया मिलेर काम गर्ने भनी एउटा समिति पनि गठन भयो । जसमा एसिया लगायत युरोपयिन युनियनको पनि सहभागिता छ । युरोप एसियासंगै मिलेर काम गर्ने भएकाले यो धेरै राम्रो काम भयो ।

अन्त्यमा, नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र वर्तमान अवस्थालाई उनीहरुले कसरी मूल्याङ्कन गरेको पाइयो ? उनीहरुको सुझाव वा प्रतिक्रिया के कस्तो पाउनु भयो ?

त्यहाँ स्थायी समितिको सदस्यको तर्फबाट नेकपा एमालेबाट झलनाथ खनाल पनि हुनुहुन्थ्यो । फोरमको एक जनाले पनि सहभागिता जनाउनु भएको थियो । नेपालको विकासको बारेमा सबैको चासो छ । सबैले नेपाललाई राम्रो दृष्टिकोणले हेर्छन् । नेपालमा राम्रो हुनुपर्छ भन्ने सबैको भावना रहेको छ ।