चितवन– चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन् केन्द्रमा गोहीको अण्डाबाट न्यून मात्रामा बच्चा कोरलिएका छन् । नदी किनारबाट संकलन गरिएका अण्डाबाट भने तुलनात्मक रुपमा राम्रो संख्यामा बच्चा कोरलिएका छन् ।


ADVERTISEMENT


प्रजनन् केन्द्र हेर्दै आउनु भएका निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार प्रजनन् केन्द्रका ३४३ वटा अण्डाबाट सातवटा बच्चा मात्रै कोरलिएका हुन् । प्रजनन् केन्द्रमा रहेका ९ वटा गुँडमध्ये तीनवटा गुँडबाट मात्रै बच्चा कोरलिएको हो ।


ADVERTISEMENT

# # #


गतवर्ष प्रजनन् केन्द्रमा ५३ वटा बच्चा कोरलिएका थिए भने सन् २०१५ मा एउटा पनि बच्चा कोरलिएका थिएन् । नदी किनारबाट संकलन गरी ल्याइएका ३३३ वटा अण्डाबाट भने २३० वटा बच्चा कोरलिएका छन् । नदीमै छाडिएका अण्डाबाट भने २१६ वटा बच्चा कोरलिएको उनले बताए ।

नारायणी नदीमा छाडिएका छवटा गुँडमा १८२ वटा र राप्तीमा छाडिएका दुईवटा गुँडबाट ३४ वटा बच्चा कोरलिएका छन् । राप्तीका पाँच वटा गुँडबाट १३० अण्डा संकलन गरी प्रजनन् केन्द्रमा ल्याइएकामा ११३ वटा बच्चा कोरलिएका हुन् भने नारायणीका सातवटा गुँडबाट ल्याइएका २०३ अण्डाबाट ११७ बच्चा कोरलिएका हुन् ।

प्रजनन् केन्द्रमा ३५ वर्षभन्दा माथिका माउ छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले माउ बुढो भएका र भालेको संख्या कम भएकाले भालेसँग संसर्ग नभएका कारण बच्चा कोरलिने दर घटेको हुनसक्ने बताए । वातावरणीय प्रभावका कारण पनि समस्या हुने भन्दै उनले के कारणले बच्चा कम कोरलियो खोजी गरिने पनि बताए ।

प्रजनन् केन्द्रमा दुईवटा भाले रहेकामा एउटा मरेको र बाँकी एउटा मात्रै भाले छ । चैतको दोस्रो सातापछि गोहिले अण्डा पार्ने गर्दछ । नदीको बगरमा गत वर्षको बाढीले बनाएको बालुवाको ढिस्कोमुनि गोहीले अण्डा पार्ने ठाउँ बनाउने गर्दछ । खड्काका अनुसार पुरानो ढिस्कोमा गोहीले अण्डा पार्दैन । करिब ३० सेन्टिमिटर गहिराइमा अण्डाको माथिल्लो भाग देखिन्छ भने गहिराई ९० सेन्टिमिटरसम्म गहिरो हुनेगरेको उनले बताए ।

सामान्यतया राप्ति र नारायणीमा गोहीले अण्डा पार्न बनाएका गुँड ५५ देखि ६० सेन्टिमिटर गहिरो रहेको पाइएको छ । बाढीले बगाउनसक्ने, मान्छेको चहलपहल बढी भएको, गैँडालगायतका दुर्लभ वन्यजन्तुले क्षति पु¥याउनसक्ने ठाउँका गोहीका अण्डा संकलन गरिएका हुन । गोहीले रातको समयमा मात्र अण्डा पार्ने गर्दछ ।

खड्काका अनुसार गोहीले वर्षमा एउटै मौसममा एकैरातमा १५ देखि ६० वटासम्म अण्डा पार्ने गर्दछ । यहाँ भेटिएका गुँडमा ४०÷४५ वटा अण्डा पारेको पाइएको उनले बताए ।

प्रजनन् केन्द्रमा हाल ५० वटा गोही छन् । वर्षेनी अण्डा संकलन गरी बच्चा हुर्काउँदै लगिएको छ भने सँगै विभिन्न नदीमा हुर्किएका बच्चा छोडिदैँ आएको छ । हालसम्म एक हजार दुई सय ४६ बटा गोहीका बच्चा हुर्काएर नदीमा छाडिएको खड्काले बताए ।

गत आर्थिक वर्षमा मात्र नारायणी र राप्ति नदीमा ९० वटा गोही छाडिसकिएको छ । यी दुई नदीसँगै कोशी, बबही र कर्णालीमा पनि गोही छाडिएको छ । २०३५ सालमा संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको संख्या बढाउनका लागि चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन् केन्द्र स्थापना गरिएको थियो ।

सोही समयदेखि नै नदीबाट अण्डा संकलन गरेर प्रजनन् केन्द्रमा ल्याएर बच्चा हुर्काउन थालिएको हो ।रासस