सत्तारुढ दल नेकपाका युवा नेता तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतसंग समसामयिक विविध विषयमा गरिएको कुराकानी :


ADVERTISEMENT


पार्टी एकता भएको पनि लगभग वर्ष दिन पुग्न लागेको छ । तर, तल्लो तहसम्मै एकता भइसकेको छैन । कहाँ पुग्यो त्यो प्रक्रिया ?


ADVERTISEMENT

# # #


एकिकरणको प्रक्रिया दुईवटा अध्यक्षको पोल्टामा परेको छ । त्यो स्वभाविक हो जस्तो लाग्छ । प्रधानमन्त्री केपी शर्माओली र पुष्पकमल दाहाल नहुनु भएको थियो भने यो पार्टी एकताको प्रक्रिया सम्भव थिएन । पार्टी एकताको घोषणा भइसकेपछि संसदीय दल र केन्द्रीय कमिटीले एकताको प्रक्रिया पार गरिसकेपछि बाँकी मातहतका कामहरु र जनसंगठनको एकतामा विधि र पद्धतिको एक खालको जबरजस्ती साथीहरुले उठाउनु भयो । जसकारण स्थायी कमिटिको बैठकबाट एउटा टिम बनाएर जिम्मा दिइयो । यो टिम एक किसिमले गोलचक्करमा फसेको जस्तो देखियो । त्यसले कुनै निष्कर्ष निकाल्न सकेन ।

त्यो स्वभाविक नै थियो किनभने स्वयम् पार्टी अध्यक्षहरुले त्यो बारेमा जति होमवर्क गर्नसक्नुहुन्थ्यो, जति तयारी गर्न सक्नुहुन्थ्यो, त्यो टिमले गर्न सकेको थिएन । अन्ततः त्यो पार्टी अध्यक्षहरुकै हातमा आएको छ । मलाई के लाग्छ भने यो सात दश दिनभित्र दुईटै अध्यक्षले जनसंगठन र माताहतका सबै कमिटिहरुको एकताको खाका बाहिर ल्याउँदै पार्टीलाई पूर्ण रुपले एउटा बाटोमा लैजानुहुन्छ ।

पार्टी एकता ढिला हुँदा सरकारको गतिमा असर पर्छ कि पर्दैन ?

निश्चित रुपमा पर्छ ।  एकता ढिला भएकाले ग्रासरुटमा पार्टीविहीनताको अवस्था छ । पार्टी कार्यकर्ताको पहिचान पनि छैन । कोही पूर्वएमाले, कोही पूर्वमाओवादी भ्एर हिंड्नुपर्ने अवस्था अहिले पनि छ । जस्तो बारा-पर्साको राहतकार्यमा युवासंघ र वाइसीएल भएर खट्नुपर्ने स्थिति जुन बन्यो, त्यसले उहाँहरु प्रभावकारी र एकिकृत किसिमले खट्न पाउनु भएन । त्यसो भएको हुँदा एकतापछि तल्लो तहमा पनि पार्टी एकरुपले जान्छ भने अर्कोतिर सरकारविरुद्धका भ्रमहरु चिर्ने र सरकारले गरेका राम्रा कामलाई व्यापक रुपमा अगाडि बढाउन यसले सहयोग गर्छ ।

सरकारको अबको गति भनेको जनतालाई एकाकार गर्ने र हरेक कुरामा जनताको सहभागिता जुटाउने ढंगले आउने  हो भन्ने मलाई लाग्छ । त्यसमा पनि पार्टी एकतापछि बन्ने तल्लो तहका संगठनहरु एकदम प्रभावकारी र कामयावी हुन्छन् भन्ने मलाई लाग्छ ।

तपाईको पार्टीले सरकार सञ्चालन गरेको एक वर्ष नाघिसकेको छ । देशमा विकास र समृद्धिको नारा लगाइरहँदा सोचेजस्तो काम हुन सकेन भन्ने आवाज तपाईहरुकै पार्टीका नेताहरुबाट आइरहेका छन् । अब सरकारको गति कस्तो हुनुपर्छ ?

