बेइजिङ । नेपाल र चीनबीच सीमापार रेलसहित बहुउद्देश्यीय हिमालय वारपार सञ्जाल विस्तारको ढोका खुलेको छ। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालले राखेको सञ्जाल विस्तार प्रस्ताव स्वीकार गरेको हो। योसँगै बीआरआईमा नेपालमा रेल ल्याउने योजना समावेश भएको छ।


ADVERTISEMENT


विभिन्न निर्णय गर्दै बीआरआई सम्मेलन शनिबार बेइजिङमा सम्पन्न भएको छ। विभिन्न मुलुकसँग गरिने आर्थिक सहकार्य र सञ्जाल विस्तारको पहिलो एनेक्सको २३ औं बुँदामा नेपालसँग सहकार्य हुने उल्लेख छ। ३७ मुलुकका राष्ट्र एवं सरकार प्रमुख सम्मिलित गोलमेचपछि ३८ बुँदे संयुक्त वक्तव्य जारी गरिएको छ। वक्तव्यमा तीन ‘एनेक्स’ समेत छुट्याएर बीआरआईमार्फत अहिले भइरहेका र भविष्यमा हुने सहकार्यका योजना सूचीबद्ध छन्।


ADVERTISEMENT

# # #


चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्मेलन निकै फलदायी रहेको बताए। सम्मेलन समापनपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति सीले नेपालसहित सबै मुलुकसँग हुने सहकार्यलाई चीनले तालिकासहित बाहिर ल्याउने स्पष्ट पारे। सम्मेलन समापन समारोहमा राष्ट्रपति सीले बीआरआई परियोजनामा १५० मुलुकले चीनसँग सम्झौता गरेको जानकारी दिए। उनले भने, ‘साझा लक्ष्य हासिल गर्न र खुलापन तथा सुधारका क्षेत्रमा अगाडि बढ्न बीआरआई कोसेढुंगा हुनेछ।’

चीनले नेपाललाई दक्षिण एसियासँग जोड्ने मुख्य द्वारका रूपमा लिँदै आएको छ। बीआरआईको फ्रेमवर्कभित्रको परियोजनामा रेल र हिमालय वारपार सञ्जाल विस्तार पर्नुलाई सकारात्मक मानिन्छ। नेपालले लामो समयदेखि चिनियाँ फ्रेमवर्कभित्र रेलवे विस्तार पार्नुपर्ने आग्रह गर्दै आएको थियो।

चिनियाँ राष्ट्रपति सी सम्मेलनका विभिन्न सत्रमा सक्रिय रहे। उनले अतिथिको सम्मानमा स्वागत समारोह आयोजना गरे। शीर्षस्थ नेताहरूको गोलमेच सम्मेलन गराए। उपस्थित सबैलाई शुक्रबार साँझ रिसेप्सन दिँदै उनले संक्षिप्त भेटवार्ता पनि गरे। राष्ट्रपति सीले सम्मेलनमा विश्वका नेताबीच बेल्ट एन्ड रोड सहकार्य सम्बन्धमा बहस चलाएर दिग्गज नेतालाई सहमत गराएका थिए

बीआरआईमा नेपाल–चीन सीमापार रेल मार्ग परियोजना र हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको विषय परेपछि नेपाली प्रतिनिधिमण्डलको मुहारमा चमक थियो। उपस्थित अन्य मुलुकका नेता पनि प्रफुल्ल देखिन्थे। चिनियाँ राष्ट्रपति सी भने सबैलाई धन्यवाद दिँदै बिदाइमा व्यस्त थिए। चिनियाँहरू आगन्तुकलाई खुसी पार्न पारंगत रहेकाले पनि सहभागी सबै दंग देखिएका हुन्।

यसैबीच बेइजिङस्थित नेपाली दूतावासले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोज आयोजना गरेको छ। समारोहमा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू पनि सहभागी थिए। यसअघि शुक्रबार साँझ चिनियाँ राष्ट्राध्यक्ष सीले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति भण्डारीको सहभागिता रह्यो।

