भक्तपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अहिलेको विकासको गति सरकारले सोचेअनुरुप अघि बढ्न नसकेको बताएका छन् ।


ADVERTISEMENT


नगरकोटस्थित तेलकोटमा आज आयोजित मनोहरा–नीलबाराही–चाँगु–तेलकोट सडकको शिलान्यास गर्दै उनले विकास कार्यमा कहीँ न कहीँ अप्ठ्यारो देखिएकाले त्यसलाई छिचोलेर सरकार अघि बढ्ने बताए । अर्को प्रसङ्गमा उनले बिआरआई परियोजनामा परिसकेकाले अब नेपालमा रेल आउने कुरा निश्चित भएको बताए ।


ADVERTISEMENT

# # #


सञ्चारमन्त्री बाँस्कोटाले भने,“ गुणस्तरीय कार्य नगर्ने र ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कानूनको डण्डा चलाएर भए पनि पुनःनिर्माणको प्रक्रियामा ल्याउँछौँ ।” कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले प्रदेश सरकारले विनियोजन गरेको रु २७ करोड २५ लाख लागतमा १३ किमीको उक्त सडक १८ महीनाभित्र निर्माण सम्पन्न हुने जानकारी दिए ।

सडक शिलान्यास कार्यक्रममा प्रदेश नं ३ प्रदेशसभा सदस्य सरस्वती बाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रदेश नं ३ पूर्वाधार विकास कार्यालयका प्रमुख लोकनाथ रेग्मी र चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिमिल्सिनाले निर्माण व्यवसायीका कारण पूर्वाधार विकासमा ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै सो सडक निर्माणसमयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए।

सञ्चारमन्त्रीलाई ज्ञापनपत्र

सञ्चारमन्त्री बाँस्कोटालाई नगरकोट सडक पीडित सङ्घर्ष समितिले भत्केकोपाटी–तेलकोट–नगरकोट सडकको २० किमी सडकको निर्माण छिटो सम्पन्न गर्न ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ ।

निर्माण शुरु गरिएको सात वर्षसम्म पनि निर्माण अलपत्र बनाइएकाले व्यवसायीलाई छिटो र गुणस्तरीय निर्माण गराउन सरकारका प्रवक्तालाई ज्ञापनपत्र बुझाइएको सङ्घर्ष समितिका संयोजक राजकुमार लामिछानेले जानकारी दिए । उनले घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण जनजीवन कष्टकर बन्दै गएको पनि बताए । रासस