काठमाडौं– त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट विश्वविद्यालयको सूचीमा सूचीकृत भएको छ ।

बेलायतस्थित द टाइम्स हाइयर एजुकेसनले सार्वजनिक गरेको एसियाको उत्कृष्ट विश्वविद्यालयहरुको स्तर निर्धारण सूचीमा त्रिभुवन विश्वविद्यालयले गत वर्षको तुलनामा उल्लेख्य स्थान सुधार गरेको हो । त्रिभुवन विश्वविद्यालय तीन सयमा २५१ औं स्थानमा सूचीकृत भएको भएको छ ।


ADVERTISEMENT

# # #


यसअघि गत वर्ष सोही संस्थाले विश्वभरबाट गरेको विश्वविद्यालयहरुको स्तर निर्धारण मूल्यांकनमा विश्वका उत्कृष्ट ८०१–१००० औं विश्वविद्यालयहरुको सूचीभित्र परेको थियो ।

उक्त संस्थाले विश्वविद्यालयमा रहेका कुल शिक्षक संख्या, महिला शिक्षक संख्या, स्नातक र स्नातकोत्तर तहहरुमा अध्ययनरत विद्यार्थी संख्या, महिला विद्यार्थीहरुको संख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धानहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित लेख, अनुसन्धानका लागि भएको लगानी, विद्यावारिधि प्रदान गरिएको संख्या लगायतका मुख्य सूचकहरुलाई आधार मानी विश्वविद्यालयहरुको मूल्यांकन गर्दछ ।

त्रिभुवन विश्वविद्यालयले पहिलो पटक एसियाका विश्वविद्यालयहरुको स्तर निर्धारणका लागि गरिने सूचीकरण प्रक्रियामा गत वर्षबाट भाग लिएको थियो ।

एसियाका उत्कृष्ट विश्वविद्यालयहरुको सूचीमा अग्रणी स्थानमा पर्न सफल भएको भन्दै त्रिभुवन विश्वविद्यालयले खुसी व्यक्त गरेको छ ।

अन्तर्राष्ट्रिय गरिमा अभिवृद्धि हुने गरी स्तर निर्धारण प्रक्रियामा सहभागी गराएकोमा त्रिभुवन विश्वविद्यालयले द टाइम्स् हाइयर एजुकेशनप्रति आभार प्रकट गरेको छ।

त्रिविले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यो उपलब्धीबाट हामी थप उत्साही भएका छौं र विश्वविद्यालयलाई यो उत्कृष्टताको यात्रामा थप उचाई उपलब्ध गराउन हामी क्रियाशिल रहनेछौं । हामीलाई विश्वास छ, हामी सबैको प्रतिबद्धता र लगानशिलताबाट भविष्यमा त्रिविले विश्वमा अझ उच्च स्थान हासिल गर्नेछ ।’

प्रतिकृया

प्रतिकृया