काठमाडौं – धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको घटनामा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइतबार पर्सा सुवर्णपुर घर भई हाल कास्की बेगनास बस्ने ४४ वर्षीय प्रकाश अधिकारी भन्ने देवी रमन अधिकारीलाई १९ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको हो । अधिकारीले २०५७ असार ८ गते भक्तपुर कटुञ्जे–८ बस्ने ३३ वर्षीया विजयश्वरी प्रजापती छुरा प्रहार गरी हत्या गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार अधिकारीले उनको घरमा ७ महिनादेखि काम गरेको तलब बापतको ११ हजार रुपैयाँ दिन चाँसो नदिनुका साथै उल्टै ३ हजार रुपैयाँ चोरी गरेको आरोप लगाएको निहुँमा हत्या गरेका थिए । साथै उनी हत्या पश्चात सुनको चुरा, हिरा लगायतका गर गहनाहरु समेत चोरी फरार भएका थिए ।

हत्या पश्चात फरार रहेका अधिकारी भारतको वनारस हुँदै मुम्बई पुगी लुकीछिपि बस्दै आएकोमा पक्राउ पर्ने डरले प्रकाश अधिकारी नामको छदम परिचय बनाएका थिए । उनले भारतीय सवारी चालक अनुमतिपत्र समेत प्रकाश अधिकारीको नामबाट बनाएको अनुसन्धानबाट खुल्न आएको प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।