काठमाडौँ – दुई दक्षिण एशियाली देश, जुन पछिल्लो समय राजनीतिक हिसाबले एकआपसमा टकराबको स्थितिमा छन् । कुरा हो भारत र पाकिस्तानबीचको । पछिल्लो समय यी दुई देश बीचको सम्बन्ध तनावपूर्ण छ । बालाकोट प्रकरणपछि एक अर्काबीच प्रतिशोध साँधिरहेका छन् । एक देशका जनताले अर्को देशका जनतालाई शत्रुताको भावनाले हेर्छन् ।


ADVERTISEMENT


एक अर्काविरुद्ध हारको कामना गर्ने यी दुबै देश विश्व क्रिकेटको शक्ति राष्ट्र हुन् । अहिले इङ्ल्याण्ड र वेल्समा एक दिवसीय क्रिकेट विश्वकप चलिरहेको छ । जब भारत कुनै देशविरुद्ध क्रिकेट खेल्छ, तब पाकिस्तानी समर्थक भारतको हारको कामना गर्दै विपक्षी टोलीलाई समर्थन गरिरहेका हुन्छन् । भारत हारे उनीहरु खुसी हुन्छन् । यस्तै भारतीय प्रशंसक पनि पाकिस्तानीभन्दा कहाँ कम छन् र ! उनीहरु पनि पाकिस्तानी खेलाडीका विषयमा सामाजिक सञ्जालदेखि लिएर विभिन्न ठाउँहरुमा मजाक उडाइरहेका हुन्छन् । पाकिस्तानविरुद्ध जित हात पारेमा प्रशंसक मात्रै होइन, सिनेमाका स्टारदेखि राजनीतिज्ञको भुईँमा खुट्टै हुन्न ।


ADVERTISEMENT

# # #


केही दिन अघि भारत र पाकिस्तान विश्वकपको समूह चरणमा भिडे । वातावरण यस्तै देखियो । तर, आइतबारको दृश्य भने फरक हुनेछ । आइतबार विश्वपमा भारत र आयोजक राष्ट्र इङ्ल्याण्डबीच खेल हुँदैछ । तर, भारत र पाकिस्तान दुबै देशका प्रशंसकले भने भारतको जितको कामना गर्नेछन् । सँधै भारतको हारमा रमाउने पाकिस्तानी प्रशंसक यसपटक भने भारतको जितमा खुसी हुनेछन् ।

यही विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ ।  इङ्ल्याण्डका पूर्व कप्तान समेत रहेका क्रिकेट कमेन्टेटर नाजिर हुसेनले इङ्ल्याण्ड र भारतबीचको खेलमा कसलाई समर्थन गर्नुहुन्छ भन्दै पाकिस्तानी समर्थकलाई प्रश्न गरेका छन् । उनले ट्वीटरमा भनेका छन्, ‘सम्पूर्ण पाकिस्तानी क्रिकेट समर्थकलाई प्रश्न…इङ्ल्याण्ड भर्सेस भारत…आइतबार…तपाईहरु कसलाई समर्थन गर्नुहुन्छ ?’ उनको यो ट्वीटमा १५ हजारभन्दा बढीले प्रतिक्रिया दिएका छन् । ५२ सयभन्दा बढीले रिट्वीट गरेका छन् ।

भारतलाई किन समर्थन ?

जारी विश्वकपमा स्थिति यस्तो बनेको छ, जब उपाधीको दाबेदार मानिएका टोलीले पनि सेमिफाइनलमा स्थान बनाउनका लागि संघर्ष गर्नुपरिरहेको छ । पाकिस्तानले आफ्नो पछिल्लो खेलमा अविजित टोली न्यूजिल्याण्ड र शनिबार अफगानिस्तानलाई पराजित गरेसंगै सेमिफाइनलको आफ्नो यात्रालाई जीवितै राखेको छ । तर, पाकिस्तान सेमिफाइनल पुग्नका लागि भारतको जितको आवश्यकता छ ।

पाकिस्तान ८ खेलमा ४ जितसहित अंकतालिकाको पाचौँ स्थानमा रहेको छ । उसले अब बंगलादेशविरुद्ध खेल्न बाँकी छ ।  बंगलादेशविरुद्ध खेलमा जित हात पारेमा पाकिस्तानको ११ अंक हुनेछ । यता उपाधी दाबेदार मानिएको इङ्ल्याण्ड ७ खेलमा ४ जितसहित चौथो स्थानमा रहेको छ ।  इङ्ल्याण्डले अब भारत र न्यूजिल्याण्डविरुद्ध खेल्न बाँकी छ । उसले आइतबार भारतविरुद्ध खेल्दैछ

यदि भारत वा न्यूजिल्याण्डमध्ये एक टिमलाई हराएमा उसको १० अंक हुनेछ । पाकिस्तानले दुबैमा जित निकालेमा उसको ११ अंक हुने हुनाले इङ्ल्याण्डको सेमिफाइनलको सपनामा पूर्णविराम लाग्नेछ । तर, दुबै जितेमा भने पाकिस्तान बाहिरिने छ । त्यसकारण पाकिस्तानका प्रशंसक भारतको जितका कामना गर्नेछन् ।