काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि र मिडिया काउन्सिल विधेयकमार्फत् सरकारले मुख थुन्ने कानुन बनाउन लागेको बताएका छन्।


ADVERTISEMENT


संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले सूचना प्रविधि विधेयकको विरोध गरे । उनले ‘सरकारी संरक्षणमा व्यक्तिको मानमर्दन, गाली बेइज्जती गरिरहन पाउने तर सरकारलाई मन नपर्दा गाली बेइज्जती शिष्टाचार वा नैतिकताको नाममा जुन बेला मन लाग्यो जसको जतिखेर मुख थुन्ने गरी कानुन बनाउन लागेको’ बताए।


ADVERTISEMENT

# # #


‘विधेयकमा सामाजिक सञ्चालमा कसैलाई पनि होच्याउने, जिस्क्याउने, धम्याउने आशयले केही लेखेमा ५ वर्ष कैद वा १५ लासखम्म जरिवाना गर्ने व्यवस्था रहेको भन्दै उनले भने, ‘जिस्क्याउने, झुक्याउने, होच्याउनेको परिभाषा के ?’ अस्पष्ट कानुनी व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने भन्दै भारतमा सर्वोच्च अदालतले सूचना प्रविधि ऐनको दफा ६६, ए खारेज गरेको स्मरण गर्दै संसद थापाले भने, हाम्रोमा भारतको भन्दा कठोर कानुन बनाउन लागिएको छ ।’

सरकारले जनतालाई निश्चित घेरामा राख्न चाहेको जिकिर गर्दै सांसद थापाले सरकारको नियत खराब रहेको बताए । उनले भने, ‘सबै विधेयकलाई एक ठाउँमा राखेर हेर्‍यो भने के बुझिन्छ सभामुख महोदय । सरकारले के भन्न खोजेको रु शायद लेखक ब्रजेश खनालले भन्नु भए जस्तै, तँ बोल त्यति मात्र, जे म सुन्न चाहन्छु । तँ हेर त्यचि मात्र, जति म देखाउन चाहन्छु । तँ सुन त्यति मात्र, जे म सुनाउन चाहन्छु । तेरो स्वतन्त्रता घेरा मैले कोरेको शुन्य भन्दा बाहिर छैन । किनकी मलाई चिनेको छस्, म हुँ सरकार । हुँ म तेरो सरकार । ब्रजेश खनालले भने जस्तै सरकारको नियत देखिन्छ ।’

यस्तै उनले पशुपति शर्माको गीतमा प्रयोग भएको भाषाका कारण ‘शासकीय शैलीमा प्रश्न गरियो भनेर बन्द गर्न लगाएको’ उदाहरण दिए। यहाँ नेकपा र सरकारको समर्थन गर्ने ‘अरिंगाल’ मात्रै सुरक्षित रहेको भन्दै थापाले अभिव्यक्तिको स्वतन्त्रताको पक्षधरहरुलाई होसियार रहन अपील गरे । उनले चलचित्रकर्मीहरूलाई समेत सचेत गराए।

‘होसियार तपाईंको कथा, संवाद, गीतमा अब कसैलाई जिस्काउने कन्टेन्ट छ भनेर प्रनेश गौतमको ठाउँमा हिरासतमा तपाईं बस्नुपर्ला, त्यो पनि केही दिनका लागि होइन पाँच वर्षका लागि । गुठियारहरू होसियार, गुठी सामन्तवाद भन्ने मुखबारे खबरदारी गरेर लेख्दै गर्दा धम्क्याइएको भन्दै पाँच वर्ष जेल बस्नुपर्ला’ उनले अघि भने, ‘प्रधानमन्त्रीले पानी जहाज ल्याउँछु भन्दा जिस्काइयो भनेर कागजको पानी जहाज बनाएर सामाजिक सञ्जालमा राख्ने युवक होसियार ।

थापाले भने, ‘म त भन्छु, प्रधानमन्त्रीकै पार्टीभित्र रहेर फरक मत राख्ने साथीहरु पनि होसियार । किनकि यहाँ अब कोही सुरक्षित छैन । यो कानुन पारित भइसकेपछि कसरी प्रयोग हुनसक्छ, हामी अहिले अनुमान लगाउन सक्छौं । यहाँ केवल सरकारको अरिङ्गालहरु मात्र सुरक्षित रहन सक्छन् ।’

उनले बहुमतको आडमा सरकारले सूचना प्रविधि विधेयक पारित गराउन खोजिरहेको बताए। अहिले सरकारका गतिविधि अरुका लागि भन्दै विरोध नगरे पछि आफैमाथि आउँदा एक्लिनुपर्ने अवस्था आउने संकेत गर्दै उनले जर्मन कवि मार्टिन नमोरको कविता यसरी सुनाए ।

‘पहिला समाजवादीलाई लिन आए म बोलिनँ। किनभने म समाजवादी थिइनँ। उनीहरू ट्रेड युनियनकर्मीलाई लिन आए। म बोलिनँ, किनभने म ट्रेड युनियनकर्मी थिइनँ। उनीहरू ज्युजलाई लिन आए, म ज्यूज थिइनँ। जब उनीहरू मलाई लिन आए मेरो निम्ति बोल्न कोही बाँकी थिएन । यस्तै अवस्था आउँदैछ।’