काठमाडौँ– व्यवस्थापिका–संसदको आजको बैठकमा शून्य तथा विशेष समयमा बोल्नुहुने सांसद्हरुले मुलुकका समसामयिक समस्या समाधानमा सरकार गम्भीर नदेखिएको भन्दै सभामुखमार्फत ध्यानाकर्षण गरेका छन्।


ADVERTISEMENT


सांसदहरुले उत्तरी नाकामा सिन्धुपाल्चोकमा बाढीले लाप्चा पुल भत्केको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल वैकल्पिक व्यवस्था गर्न माग गरे । सांसद मोहन बस्नेतले सिन्धुपाल्चोकमा भूकम्पसँगै बाढी र पहिरोले पनि क्षति पुर्याएको भन्दै उत्तरी सिमानामा जोडिएको मानसरोवर जाने नाका बिच्छेद भएको जानकारी गराए । उनले तत्काल बेलीब्रिजको व्यवस्था गरी स्थानीयवासीको आवागमनलाई सहज बनाउन सरकारको ध्यानाकर्षण गराए।


ADVERTISEMENT

# # #


सांसद अनिता देवकोटाले दाङको राप्ति क्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन प्रक्रिया अघि बढाउन ढिलाइ भएको भन्दै प्रश्न गरिन्। सांसद कमलप्रसाद पंगेनीले स्थानीय तहमा बजेट जानु स्वभाविक भए पनि यसअघिका चालू केन्द्रीय योजनाका बारेमा ठोस व्यवस्था नभएको प्रति सरकारको ध्यानाकर्षण गराए।

सांसद कल्पना शर्मा जोशीले पोखरा–बागलुङ राजमार्ग ३१ मिटर फराकिलो बनाउने क्रममा केही जलविद्युत् आयोजना र क्याम्पसमा क्षति हुने भएकाले त्यसको वैकल्पिक व्यवस्था गर्न माग गरिन् । सांसद कान्ता भट्टराईले भूकम्पपछि पुनःनिर्माण हुन नसकेर पुनःनिर्माण प्राधिकरणको रु ४१ अर्ब बजेट फ्रिज गएको प्रति प्रश्न गरिन् ।

सांसद लक्ष्मी राईले भोजपुरको अरुण गाउँपालिकामा तीन बालिकाको हत्या भएको घटनाका सम्बन्धमा सुरक्षा निकायबीच नै आपसी समन्वय हुन नसकेको प्रति त्यसको उचित छानबिन गर्न सरकारको ध्यानाकर्षण गरिन् । सांसद युवराज ज्ञवालीले सिमाना विवादले भारत र चीनबीचको द्वन्द्वको अवस्थामा भैपरी आउने सम्भावित अवस्थाका बारेमा नेपालले केही नगरेको प्रति सजग गराउँदै सरकारले सबै दलको सहमतिमा साझा धारणा बनाउन आवश्यक रहेको बताए ।

सांसद दुलारी हरिजनले स्थानीय तहको निर्वाचनसँगै स्थानीयवासीका हकअधिकार स्थापित भए पनि दलितप्रतिको छुवाछूत कायमै रहेको भन्दै त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन माग गरे । सांसद लीलादेवी श्रेष्ठले दक्षिण सिमानामा नेपालको ६० हजार हेक्टरभन्दा बढी जमिन मिचिएको भन्दै त्यसको कुनै सुनुवाइ नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद महेन्द्रराय यादवले राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई समर्थन दिएको १२ महिना बित्दा पनि माग सुनुवाइ नभएको भन्दै संविधान संशोधन प्रक्रिया अघि बढाएर अविलम्ब पारित गर्न माग गरे । सांसद डा सुबोधकुमार पोखरेलले निर्वाचनमा धाँधली भएको सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय समितिका काम कारबाही अघि नबढेको गुनासो गरे ।

सांसद कमला विश्वकर्माले जातीय छुवाछूतका घटना बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै ऐन कानुन भए पनि कार्यान्वयन नहुँदा अपराधीले प्रश्रय पाइरहेका भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सांसद डिल्लीप्रसाद काफ्लेले सरकारी शैक्षिक संस्थाको गुणस्तर खस्कँदो अवस्थामा भएकाले त्यसलाई सुधार्न माग गरे । सांसद मीना पुनले बागलुङमा आज भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ग्रामीण क्षेत्रका साँघुरा बाटा र पुराना गाडीका कारण दुर्घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

बैठकमा सांसद लक्ष्मण राजवंशी, शारदा पौडेल, अमृतकुमार बोहरा, विशाल भट्टराई, अकवाल अहमद साहलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । रासस