काठमाडौँ – सीमानाकामा विषादी परीक्षण रोक्नका लागि काठमाडौास्थित भारतीय दूतावासले सरकारलाई पठाएको पत्र बाहिरिएको छ । सरकारले भारतबाट नेपालमा आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गरेर मात्रै नेपाल भित्रिने निर्णय कार्यान्वयन गरेको थियो ।


ADVERTISEMENT


भारतीय दूतावासले सरकारलाई लेखेको पत्रमा सीमानाकामा विषदी परीक्षण रोक्न आग्रह गरिएको थियो । जुन दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको थियो । दूतावासले पठाएको यही पत्रले सरकालाई विषादी परीक्षण रोक्न बाध्य पारेको थियो ।


ADVERTISEMENT

# # #


के लेखिएको छ पत्रमा ?

काठमाडौँस्थित भारतीय राजदूतावास नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाई अभिवादन गर्दै नेपाल सरकारका निकायहरूले सबै ताजा तरकारी तथा फलफूलको आयातमा वनस्पति क्वारेन्टाइन र विषादी स्तर पुनर्परीक्षण लागू गरेको भन्ने विषयमा यस दूतावासले जानकारी पाएको अवगत गराउन चाहान्छ ।

भारतको राष्ट्रिय वनस्पति संरक्षण संस्था तथा कृषि तथा प्रशोधित खाद्य पदार्थ निर्यात विकास प्राधिकरणले नेपालमा निर्यात हुने यस्ता सामग्रीलाई फाइटोस्यानिटरी प्रमाणपत्र प्रदान गर्ने गरेका छन् र यी प्रमाणपत्र नेपाली निकायहरूलाई पनि स्वीकार्य छन् ।

पुनर्परीक्षणको आवश्यकता गैरकर अवरोधजस्तै हो र यसले व्यापार रोकिएको छ । साथै, अन्तर्राष्ट्रिय वनस्पति संरक्षण महासन्धिको फाइटोस्यानिटरी उपायबारे अन्तर्राष्ट्रिय मापदण्ड १३ अनुसार आयातकर्ता देशले निर्यातकर्ता देशलाई फाइटोस्यानिटरी आयातका प्रावधान पालना गर्नका लागि सूचना दिनुपर्दछ । यस घटनामा नेपाली निकायबाट यो व्यवस्था पालना भएन ।

फाइटोस्यानिटरी उपायबारे अन्तर्राष्ट्रिय वनस्पति संरक्षण महासन्धि तथा विश्व व्यापार सङ्गठनबाट स्थापित मान्यता एवं भारत र नेपालबीच दशकौँदेिखि कायम रहेका द्विपक्षीय व्यापार व्यवस्था अनुरूप नेपाल सरकारका सम्बन्धित निकायलाई यस गैरकर अवरोधको कार्यान्वयन खारेज गर्न र भारतका निकायले जारी गरेका फाइटोस्यानिटरी प्रमाणपत्रका आधारमा यस्ता सामग्रीको आयात खुला गर्न सुझाव दिनका लागि सम्मानित मन्त्रालयलाई आग्रह गरिन्छ ।

उल्लेखित सामग्रीको व्यापार रोकिने र भारतीय निर्यातकर्तालाई ठूलो घाटा लाग्ने गरी भएको गैरकर अवरोधको तत्काल कार्यान्वयनका लागि कुनै तत्व जिम्मेवार भए आवश्यक सूचना तथा कागजात सहित औचित्य पुष्टि गर्नका लागि राजदूतावास सम्मानित मन्त्रालयलाई आग्रह गर्दछ ।

नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई उच्चतम सम्मान व्यक्त गर्नका लागि भारतीय राजदूतावास यो अवसरको उपयोग गर्दछ ।