काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठकमा पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल गरिने बताइएको छ ।


ADVERTISEMENT


पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षालगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी संरचनाबारे छलफल

बैठकमा मुख्य गरी पार्टीको संरचना कसरी निर्माण गरेर जाने भन्ने विषयमा छलफल केन्द्रित हुने भएको छ । काँग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीका संरचना निर्माणका विषयमा सहमतिको प्रयास भइरहे पनि ठोस उपलब्धि हासिल भइसकेको छैन ।

संरचना निर्माण गर्दा ६० र ४० को अवधारणा अनुसार अगाडि बढ्ने विषयमा केही समय पहिला छलफल भएको थियो तर पछिल्लो समयमा संस्थापन पक्ष पार्टीका संरचना निर्माण गर्ने पक्षमा र वरिष्ठ नेता पौडेलसहितका अन्य नेता अब १४औँ महाधिवेशन केन्द्रित कार्यक्रम तयार गरेर जानुपर्ने पक्षमा देखिएपछि पार्टीको संरचना निर्माण कसरी गर्ने भन्ने विषयले केन्द्रीय समितिमा मुख्य स्थान पाउने भएको छ ।

बैठकमा कसरी प्रस्तुत हुने भनेर दुवै पक्षका नेताहरूले आफ्ना समूहका नेताहरूले तयारीसमेत गरिसकेका छन् ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, पार्टीको विधानको धारा ७२ को ४ ले पार्टी सङ्गठनको अन्तरिम व्यवस्था बारेमा प्रष्ट व्यवस्था गरेको र नेपालको संविधान बमोजिमका नविन संरचनाहरू पार्टीको विधानले निर्दिष्ट गरेको प्रष्ट व्यवस्थाअनुरूप नै गठन हुनेछन् ।