अहिलेको संरचना सूर्यमुखी फूल जस्तो भयो । किनभने हरेक निकायले माथितिर फर्केर हेर्ने, आफ्नो जिम्मेवारी कोही पनि नठान्ने जस्तो, आफूभन्दा एक तह माथि जिम्मेवारी थुपार्ने जस्तो देखिन्छ । प्रधानमन्त्रीले जुन स्प्रिड र गतिका साथ यो मुलुकलाई हाँक्न खोज्नुभएको छ, राज्यका संयन्त्र त्यो खालको गतिलाई थेग्न नसकिरहेकाले एउटा जटिलता उत्पन्न भएको छ । हुनत यो एक वर्षमा संविधानसंग बाझिएका कानुन निमार्ण गर्ने कुरा हामीले निकै तीव्र गतिमा काम गर्यौँ । कर्मचारी समायोजन समस्याको कुरा थियो । त्यो पनि टुंगिएको छ ।

जनप्रिय बजेट ल्याएर त्यसमा जनताको सहभागिता हुने, जस्तो सरकारले ल्याएको सामुदायिक प्रहरीको एउटा उदाहरण लिन सक्छौँ । त्यो किन आवश्यक थियो भने विगतमा जनयुद्धका कारण जनता र प्रहरीबीच ठूलो दरार उत्पन्न भएको थियो । सामुदायिक प्रहरी कार्यक्रमले जसरी काम थालेको छ, त्यसले जनता र सुरक्षा निकायबीचको सम्बन्ध पनि व्यवस्थित गरेको छ । जनतालाई प्रत्यक्ष जोडेमा फाइदा हुन्छ । जस्तो भक्तपुरमा तुलनात्मक रुपमा अरनिको राजमार्ग किन सफा छ भने हामीले जनतासंगको सम्बन्धलाई जोडेका छौँ । त्यसमा निजी क्षेत्रलाई पनि जोडेका छौँ । यो किसिमको शैलीले हामीले काम गर्नुपर्छ । विगतका बजेटमा सांसदहरुको पनि सन्तुष्टि थिएन । तर मलाई लाग्छ, यसपटकको बजेट सबैलाई अपनत्व हुनेगरी आउँछ ।

विगतमा देखिएका वेथितीहरु, राजश्व चुहावटका समस्याहरुलाई पूर्ण रुपमा नियन्त्रण गर्न सरकार सफल हुँदैछ भन्ने देखिन्छ । हिजो भन्सारमा जानका लागि भनसुन चल्थ्यो, तर अहिले त्यस्तो छैन । कोही पनि भन्सारमा जान खोज्दैन । यसको अर्थ के हो भने राजश्व अनुसन्धान र सरकारले जसरी अनुसन्धान चलाइरहेको छ, त्यसले प्रभावकारी भूमिका खेलेको छ । यस्तै भर्खरै लगानी सम्मेलन सकिएको छ । त्यसले अर्बौँ लगानीको प्रतिवद्धता आएको छ । यस्तै प्रधानमन्त्रीले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा गएर नेपाल लगानीका लागि सुरक्षित छ भनिरहनु भएको छ । यसले पनि विदेशी लगानीकर्ताहरुलाई आकर्षित गरिरहेको छ । जुन विगतमा थिए । अर्को बिम्स्टेकमार्फत हामीले बंगलादेशसंग विजुली कारोबारको सम्झौता गरेका छौँ । जमिनबाट अब हामी पानी अर्थात् समुद्रसंग जोडिएका छौँ । पूर्व पश्चिम रेल र नारायणी, कोशी जस्ता ठूला नदीमा पानीजहाज ल्याउने कुरा छ । यसमा प्रधानमन्त्रीले ठूलो भूमिका खेल्नुभएको छ । यस्ता थुप्रै कामहरु भइरहेका छन् । पहिलो वर्ष भएको हुनाले जनअपेक्षा अनुसार काम भएन भन्ने कताकता होला । तर, मलाई लाग्छ सरकार ठीक दिशातर्फ गइरहेको छ ।

केही समयअघि तपाईकै पार्टीका अध्यक्ष प्रचण्डले मन्त्रीपरिषद् हेरफेर हुन सक्ने संकेत गर्नुभएको थियो । मन्त्री परिषद् विस्तारको कुरा कता पुगेको छ ? यसमा तपाईको सम्भावनाबारे पनि बाहिर हल्ला आइरहेका छन् । के भन्नुहुन्छ ?

