काठमाडौँ – मलेसियामा जारी एसीसी यू-१९ पूर्वी क्षेत्रमा नेपाल फाइनल प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा नेपालले आयोजक मलेसियालाई नेपालले ७ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


नेपालले १५.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । ८८ रनको सामान्य लक्ष्य पच्छ्याए पनि नेपालको सुरुवात राम्रो हुन सकेन । पहिलो विकेटका लागि पवन सर्राफ र रित गौतमले २० रनको साझेदारी गरेका थिए । पवन १६ बलमा १८ रन बनाउँदै आउट भए ।


ADVERTISEMENT

# # #


यसक्रममा उनले २ छक्का र एक चौका हाने । थप १० रन जोड्न नपाउँदै नेपालले थप दुई विकेट गुमायो । रित गौतम १४ बलमा ३ रन बनाएर आउट भए । यस्तै खडक बोहरा पहिलो बलमा नै बोल्ड आउट भए ।

६.३ ओभरमा ३ विकेटको क्षतीमा ३० रनको अवस्थाबाट सम्हाल्दै कप्तान रोहित पौडेल र भीम सार्कीले जित दिलाए । यसक्रममा उनीहरुले अविजित ६० रनको साझेदारी गरे । भीमले ३४ बलमा २ चौका र एक छक्कासहित नटआउट ३३ रन बनाउँदा रोहित पौडेलले २९ बलमा २ चौका र १ छक्कासहित ३१ रन बनाएर नट आउट भए ।

मलेसियाका लागि हैकवाल खैरले २ विकेट लिए । उनले ४ ओभरमा एक मेडेनसहित २० रन खर्चिए । यस्तै मोहम्मद अमिरका नाममा १ विकेट रह्यो ।

यसअघि क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४० ओभर ५ बलमा सबै विकेट गुमाउँदै ८७ रन बनायो ।

मलेसियाका लागि मोहम्मद अमिरले सर्वाधिक २४ रनको योगदान गरे । त्यस्तै हइकुल मोहद खेरले १२ रन जोड्दा वान अमिरउल ११ र अहमद अक्मलले १० रनको योगदान गरे ।

बलिङतर्फ नेपालका लागि सागर ढकालले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कुशल मल्लले दुई विकेट लिँदा तिलकरा भण्डारी, कमल ऐरी र रशिद खानले समान एक–एक विकेट लिए ।

फाइनलमा नेपालले हङकङ र सिंगापुर बीचको विजेतासंग भिड्ने छ । उपाधी विजेता टोली आगामी अगस्टमा श्रीलंकामा हुने यू–१९ एशिया कपका लागि छनोट हुनेछ । जहाँ आयोजक श्रीलंकासहित भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान रहेका छन् । यस्तै एशिया पश्चिम क्षेत्रबाट युएई र कुवेत छनोट भएका छन् ।