काठमाडौँ – जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा कप्तान विनोद भण्डारीले आक्रामक ब्याटिङ गरेपछि त्रिभुवन आर्मीले प्रदेश ३ लाई विशाल चुनौति दिएको छ । विनोदको अविजित ७५ रनको मदतमा आर्मीले प्रदेश ३ लाई ३१० रनको चुनौति दिएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३०९ रन बनाएको छ । २३ रनमा नै पहिलो विकेट गुमाएको आर्मीका लागि पछिल्ला सबै ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे ।


ADVERTISEMENT

# # #


पहिलो विकेटका रुपमा हरिकृष्ण झा १२ रनमा आउट भए । दोस्रो विकेटका लागि राजु रिजाल र हरि चौहानले ७३ रनको साझेदारी गरे । हरि चौहानले ३७ बलमा ४ चौका र एक छक्का सहित ३८ रन बनाए । यस्तै ८६ बलमा ४ चौका र २ छक्कासहित ५१ रनको इनिङ खेले । यस्तै रोहित पौडेलले ४ चौका र एक छक्कासहित ३५ बलमा ४३ रन बनाए । राजेश पु्लामी मगर ३९ बलमा २ चौकासहित २९ रनमा आउट भए ।

करण केसी १४ बलमा एक छक्का र २ चौकासहित २३ रनमा पेवेलियन फर्किँदा कप्तान विनोद भण्डारी र कुशल मल्लले टिमलाई उच्च स्कोरतर्फ लम्काए । उनीहरुले ५.५ ओभरमा नटआउट ६३ रनको साझेदारी गरे । विनोदले मात्र ४२ बलमा अविजित ७५ रनको शानदार इनिङ खेले । त्यसक्रममा उनले ५ चौका र ५ छक्का ठोके । यस्तै कुशल मल्लले अविजित २६ रन बनाए । उनले १७ बलमा १ चौका र २ छक्का हाने ।

प्रदेश २ का लागि नन्दन यादव र जितेन्द्र सिंह ठकुरीले समान २ २ विकेट लिए । यस्तै सोनु देवकोटा र कप्तान पारस खड्काले १ १ विकेट हात पारे । सूर्य तामाङ प्रतियोगिताकै महंगो बलर साबित भए । उनले १० ओभरमा ९१ रन खर्चिएर कुनैपनि विकेट लिन सकेनन् ।