काठमाडौँ – नेपाल समाचार पत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको ६० वर्षको उमेरमा निधन भएको हो ।


ADVERTISEMENT


श्रेष्ठको करीब साढे पाँच महिना अघि नाकमा समस्या भएका कारण राजधानीको वयोधा अस्पतालमा नाकको र ब्लुक्रस अस्पतालमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म उनको स्वास्थ्य स्थिति सामान्य रहे पनि मिर्गौलाको पत्थरीको शल्यक्रिया पश्चात उनमा थप समस्या देखिँदै आएको थियो ।


ADVERTISEMENT

# # #


चिकित्सकहरुले उनलाई जीबीएस को सङ्क्रमण भएको आशङ्का गरेपछि भारतको हरियाणास्थित मेदान्त अस्पताल ‘रिफर’ गरे पनि उपचार कार्यले सफलता पाउन सकेन । थप समस्या देखिँदै आएपछि उनलाई मेडिसिटी अस्पताल हुँदै पुनः नर्भिकमा पुर्याइएको थियो ।

श्रेष्ठले न्यूनतम पारिश्रमिक निर्धारण समिति, राष्ट्रिय समाचार समिति (रासस), नेपाल प्रेस इन्स्टिच्युट, सम्पादक समाज नेपाल, नेपाल प्रेस क्लब, प्रेस काउन्सिल नेपालमा कार्यकारी सदस्यका रुपमा समेत योगदान दिएका छन् । उनी पूर्व राष्ट्रिय फुटबल खेलाडी समेत हुन् ।

श्रेष्ठको पार्थीव शरीर आज भूगोलपार्कमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजालले जानकारी दिए । श्रेष्ठका श्रीमती र तीन छोरा छन् ।