काठमाडौँ– नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने यस वर्षको पल्सर स्पोर्टस अवार्ड–२०७३ आगामी भदौ महिनामा हुने भएको छ ।


ADVERTISEMENT


मञ्चको बाइसौँ वार्षिकत्सवको अवसर पारेर भदौ २६ गते अवार्ड कार्यक्रम गरिने मञ्चका अध्यक्ष महेश आर्चायले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यस्तै, मञ्चको महासचिव प्रकाश तिमल्सिनाले विगतका वर्षमा जस्तै यस वर्ष पनि उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलेटिक, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी आठ विधामा अवार्ड प्रदान गरिने जानकारी दिए । उनका अनुसार पहिलोपटक चार विधाका विजेताले बजाज कम्पनीको पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।

यसअघि उत्कृष्ट पुरुष र महिला खेलाडी र पिपल्स च्वाइस अवार्ड विजेताले मोटरसाइकल पाउँदै आएका थिए । यो वर्ष अर्को एक विधाका विजेतालाई पनि मोटरसाइकल दिइने र त्यसका विषयमा पछि जानकारी गराइने मञ्चका अध्यक्ष आचार्यले बताए । अन्य चार विधाका विजेताले अवार्डका साथै रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

मञ्चका अध्यक्ष आचार्यको संयोजकत्वमा अवार्ड सफल बनाउन मूल समारोह समितिका साथै विभिन्न उपसमितिसमेत गठन गरिएको छ । मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले केही दिनमा विभिन्न विधाका मनोनयनमा पर्ने खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गर्ने उक्त पत्रकारसम्मेलनमा जानकारी दिइयो ।

हंसराज एन्ड हुलास चन्दका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले यस अवार्डलाई व्यावसायिक रुपमा नभई खेलकुदको विकास तथा विस्तारका लागि आफूहरुले प्रायोजन गर्दै आएको बताए। उनले अवार्डका लागि नगद र जिन्सीसहित रु १८ लाख ९० हजार बराबरको प्रायोजन गरेको जानकारी दिए।