अबको कार्यक्रम

राष्ट्रपति भण्डारीले आइतबार बिहान चीन वाणिज्य स्टक इन्टरप्राइजेज अन्तर्गत आर्थिक संयुक्त कमिटीका अध्यक्षसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि नेपाल–चीन व्यापार र व्यवसाय मञ्चमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रममा राष्ट्रपतिका साथ आएका प्रतिनिधिमण्डल सहभागी हुनेछन्। अवसरमा नेपाल लगानी बोर्ड र चीन वाणिज्य स्टक इन्टरप्राइजेज अन्तर्गत आर्थिक संयुक्त कमिटीबीच नेपालमा लगानीसम्बन्धमा अनुभव आदानप्रदानका साथै सम्झौतामा हस्ताक्षर गरिने दूतावासले जनाएको छ।

मञ्चमा सहभागी भएपछि राष्ट्रपतिले बेइजिङको केन्द्रमा रहेको नेपाली कलाकार अरनिकोद्वारा निर्मित श्वेत चैत्य अवलोकन गर्ने कार्यक्रम छ। साँझ अन्तर्राष्ट्रिय बागवानी प्रदर्र्शनीमा नेपालले बनाएको लुम्बिनी शान्ति बगैंचाको अवलोकन गर्ने कार्यक्रम छ। सोमबार नेपाल र चीनबीच चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा छलफल हुने दूतवासका अधिकारीले बताए।

३८ बुँदे संयुक्त वक्तव्यको मुख्य बुँदा 

–बेल्ट एन्ड रोडमार्फत उच्च गुणस्तरको विकास
–समावेशिता, जनता केन्द्रित विकास र आर्थिक गतिविधिमा जोड

–राष्ट्रसंघीय दिगो विकाससँगै बीआरआईलाई सहकार्य गराउने

–राष्ट्रसंघको बडापत्रअनुसार अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई साथ दिने

– पुरानो सिल्क रोडमार्फत सहकार्य थप अघि बढाउने

– बीआरआई सहकार्यलाई तीव्र र अझ बढी समावेशी बनाइने

– पूर्वाधार विकास, आर्थिक करिडोर सहकार्यका लागि विशेष हब तयार गर्र्ने– उद्योग पार्क निर्माण, प्रविधिको विकास, समुद्रमार्फतको सहकार्य

– जनस्तरको सम्बन्ध, व्यापार सम्बन्ध र सांस्कृतिक सहकार्यमा जोड

–सामाजिक विकास कार्यमा पारदर्शिता कायम

–विकाससँग जोडिएका सबै क्षेत्रीय–उपक्षेत्रीय संगठनसँग सहकार्य

– आर्थिक सहकार्यका लागि लगानी, सहुलियत ऋण सहयोग

–सबैलाई स्वीकार्य कर प्रणालीको विकास

–प्रविधिको विकासमा सहकार्य र यातायात विस्तार

–पूर्वाधारले जोड्न सञ्जाल विकास

–भूपरिवेष्टित मुलुकलाई पारवहन सुविधा

–बजारको पहँुच बढाउने

–क्षेत्रीय र उपक्षेत्रीय यातायातमा जोड

–रेल र सडक सञ्जालको विस्तार

–ऊर्जामा सबैको पहुँच स्थापित गर्ने

–कार्बन उत्पादन कम गरी विकास मोडल तयार

–हरित प्रविधि र ऊर्जामा जोड

–सबैमा स्वच्छ पानीको पहँुच बढाउने

–कृषि उद्योगमा जोड

–भ्रष्टाचारमा शून्य सहनशीलताको विकास

–पब्लिक प्राइभेट पार्टनरसिपको विकास

–जनस्तरको सहकार्य विकास

–युवाशक्तिलाई प्राविधिक शिक्षामा जोड

–पुराना प्रविधि र हस्तकला विस्तार

–थिंक ट्यांकको विकास र सहकार्य

सहकार्यका तीन एनेक्स

–अर्थिक करिडोर, सञ्जाल विस्तारमा सहकार्र्य हुने गरी ३५ परियोजना चयन, त्यसमा नेपालको हिमालय वारपार सहकार्य प्रस्ताव समावेश

–सेक्टर बहुउद्देशीय सहकार्यका १४ सहित परियोजना चयन

–१५ क्षेत्रीय–उपक्षेत्रीय सहकार्य समावेश