काठमाडौँ – काठमाडौंको सुविधानगरस्थित विभिन्न स्थानमा सिसिटिभि जडान गरिएका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर, सामुदायिक विकास समिति, एकिकृत उपभोक्ता संघ एवं सुरक्षित नागरिक समाजको सहकार्यमा सिसिटिभि जडान गरिएको हो ।


ADVERTISEMENT


सोमबार सिसिटिभि क्यामेराको महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले उद्‍घाटन गरेका छन् । उनले उद्घाटनपछि उक्त सिसिटिभि क्यामेराको साँचो प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईलाई हस्तान्तरण समेत गरे । कायक्रममा बोल्दै महान्यायाधिवक्ता खरेलले समाजसँग भिजेर बसेको प्रहरीले अपराधको सफल अनुसन्धान गर्न सक्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले सीसीटिभि मार्फत प्रहरीलाई अपराध अनुसन्धान गर्ने सहज हुने तथा सुरक्षित समाज निर्माणमा थप सहयोग हुने कुरा उल्लेख गरे । ‘अपराधीहरु हाम्रै वरिपरि रहने हुनाले प्रहरीलाई अपराधको अनुसन्धान गर्ने क्रममा समुदायको सहयोगी भूमिका हुन जरुरी छ’ उनले भने ।

यस्तै प्रहरी अतिरिक्त महानिरिक्षक ठूले राईले जडान भएका सिसिटिभि क्यामेराले प्रहरीको काम कार्वाहीमा थप चुस्तता आउने बताउँदै विश्वास व्यक्त गरे । उनले यस्ता प्रविधिको स्थापना गर्ने मात्र नभई निरन्तर मर्मत गर्दै त्यही अनुरुपको प्रहरी सेवा प्रदान गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

निष्पक्ष न्याय सम्पादनको निम्ति सिसिटिभि क्यामेराको उल्लेखनीय महत्व रहेको बताउँदै प्रहरी नायव महानिरिक्षक क्षेत्रीले सिसिटिभि मार्फत २०७५ सालमा १६ हजार भन्दा बढि ट्राफिक नियम उल्लंघनमा संलग्नलाई कारवाही गरिएको, ९३ मुद्दामा हिट एण्ड रनमा नम्बर नखुलेका सवारी साधनहरु पछि पहिचान भएका तथा ४६ लुटपाटको घटनामा संलग्नहरुलाई पक्राउ गर्न सफल भएको जानकारी समेत दिए।

समारोहमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले क्षेत्रमा कूल ३७ लाख ३५ हजार रुपैयाँको लागतमा हाल ५७ वटा सिसिटिभी जडान गरिएको र १७ वटा जडान गर्ने क्रममा रहेको जानकारी दिए ।

कार्यक्रममा पूर्व गृह सचिव डा. गोविन्द प्रसाद कुसुम, ३ नम्बर प्रदेश सभाका सांसद दिपेन्द्र श्रेष्ठ र कार्यक्रमका सभापति सामुदायिक विकास समिति सुविधानगरका अध्यक्ष सुमित्रा कडरियाले सुरक्षित समाज निर्माणमा सिसिटिभिको महत्वबारे आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।