काठमाडौँ – एसीसी यू-१९ पूर्वी क्षेत्रको फाइनल खेलमा शानदार जित हात पार्दै नेपाल आगामी अगस्टमा श्रीलंकामा हुने यू-१९ एशिया कपका लागि छनोट भएको छ । मंगलबार मलेसियामा सम्पन्न पूर्वी क्षेत्रको छनोटको फाइनलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो । यू-१९ एशिया कप अगस्ट २८ देखि सेप्टेम्बर ८सम्म श्रीलंकामा हुँदैछ ।


ADVERTISEMENT


मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनायो । ९६ रनको सामान्य लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको नेपालले १६.१ ओभरमा ४ विकेटको क्षतीमा जित हासिल गरेको हो ।


ADVERTISEMENT

# # #


नेपालका लागि ओपनर पवन सर्राफले आक्रमक इनिङ खेले । उनले ३६ बलमा ५ चौका र एक छक्कासहित ३९ रन बनाएर आउट भए । यस्तै रित गौतमले १३ रन बनाए । त्यसक्रममा उनले २ चौका हाने ।

खडक बोहरा ८ रनमा पेवेलियन फर्किँदा कप्तान रोहित पौडेल बाउन्ड्री लगाएर जित दिलाउने चक्करमा आउट हुन पुगे । नेपाललाई ३ रन चाहिएको अवस्थामा हावामा बल हानेका उनी १२ रनमा आउट भए । उनले १० बलमा एक चौका प्रहार गरे । भीम सार्की र हरि चौहान क्रमशः ८ र शून्य रनमा नटआउट रहे ।

यसअघि हङकङका लागि कप्तान अदित गोरवाराले सर्वाधिक २४ रन बनाए । तेस्रो विकेटका लागि कल्हान मार्क चल्लुसंग २९ रनको साझेदारी गरेका ७१ बलमा ४ चौका लगाए । यस्तै कल्हानलले ३८ बलमा १९ रन जोडे ।

त्यसक्रममा उनले २ चौका र एक छक्का प्रहार गरे । यस्तै रौनक कपुरले ३७ बलमा २ चौकाको मदतमा १२ रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

नेपालको उत्कृष्ट बलिङ सामू हङकङका ब्याट्सम्यान निरीह साबित भए । हङकङले खाता खोल्न नपाउँदै सुरुवाती दुई विकेट गुमाएको थियो । नेपालका लागि सागर ढकालले घातक बलिङ गरे । उनले १० ओभरमा ५ मेडेन राख्दै १८ रन दिएर ५  विकेट चट्काए । तर, उनले अन्तिम ओभरमा १० रन खर्चिए ।

पहिलो ओभरमै बलिङमा आएका सागरले नेपाललाई उत्कृष्ट सुरुवात दिलाउने क्रममा हङकङका सुरुवात पाँच ब्याट्सम्यानलाई धरापमा पारेका थिए । यस्तै कमल सिंह ऐरीले तीन विकेट लिए । उनले ८ ओभरमा २ मेडेन राख्दै २३ रन खर्चिए ।

यस्तै तिलक राज भण्डारी र कुशल मल्लले समान १ १ विकेट लिए । तिलकले ४ ओभरमा १२ रन दिए भने कुशल निकै कञ्जुस साबित भए । कुशलले ८.१ ओभरमा ५ मेडेन राख्दै मात्र ४ रन दिए ।

८ टिम सहभागी हुने एशिया कपमा नेपालसंगै आयोजक श्रीलंका, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान रहेका छन् । यस्तै एशिया पश्चिम क्षेत्रबाट युएई र कुवेत छनोट भएका छन् ।