काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विशाल नदी भएकोले यसबाट केही भंगालाहरु छुट्टिए पनि पुन नदीमै आएर मिसिने बताएका छन् ।


ADVERTISEMENT


विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेकाहरुलाई आज पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा स्वागत गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले नदी बग्दा केही भंगालाहरु बाटा भूलेर दायाँबायाँ लागे पनि अलि पर पुगेर सबै भंगाला मुल बहाबमा नै मिसिने बताए । “कहिले ढिस्काले बाटो छेकेर भंगालाहरु यताउति लाग्छन्,कहिले बाटो भूलेर” उनले भने, “पुलमूनी भंगालै भंगालामा छरिएको नारायणी नदी अलि तल पुगेपछि मुल बहावमै मिसिन्छन् । त्यस्तै कम्यूनिष्ट पार्टीबाट बेला बेलामा छुटिएर गएका साथीहरु फेरी अहिले मुलधारमै आउनु भएको छ । उहाँहरुलाई स्वागत छ ।”

प्रधानमन्त्री ओलीले दुई तिहाइ अटेको कम्यूनिष्ट पार्टीमा बाबुराम भट्टराई मात्र हैन सिंगै समाजवादी पार्टी पनि अट्न सक्ने बताए। “देश बनाउने बेलामा डिलमा बसेर मतभेद गर्ने होइन । आउनुहोस सबै मिलौं देश बनाउँ ” उनले भने ।

नेपालमा पहिले राजनीतिका मात्र कुरा हुने गरेकोमा अहिले विकासका कुराले प्रधानता पाउन थालेको प्रधानमन्त्री ओलीको भनाइ छ । “जनताका समस्या भन्दा सरकार टाढा छैन । जनताका आवश्यकतालाई मनन गरेर हामी काम गर्छौं ” उनले भने, “हामीमा कुनै मतभेद छैन । व्यक्तिगत स्वार्थलाई गौंण र राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखेर विकसित देश बनाउन हामी लागि परेका छौं ।”

प्रधानमन्त्री ओलीले केही केहीले परपरैबाट पार्टी र सरकारको आलोचना गर्ने गरेको बताए। “बहुदलमा आलोचना गर्न पाइन्छ । चुनाव पनि हार्नु आलोचना पनि गर्न नपाउनु त भएन नि ” प्रधानमन्त्री ओलीले भने“ जति आलोचना गरे पनि सरकार देशमा सुशासन कायम गर्ने अभियानमा दृढ संकल्पित छ ।”

कार्यक्रममा नेपाल समाजवादी पार्टीका नेताहरु कल्पना धमला, देवेन्द्र पराजुली, गुणखर भूसाल, मनु हुमागाईं लगायत नेकपामा प्रवेश गरेका छन् । उनीहरुलाई प्रधानमन्त्री एवं अध्यक्ष ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा प्रवेश गराएका छन् ।