कृष्ण न्यौपाने, दमौली– छोरी बेला–बेलामा बिरामी पर्छिन् । छोरीको औषधि उपचारका लागि मलाई धौ–धौ परिरहेको छ । मलाई अरु केही चाहिएको छैन, छोरीको स्वास्थ्य र शिक्षाकै चिन्ता छ ।


ADVERTISEMENT


तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँ निवासी इन्द्रमाया तामाङ कुसुण्डालाई आफ्नी ११ वर्षीया छोरीलाई कसरी राम्रो स्वास्थ्य र शिक्षा दिने भन्ने चिन्ता छ । लोपोन्मुख र तनहुँकै एक मात्र कुसुण्डा जातिका स्व राजामामा कुसुण्डाका श्रीमती इन्द्रमायालाई छोरी सीमान्तको स्वास्थ्य उपचार र शिक्षाका लागि समस्या परेको हो ।


ADVERTISEMENT

# # #


सामाजिक सुरक्षा भत्ता बापत सरकारले प्रतिव्यक्ति रु एक हजार दिने गरेको छ । इन्द्रमायाले आफ्नो र छोरीको मासिक दुई हजार भत्ता पाउँछिन् । उक्त भत्ताले घर खर्चसमेत चलाउन धौ–धौ परेको उनले बताइन् ।

केही समयअघि सोही वडास्थित सतिश बोर्डिङ स्कुलमा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएकी उनीसँग अहिले रोजगारी छैन । विद्यालयले घरमा काम गर्न आग्रह गरेपछि उनले दुवै तिर काम गर्न नसक्ने जानकारी दिएपछि अरुलाई नै रोजगारी दिइएको छ ।

उनले भनिन, ‘रोजगारी नभएपछि घरखर्च चलाउन समस्या परिरहेको छ ।’ सीमान्त बोर्डिङ स्कुलमा चार कक्षामा अध्ययन गर्छिन् । छोरीको मासिक शुल्क रु एक हजार ४०० छ । पहिले इन्द्रमाया सोही बोर्डिङमै कार्यरत रहेकाले छोरीको मासिक शुल्क तिर्न पुगेको थियो । उनले भने, ‘रोजगारी नभएपछि कसरी शुल्क तिर्ने रु ’ कुसुण्डा भाषा बोल्न जान्ने राजामामाको गत वर्ष वैशाख ५ गते निधन भएको थियो ।

राजामामाको निधनपछि कुसुण्डा भाषासमेत लोप हुने चिन्ता बढेको इन्द्रमायाले बताइन् । ‘मलाई पनि कुसुण्डा भाषा खासै आउँदैन । राजामामासँग विवाह गरेपछि अलि–अलि मात्रै बोल्न जानेको छु । तर कोसँग बोल्ने, यो भाषा बोल्ने मान्छे अरु छैनन् ।’ आफूलाई राजामामाले नै अलिअलि बोल्न सिकाएको उनले बताए । सीमान्तलाई भने यो भाषा बोल्न आउँदैन ।

सोही वडाका अध्यक्ष तुलसीराम सापकोटाले सीमान्तको पढाइको जिम्मेवारी वडा कार्यालयले लिने प्रतिबद्धता जनाए । उनले आगामी आर्थिक वर्षको बजेटमै वडाबाट सीमान्तको शिक्षाको लागि बजेट छुट्याउने तयारी गरिएको जानकारी दिए । साथै इन्द्रमायाको रोजगारीको लागि आफूले नगर प्रमुखसँग छलफल गर्ने उनले बताए ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एक रोपनी जग्गा खरीद गरी तीन कोठे घर निर्माण गरिदिएको छ । प्रतिष्ठानले नै विसं २०६१ पुस ७ गते राजामामाको विवाह इन्द्रमाया तामाङसँग गराइदिएको थियो ।

सीमान्तको सहयोगका लागि अभियान

साहित्यकार एवं साभ नेपाल संस्थाका अध्यक्ष तुलसी प्रवासले सीमान्तको सहयोगका लागि अभियान शुरु गरेकी छन् । नेपालका विभिन्न जातजातिको अनुसन्धानमा लागेकी उनले कुसुण्डा बालिकाको सहयोग अभियान शुरु गरेकी छिन् ।

कुसुण्डा परिवारको आर्थिक अवस्था ज्यादै दयनीय रहेकोले सीमान्तको शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान सञ्चालन गरेको उनले जानकारी दिइन् । व्यास नगरपालिकामा बसोबास गर्ने ३९ प्रकारका जातजातिको सामाजिक, सांस्कृतिक पक्षको अनुसन्धानका सिलसिलामा उनले कुसुण्डा परिवारलाई भेटिन् ।

सीमान्तको शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नका लागि आफूले अभियान शुरु गरेको उनले बताइन्। उनका अनुसार अभियान सञ्चालन गरे लगत्तै देश तथा विदेशबाट केहीले सहयोग गरिसकेका छन् भने केहीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

अमेरिकामा रहेका आफ्ना साथीले सीमान्तलाई कक्षा १२ सम्म अध्ययन गराउने प्रतिबद्धता जनाइसकेको प्रवासले जानकारी दिइन् । अभियानबाट सङ्कलित रकमले कोष बनाइनेछ । उक्त कोषबाट प्राप्त रकमले सीमान्तको शिक्षा र स्वास्थ्य उपचारमा खर्च गरिनेछ । रासस