काठमाडौं– मुस्लिम धर्मावलम्बीहरूले ‘इद उलफित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन् । आत्मशुद्धिका लागि एक महिनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि इद उलफित्र पर्व मनाउन लागिएको हो ।


ADVERTISEMENT


यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र मस्जिदमा पुगेर नमाज पढ्नाका साथै गरीबलाई दान दिने गरेका छन् । काठमाडौं घण्टाघरस्थिम दुई मस्जिदमा बिहानै मुसलमानले नमाज अदाका साथै एकअर्कालाई ‘इद मुवारक’ भन्दै शुभकामना आदान–प्रदान गरेका छन् ।


ADVERTISEMENT

# # #


यस पर्वको अवसरमा इद मुवारक शब्दको माध्यमबाट एकअर्कालाई बधाई दिने गरिन्छ । इदको अर्थ उत्सव र मुवारकको अर्थ धन्य भएकाले इद उलफित्र पर्वको अवधिसम्म एकले अर्कालाई अभिनन्दन गर्ने क्रममा सो वाक्यको प्रयोग गर्ने गर्छन् ।

आपसी भातृत्व र खुशीयाली पर्वको रुपमा मनाउने गरिएको यस पर्वमा मुस्लिम धर्मावलम्बीले आफ्ना देउता अल्लाह प्रति कृतज्ञता प्रकट गर्न मस्जिदमा नवाज अदा गर्नुका साथै सुख, शान्ति, एकता र उन्नतिको कामना गर्छन् ।

यस पर्वमा एकअर्कालाई उपहार दिनाका साथै पर्वमा सेवइलगायत परिकार पकाएर खाने गरिन्छ । यो पर्व मनाउन नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

 

तस्बिरहरु : रासस