धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०६६/७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री झपडबहादुर रावलले आइतबार प्रदेशसभा बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट पेश गरेका हुन् ।


ADVERTISEMENT


चालु खर्चतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनतर्फ ४० करोड र अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब १२ करोड २१ लाख ७२ हजार छुट्याइएको छ ।


ADVERTISEMENT

# # #


प्रदेश सरकारले ८२ करोड ७५ लाख १७ हजार राजश्व उठाउने लक्ष्य राखेको छ भने बजेटको बाँकी श्रोतका रुपमा संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ७ अर्ब ९५ करोड २४ लाख, राजश्व बाँडफाँटबाट ८ अर्ब ४ करोड ६८ लाख ५५ हजार, सशर्त अनुदानबाट ४ अर्ब ५५ करोड ६ लाख, समपुरक अनुदानबाट १ अर्ब र विशेष अनुदानबाट १ अर्ब आउने छ ।

यस्तै चालु आर्थिक वर्षको खर्च हुन बाँकी बजेट ४ अर्ब ७८ करोड ५३ लाख ६३ हजार छ ।

के छन् योजना ?

मुख्यमन्त्री एकिकृत कृषि कार्यक्रम अन्तर्गत ‘नमूना कृषि गाउँ आफै बनाउँ’ भन्ने नाराका साथ प्रत्येक स्थानीय तहलाई ५० लाखका दरले ४४ करोड बजेट विनियोजन गरिएको छ। कृषियोग्य भुमिमा सिँचाई सुविधा विस्तारका लागि एक अर्ब १६ करोड विनियोजन गरिएको छ। ९ जिल्लामा नमूना लिफ्ट सिँचाई प्रणालीका लागि १० करोड रकम विनियोजन गरिएको छ।

प्रदेश सरकारले ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष’ का लागि पनि बजेट छुट्याएको छ। प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको हो। यस अघि निर्वाचन क्षेत्र पूर्वाधार विकास काष अन्तर्गत प्रति निर्वाचन क्षेत्रलाई दुई करोड रकम दिईएको थियो।

प्रदेश गौरवका योजना अन्तर्गत सडक सञ्चालनमा १ अर्ब ७१ करोड ७० लाख विनियोजन गरिएको छ। कञ्चनपुरमा भैसीफार्म स्थापना गर्न चार करोड विनियोजन गरिएको छ। ८० हेक्टर क्षेत्रफलमा केरा खेतीका लागि २ करोड अनुदान दिइने बजेटमा उल्लेख छ। मेसिन उपकरण अनुदानमा ५ करोड, चिस्यान केन्द्र निर्माणका लागि तीन करोड बजेट विनियोजन गरिएको छ।

एक स्थानीय तह एक औद्योगिक उत्पादनका लागि तीन करोड र प्रदेशमा खाद्य डिपो स्थापना, घरेलु उद्योग स्थापनाका लागि ७ करोड बजेट विनियोजन गरिएको छ।