काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का प्रभावशाली नेता भीम रावलले राज्यका सुरक्षा निकायहरुलाई प्रणालीगत हिसाबले नचलाईएकाले संगठन र तिनीहरुको कार्यसम्पादन कमजोर बन्दै गईरहेकोमा कडा आपत्ति जनाएका छन् ।


ADVERTISEMENT


सगरमाथा टेलिभिजनको एक बिशेष अन्तर्वार्ता कार्यक्रममा बोल्दै गृह तथा उपप्रधानमन्त्री समेत भईसकेका नेता रावलले एआईजी धीरु बस्न्यातलाई दरबन्दी नै नरहेको राष्ट्रिय सुरक्षा परिषदमा काजमा पठाउने गरी सरकारले गरेको निर्णयको चर्को आलोचना गर्दै प्रणाली बिथोल्ने गरी गरिने यस्ता गतिबिधीहरुले सुरक्षा निकायलाई निकम्मा बनाउँदै राष्ट्रको शक्तिमा असर पुग्ने चिन्ता व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


”राष्ट्रिय सुरक्षा परिषदमा डीआईजी तहको प्रहरी पठाउनुपर्नेमा एआईजी तहको पठाएर नीज एआईजी असन्तुष्ट हुनुभयो भन्ने थाहा पाएँ” उनले भने ”किन गर्नुपर्यो यस्तो ? सरकारको आलोचना गरेको भने पनि भन्नुस्, प्रणालीगत कुरा बाहिर आएपछि त मैले नबोले पनि अरुले बोल्छन्, हामीले प्रणालीबाट चल्दाखेरी पो प्रणाली बलियो हुन्छ त !”

देशका सबै सुरक्षा निकायहरुलाई आजको युग अनुकुल सुदृढ र गुणात्मक स्तरमा परिवर्तन गर्नका लागि प्रणाली बलियो बनाउँदै लानु पर्नेमा झन कमजोर बनाउने काम गर्नु दुखद रहेको उनको भनाई छ ।

”हामी कुनै पनि ठाउँमा प्रणाली कमजोर बनाउछौं भने त्यो प्रणाली अन्तर्गत काम गर्ने ब्यक्तिहरुको मनोबल स्वत गिर्छ”  उनले भने ” जस्ले गर्दा समग्रतामा राष्ट्रिय सुरक्षा प्रणालीमा असर पर्छ र राष्ट्रको शक्तिमा त्यस्ले नकारात्मक प्रभाव पार्छ ।”  नेता रावलको जोड छ ”त्यसैले सेना, प्रहरी, गुप्तचर सँस्था जस्ता निकायहरुमा बिधी प्रणाली र प्रक्रियालाई कुनै पनि हालतमा मिच्नु हुँदैन ।”

माथिल्लो तहको प्रहरीलाई तल ल्याएर सँगठनको काम प्रभावकारी भएन भनेर रुनुको कुनै अर्थ नहुने नेता रावलको टिप्पणी छ । सरकारले गरेका यस्ता कामका बिषयमा पार्टीमा बहस चलाउने र यसो गर्नुको कारण खोजेर प्रणाली मिच्दै हजुवाको भरमा जे मन लाग्यो त्यही गर्ने प्रबृत्तिको भण्डाफोर गर्ने समेत नेता रावलले चेतावनी दिएका छन् ।

तीस बर्षे सेवा अवधीभर ईमान्दार, कर्तव्यनिष्ठ र क्षमतावान प्रहरी अफिसरका रुपमा छबी बनाएका एआईजी बस्न्यातलाई एकाएक सुरक्षा परिषदमा लैजानुको कारण सरकारले दिन सकेको छैन । राजधानीमै प्रतिबन्धित बिप्लभ समुहको बम बिस्फोट र हत्या तथा पाँचथरमा परिवार नै नष्ट पार्ने गरी गरिएको सामुहिक हत्याका घटनासँगै देशभर अपराध र असुरक्षाका घटनाहरुले सरकारलाई चुनौति दिईरहँदा अपराध अनुसन्धान बिभागको नेतृत्व एआईजी पदको दरबन्दी भने खाली नै राखिएको छ ।