किराँत नाम राख्न प्रदेश सांसदलाई दैनिक एसएमएस अभियान


ADVERTISEMENT


काठमाडौं – किराँत राई समुदायको साझा संस्था किरात राई यायोक्खाले १ नम्बर प्रदेशको नाम किराँत नराखिए अशान्ति हुने चेतावनी दिएको छ ।


ADVERTISEMENT

# # #


प्रदेशको नामसँग सम्बन्धित रहेर यायोक्खाले बुधबार केन्द्रीय कार्यालय कोटेश्वर काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रदेशको नाम किराँत नराखे आन्दोलनहुने चेतावनी दिएको हो । प्रदेशको नाम र स्थायी राजधानी बारे भोली १९ गतेसम्म प्रस्ताव दर्ता हुँदैछ ।

प्रदेश सभामा किराँत नाम राख्न प्रस्ताव दर्ता हुने विज्ञप्ति मार्फत दावी गरिएको छ । यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘प्रदेश सभामा किराँत प्रदेश नामको लागि प्रस्ताव दर्ता हुँदैछ ।’

उक्त प्रस्तावमाथि समर्थन वा सहयोग गरिदिन १ नम्बर प्रदेशको सांसदहरुलाई यायोक्खाले आग्रह गरेको छ । यायोक्खाले संस्थाको तर्फबाट ९३ जना नै सांसदलाई दैनिक एस.एम.एस. अभियान चलाएको अध्यक्ष दिवस राईले बताए । म्यासेज आम रुपमा चलाएर प्रदेशको मुख्यमन्त्री, मन्त्रीहरु, सभामुख र सांसदहरुलाई ध्यान आकर्षण गराउदै आएको अध्यक्ष राईले बताए ।

किरातले बहुपहिचानलाई सम्बोधन गर्ने

‘किरात कुनै एउटा जाति होइन ।’ विज्ञप्तिमा भनिएको छ ‘किरात इतिहास, भूगोल, सभ्यता, कला, संस्कृति वा जीवन पद्धति हो ।’ इतिहास र सभ्यताको सवैले सम्मान गर्नुपर्ने उल्लेख छ । किरात शब्दले बहुपहिचान झल्किने दावी गर्दै प्रदेश नाम राख्न आम भूगोलबासीलाई सहयोग र समर्थन गर्न आग्रह गरिएको छ ।

किराँत नाम नराखिए विद्रोहीलाई बल पुग्ने दावी

प्रदेशको नाम किराँत नराखिए त्यो भूगोलमा शान्ति नहुने र नदी वा हिमालको मात्र नाम राखिए विद्रोही शक्तिलाई बल पुग्ने विज्ञप्तिमा उल्लेख छ । असन्तोषहरु बढ्दै जाँदा भविष्यमा गम्भीर आन्दोलन हुने चेतावनी दिइएको छ । परिस्थिति बुझेर पनि प्रदेशको नाम किरात नराखिए त्यसबाट आउन सक्ने गम्भीर परिस्थितिको जिम्मा प्रदेश सरकार, सांसदहरु र दलका नेताहरुले लिनुपर्ने यायोक्खाले चेतावनी दिएको छ ।

प्रदेशको नाम किराँत राख्न सहजीकरण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतलाई भेटेर ज्ञापन पत्र बुझाएको यायोक्खाको महासचिव जनक राईले बताए ।

प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायत अन्य सांसदलाई पटक पटक ज्ञापन तथा स्मरण पत्र बुझाउदै आएको छ ।