हेमन्त केसी, डोल्पा– एक दशकअघिसम्म डोल्पाबाट नेपालगञ्ज वा सुर्खेत गई पिठ्यूँमा नुन र खाद्यान्न बोकेर दुई महीनापछि फर्किने डोल्पावासीलाई यातायातका साधनको यात्रा भगवान्को भरोसा भएको छ ।


ADVERTISEMENT


थोत्रा जीप, मनोमानी भाडा, क्षमताभन्दा तेब्बर यात्रु राखेर यातायात व्यवसायीले जीप चलाएकाले सयौँ यात्रु भगवान्को भरोसामा यात्रा गर्न बाध्य भएका हुन् ।


ADVERTISEMENT

# # #


ठाउँ ठाउँमा प्रहरी चौकी नहुँदा खाने भए खा नत्र घिच भने झैं गरी यातायात व्यवसायीले यात्रुहरुलाई जबर्जस्ती भेडा, बाख्रा हुले झैं गर्दा यात्रा यात्राभन्दा हिरासत जस्तै भएको डोल्पा मुड्केचुला गाउँपालिका–६ शुरका रवीन्द्र सिंहले बताए । डोल्पामा सञ्चालनमा रहेका यातायात व्यवसायीले दर्ता बिनाका यातायातका साधन चलाइएको छन् ।

जाजरकोट सदरमुकामदेखि डोल्पाको दुनैसम्म सञ्चालनमा रहेका सबै सवारी साधनमा यात्रुहरुलाई सेवाभन्दा सास्ती दिने गरेको यात्रुहरुको गुनासो थियो । यो सडकको बीचमा पुलपुलेसा नहुँदा आधा दर्जन ठाउँमा झर्ने र फेरि गाडीमा चढ्नु पर्दा अर्को सास्ती हुने गरेको छ । आवश्यक सामग्री लिएर जाँदा वा बालबालिकासँग यात्रा गर्दा यात्राभन्दा पीडा बढी हुने गरेको नलगाड नगरपालिका–११ का शशी विकले बताए ।

यातायात व्यवसायीको एकाधिकारका कारण यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । प्रहरी चौकी भएको ठाउँमा सय मिटर अगाडि यात्रुलाई झारेर हिँड्न लगाई पुनः गाडीमा चढाएर यात्रा गर्न बाध्य पारिएकोे विकको भनाइ छ ।

कच्ची सडक, धुलाम्य र अप्ठ्यारो हुँदा एक ठाउँबाट अर्को ठाउँमा जाँदा मानिस नै नचिनिने गरी पुग्ने गरेको अर्का ठूलीभेरी नगरपालिका–५ का रामबहादुर रोकायले बताए । ११८ किलोमिटर यात्रा गर्दा दुई हजार ५०० भाडा तिरेर पनि सुखसँग यात्रा गर्न नपाएको दैनिक गुनासा आउने गरेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

चालक अनुमति पत्रदेखि थोत्रा जीपमा क्षमताभन्दा बढी यात्रु राख्दा कति खेर जिन्दगी जान्छ भन्ने डरले मुटु काँप्दै हिँड्नु परेको रोकायले बताए । जीपको अगाडिको तीन सिटमा चार राख्ने गरिन्छ भने गाडीको चालक रहने सिटमा चार जना राख्दा गाडी चलाउन नै अप्ठ्यारो हुने गरेको यात्रुहरु बताउँछन् । पछाडिको भागमा छुट्टै सिट जोडेर सिट नै नभएको ठाउँमा कोचाकोच यात्रुहरु भरेर बोक्ने गरिँदै आएको छ ।

त्यसपछि जीपको छतमा कम्तीमा पनि पाँच जनाभन्दा बढी राखेर जीप सञ्चालन हुने गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय, जाजरकोट र डोल्पाले जथाभावी यात्रुहरु बोक्न नदिन कडाइ गरिएको भने पनि त्यो कार्यान्वयन हुन सकेको छैन् । सडक विभागले जिम्मा नलिएको यस सडकमा आधा दर्जन पुल निर्माण हुन बाँकी छन् ।

नलगाड नदीमा खोलेखेत, साप्नेखेत, खमाउरेखोला, वडाखोला, त्रात्रगाड, ताँसुगाड, तल्लुस्थित भेरी नदीमा, डोल्पाको खदाङ, त्रिपुराकोट, छलगाड, रुपगाडलगायत ठाउँमा पुल निर्माण कार्य शुरु नै गरिएको छैन । तुइनमा राखेर लिइएका जीप र जाजरकोट खण्डमा चल्ने बसले मनोमानी गर्दा यात्रुहरु हैरान भएका हुन् ।

सरकारले यो वर्ष सडक दुनैसम्म पु¥याउने भनेर उद्घोष गरे पनि पुल निर्माण नभई डोल्पामा यात्रा गर्न पाइने सम्भावना कम रहेको छ । गैरकानूनी रुपमा सञ्चालन भएका जीपहरु दर्ता प्रक्रियामा ल्याएर सञ्चालन गरी यात्रुमैत्री बनाएपछि मात्र यहाँका जनसाधारणले खुशीले यात्रा गर्न पाइनेछन् । यो सडकको स्तरोन्नति र पुल निर्माण नहुँदासम्म यहाँका नागरिकले दुःख पाइरहनेछन् । रासस