यो मन्त्रीपरिषद् विस्तार गर्ने कुरा प्रधानमन्त्रीको निहीत अधिकार हो । एक वर्षको समीक्षा गरेर मन्त्रीपषिद् पनर्गठन हुन्छ भन्ने भन्ने अनुमान उहाँलगायत अरुले पनि गरेकै हो । त्यस्तो सम्भावना म पनि देख्छु । जहाँसम्म मेरो कुरा छ, त्यसका लागि दुई वटा कारणले मेरो नाम चर्चामा आएको होला जस्तो लाग्छ । एउटा विगतमा मलाई जे-जे जिम्मेवारी पार्टीले प्रदान गर्यो । यद्दपी मलाई यो जिम्मेवारी चाहियो भनेर धाउने बानी मेरो छैन । मैँले आफूलाई दिइएको जिम्मेवारीमा इमान्दारिताका साथ काम गरेर देखाएँ ।

दोस्रो अहिले निर्वाचित सांसदमध्ये विगतमा हाम्रो पार्टीका लागि निकै चुनौति रहेको भक्तपुरजस्तो ठाउँमा जितेर अहिले मैँले जुन किसिमले विकास गरेको छु र सांसद भनेका विधि निर्माता मात्रै नभई विकासका पहलकर्ता पनि हुन् भन्ने जुन नारा मैँले निर्वाचनमा दिएको थिएँ । त्यसलाई व्यवहारमा लागू गर्नका लागि आफ्नो क्षमता, दक्षता र समय प्रयोग गर्दै पूर्ण रुपमा खटेको छु । त्यसले गर्दा भक्तपुर एक किसिमले चर्चामा पनि छ । यही कारणले गर्दा पार्टीका साथीहरु तथा नेताकार्यकर्ताहरुले चर्चा गरेको जस्तो लाग्छ । म प्रधानमन्त्रीलाई फेरि पनि के भन्न चाहन्छु भने उहाँलाई अप्ठ्यारो हुनेगरी मेरो मागदाबी केही पनि छैन । तर, उहाँले केही कुरा महशुस गरेर जिम्मेवारी दिनुभयो भने इमान्दारिताका साथ र प्रभावकारी ढंगले गर्नसक्छु भन्ने मनोबल छ ।

तपाई त्यो टिममा गएको खण्डमा के के गर्नुहुन्छ जस्तो लाग्छ ?

बाहिर हुँदा पनि हामी काम गरिरहेकै छौँ । तर टिममा हुँदा अझ प्रभावकारिताका साथ काम गर्न सकिन्छ । जस्तो विदेशी कुटनीतिमा अझ व्यवस्थापन गर्नुपर्नेछ । मिडिया र सामाजिक सञ्जालमा भइरहेको नकारात्मतालाई व्यवस्थित गर्नका लागि सरकारले गरेका राम्रा कुराहरुको प्रचार गर्ने र व्यवस्थित गर्ने गर्नुपर्ने म देख्छु । कतिपय सन्दर्भमा न्यायालयमा अलिकति ‘ग्याप’ भएको हो कि जस्तो देखिन्छ । अर्को हाम्रा बुद्धिजिवीहरुसंगको छलफलमा अलिकति तालमेल भएन जस्तो पनि देखिन्छ । विदेशी लगानी भित्र्याउनका लागि आवश्यक कारबाही पनि थाल्नुपर्नेछ । विगतमा युवाको नेतृत्व पनि गरिसकेकाले युवाहरुलाई परिचालन गर्न पनि आफु सक्छु जस्तो लाग्छ । त्यसकारण पार्टीले जुनसुकै जिम्मेवारी दिए पनि व्यवस्थितसंग गर्नसक्छु जस्तो लाग्छ ।

देशमा विकास र समृद्धिको कुरा गरिरहँदा अब कसरी जानुपर्छ ?

विकासमा जनताको सहभागितालाई अनिवार्य गर्नैपर्छ । नत्रभने त्यो दीगो पनि हुँदैन, सुशासन पनि हुँदैन । अर्को कुरा हाम्रो नीति, कानुन र प्रणालीमा देखिएका समस्याहरु हटाउनुपर्छ । कार्यान्वयनको तहमा देखिएका ढिलासुस्तीहरु, भ्रष्टाचारलाई पूर्णरुपले अन्त्य गर्नुपर्छ । त्यसका लागि राज्यको संयन्त्र बलियो हुनुपर्छ । भ्रष्टाचार र अनियमितता अन्त्यका लागि आवश्यकता पर्यो भने सुरक्षा निकायलाई पनि व्यवस्थित किसिमले परिचालन गर्नुपर्छ । तर, सबैमा जनसहभागिता हुन जरुरी छ । यस्ता कार्यक्रमहरु हामीले भक्तपुरमा सुरु गरिसकेका छौँ । राम्रो भयो भने त्यसलाई विस्तार गर्न सकिन्छ ।