नेपालगन्ज– अस्पतालमा तोडफोड र चिकित्सकमाथि हातपात गरेको विरोधमा बाँके जिल्लाका अस्पतालहरु आज पनि बन्द रहे ।


ADVERTISEMENT


गत असार २८ गते नेपालगन्जस्थित जानकी अस्पतालका चिकित्सक डा श्यामसुन्दर यादवमाथि हातपात र अस्पतालमा तोडफोड गर्ने आरोपीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि नबढाइएको विरोधमा नेपाल चिकित्सक सङ्घ,भेरी अञ्चल समितिले मंगलबारदेखि अनिश्चितकालीन अस्पताल बन्दको आह्वान गरेको थियो ।


ADVERTISEMENT

# # #


संघका सचिव डा आरके झाको तर्क छ, अस्पतालमा तोडफोड र चिकित्सकमाथि हातपात गर्ने पाँच जनाको नामसहित किटानी जाहेरी दिँदासमेत प्रहरीले आरोपीलाई पक्राउ नगरेका कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको हो ।

अर्कोतर्फ, अस्पताल जस्तो अति संवेदनशील तथा अत्यावश्यक सेवामुखी संस्था एक्कासी बन्द गर्नुलाई यहाँका बुद्धिजीवी वर्ग, नागरिक समाजका अगुवा, अधिकारकर्मीले राम्रो मानेका छैनन् ।

“राष्ट्रिय मानवअधिकार आयोगका तर्फबाट संबद्ध चिकित्सक र संघका पदाधिकारीलाई तत्काल अस्पतालको सबै सेवा सञ्चालनका लागि हामीले आज मौखिक आग्रह गरिसकेका छौँ। यदि यो आग्रहलाई बेवास्ता गरियो र अस्पताल सञ्चालनमा ल्याइएन भने आयोगले थप कारबाही प्रक्रिया अघि बढाउछ”– आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले भने ।

“सरकारी तथा निजी अस्पताल र निजी क्लिनिकसमेत बन्द गरिएको छ भने अस्पतालका आपत्कालीन सेवा भने सञ्चालन यथावत् राखिएको छ । संघले किटानी जाहेरी दिएका आधारमा जिल्ला प्रहरी कार्यालयले आरोपीलाई पक्राउ गरी मुद्दा चलाउने हिजोको सहमतिअनुसार प्रक्रिया अघि बढाएको अवस्थामा आज फेरि किन अस्पताल बन्द गरियो म आफैँ चकित भएको छु” – जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईको गुनासो छ ।

अस्पतालका सेवा बन्द गरिएकाले टाढाटाढाबाट उपचारका लागि नेपालगन्ज आएका बिरामी र तिनका आफन्तले ठुलो सास्ती भोग्नुपरेको छ ।