मार्तडी – उद्योग वाणिज्य सङ्घ बाजुराले जेठ ३ देखि ९ गतेसम्म प्रथम बाजुरा महोत्सव आयोजना गर्न लागेको छ । बाजुरा जिल्लामा पहिलो पटक हुन लागेको यस महोत्सवमा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरुलाई ल्याउने तयारी भइरहेको छ ।


ADVERTISEMENT


सङ्घका अध्यक्ष देवबहादुर रोकायाका अनुसार महोत्सवको तयारी पूरा भएको छ । जिल्लाका ९ वटै स्थानीय तह सह–आयोजक रहने गरी विभिन्न बैङ्क तथा वित्तीय संस्था प्रायोजकका रुपमा राखिएका छन् । महोत्सव एक सातासम्म चल्ने छ ।


ADVERTISEMENT

# # #


यहाँका विकासका सम्भावनाहरुको खोजी, कला संस्कृतिको संरक्षण र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न उक्त महोत्सव आयोजना गर्न लागिएको हो । कृषि, उद्योग, पर्यटन र व्यापारलाई प्राथमिकता राखिएकाले महोत्सवबाट उक्त क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

महोत्सवमा स्थानीय स्तरमा हुने विभिन्न पर्व, गौरा, अनन्ते, भुवा, हुड्के नाच लगायतका कार्यक्रम प्रस्तुत गरिने छ । महोत्सवमा बाल उद्यानलगायत विभिन्न किसिमका स्टल राखिने र धार्मिक तथा पर्यटकीय क्षेत्रको फोटो प्रर्दशनी पनि गरिने आयोजकले जनाएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रथम बाजुरा महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।

देउडा कलाकार रामबहादुर दानीले जिल्लामा हुन लागेको प्रथम बाजुरा महोत्सवमा आयोजकले स्थानीय कलाकारलाई अपहेलना गरेको दुखेसो गरेका छन्। देउडा नै सुदूरपश्चिमको ग्रामीण जीवनको चिनारी रहेको भए पनि स्थानीय कलाकारलाई महोत्सवमा आयोजकले उचित स्थान नदिएको भन्दै उनले आपत्ति जनाए ।

अन्यत्रबाट कलाकार ल्याउनुभन्दा जिल्लाकै राष्ट्रिय अवार्ड पाएकाहरुलाई विशेष प्राथमिकता दिँदा मितव्ययीसमेत हुने बाजुरा साँस्कृतिक सङ्घ बाजुराका अध्यक्ष विष्णुबहादुर धामीले बताए । उद्योग वाणिज्य सङ्घका अध्यक्ष रोकायाले यसबारे प्रतिक्रिया दिँदै भने – “स्थानीय कलाकारलाई प्राथमिकता दिएन भनेर गुनासो गर्नु उचित छैन । सकेसम्म स्थानीय कलाकार र स्थानीय पर्वलाई बढी प्राथमिकता दिने गरी कार्यक्रम तय गरिएका छन् ।”

बाजुरा महोत्सव पर्यटकीय क्षेत्रको प्रवद्र्धन, कला र संस्कृतिको संरक्षरण भन्दा पनि मनोरञ्जनका लागि मात्र हुन लागेको सामाजिक अगुवा जनक रोकायाले बताए । उनका अनुसार कृषि, वन र जडीबुटीका संरक्षण तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन नारा मात्र बनाएर हुँदैन, अभियान नै सञ्चालन गर्न जरुरी छ ।

महोत्सवले मनोरञ्जन भन्दा पनि स्थानीय स्तरमा उत्पादित कृषि उपज र ती उपजको बजार खोजी हुनुपर्ने नागरिक समाज बाजुराका अध्यक्ष अग्नीराज शाहीले भनाइ छ । प्रेम रौले/रासस