काठमाडौँ– नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार (राजन) केसीले देशमा युवालाई उत्पादनशील क्षेत्रमा समेट्न सकेमात्र मुलुकमा आर्थिक सशक्तीकरण सम्भव हुने बताएका छन् ।


ADVERTISEMENT


मन्त्रालयमा हिजो साँझ पदबहाली गर्दै उनले मुलुकको जनसङ्ख्याको ठूलो हिस्सा युवा वर्गले आगेटेको भए पनि उनीहरुलाई उत्पादनमा जोड्न नसकेकाले युवा जनशक्ति पलायन हुन बाध्य भएकामा चिन्ता व्यक्त गरे ।
उनले राजनीतिभन्दा माथि उठेर आफूले दैनिक प्रशासनिक कार्य गर्ने बताए ।


ADVERTISEMENT

# # #


सचिव महेशप्रसाद दाहालले नेपालमा हुन लागेको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको जानकारी गराउँदै त्यसलाई सम्पन्न गर्न रु डेढ अर्ब आवश्यक पर्ने बताए।

उनी विसं २०४६ पछि नेपाली काँगेसमा आबद्ध भई सक्रिय राजनीति गरेका हुन् । विसं २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा उनी काठमाडौँ निर्वाचन क्षेत्र नं १० बाट निर्वाचित भएका थिए ।

वातावरणमैत्री समाज निर्माण गर्नुपर्नेमा जोड

त्यसैगरी नवनियुक्त जनसङ्ख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले पछिल्लो समय बढ्दै गएको धुँवाधुलोले फैलाएको प्रदूषण न्यूनीकरण गरी वातावरणमैत्री समाज निर्माण गर्नुपर्नेमा जोड दिएकी छन् ।

मन्त्रालयमा पदबहाली गर्दै उनले पर्यावरणको संरक्षण गर्न सकेमा मात्र स्वच्छ जीवन कायम गर्न सकिने बताइन् ।

उनले जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिइन् । विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा उनी नेकपा (संयुक्त) का तर्फबाट सप्तरीबाट समानुपातिक सभासद्मा निर्वाचित भएकी थिइन्। रासस