काठमाडौं– कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले विषादी चेकजाँच अहिलेपनि जारी नै रहेको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौमा भएको साक्षात्कारमा बोल्दै मन्त्री खनालले अहिलेपनि विषादी परीक्षण आफ्नै प्रक्रियामा भैरहेको सुनाए । उनले नेपालमा अहिले अस्तित्वमा रहेका विषादी परीक्षण ल्याबहरुको क्षमतामा प्रश्न रहेको सुनाउँदै ती ल्याबलाई छिट्टै स्तरोन्नती गर्ने विश्वास दिलाए ।


ADVERTISEMENT

# # #


मन्त्री खनालले अहिलेपनि जोखिमयुक्त तरकारी तथा फलफूल नगन्य मात्रामा रहेको स्वीकार गरे । ‘हामीले २०७१ साल असारदेखि विषादी परीक्षणको सुरु गरेका हौं, त्यतिवेला १८७ स्याम्पलमा चेकजाँच गरिएको थियो, तर केहीमा जोखिमपूर्ण मात्रा थियो’ मन्त्री खनालको भनाई छ ।

काठमाडौं उपत्यकाबाहिर अहिलेपनि ६–७ वटा ल्याबहरु रहेको भन्दै उनले ‘तर, ती सबै ल्याबहरु अहिले सञ्चालनमा छन्’ भनेर भन्न नसक्ने बताए । भएका ल्याबहरु सञ्चालन गर्न म्यानपावरको समस्या भएको पनि उनले जनाए ।

उनले विषादी चेकजाँच गर्ने निर्णयबाट सरकार किन ब्याक भयो ? भनेर चौतर्फी कुरा उठेको सुनाउँदै निर्णयमा नाकामा चेकजाँच भन्ने शब्द राख्दा समस्या भएको सुनाए । उनले थपे,‘अन्तर्राष्ट्रिय प्रचलनअनुसार पनि नाकामा चेकजाँच हुँदैन । र, अहिले हामीसँग भएका ल्यावहरुलाई हामी छिट्टै अन्तर्राष्ट्रियस्तरको बनाउँछौं ।’ अहिलेपनि अर्गानो फोस्फेट र कार्वोनोमेट दुई वटा विषादी परीक्षण हुने गरेको मन्त्री खनालले बताए । परीक्षण हुन नसक्नेलाई काठमाडौंमा ल्याउन सकिने उनको भनाई छ । उनले हरेक कुरामा विषादीमात्रै छ भनेर देख्ने तरिका पनि वैज्ञानिक नभएको गुनासो पोखे । ०७१ साल यताको रेकर्ड हेर्दा ग्रिन–जोनभन्दा तल धेरै कम मात्रामा रहेको उनले डाटा सुनाए ।

भारतबाट मात्रै नभएर भुटानबाट आयात हुने आलुलगायतका वस्तु र चीनबाट आयत हुने स्याउ परीक्षण हुने गरेको मन्त्री खनालले जनाए । सर्वोच्च अदालतले विषादी परीक्षण नरोक्न दिएको आदेश आफूहरुले पालना गर्नेपनि उनले विश्वास दिलाए । उनले भने,‘अहिले हामीसँग भएका सबै ल्याव र साधन र स्रोत परिचालन गरेर हामी परीक्षणको काम गर्छौं ।’

विषादी परीक्षणलगायत अन्य पूर्वाधार निर्माणको लागि चाहिने बजेटको लागि आफूले अर्थ मन्त्रालयसँग छलफल गरेर पत्र पठाईसकेको पनि उनले जनाए । उनले भने,‘खरिद प्रक्रिया पूरा गर्न अझै कम्तिमा पनि ६ महिना र बढिमा दश महिना लाग्छ ।’

मन्त्री खनालले भारतलगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफुल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा ६ महिना लाग्ने स्पष्ट पारे । केन्द्रीय प्रयोगशालाले २९ वटा विषादीका समुहको परीक्षण गर्ने भएपनि बाँकीमा २ वटा प्यारामिटर मात्रै चेक हुँदै आएको उनले स्पष्ट पारे ।

चेकजाँच गर्ने सरकारको निर्णय कार्यान्वयका लागि आफुले खाद्य, पशु र प्लान क्वारेन्टाईन अन्र्तगतका १४ वटा क्वारेन्टाईन थप निर्माण गर्नुको साथै ३ सय १२ जना कर्मचारी थपेर व्यवस्थित बनाउने काम गरेको स्पष्ट पारे ।

फरक प्रसँगमा उनले उखु किसानहरुले अहिलेसम्म ठूलो मात्रामा भुक्तानी नपाएको गुनासो आफूकहाँ आएको सुनाउँदै यस विषयमा वाणिज्य मन्त्रीसँग बसेर छलफल गर्ने र समस्याको समाधान गर्ने सुनाए । उनले भने,‘मिल मालिकहरु अहिले धेरै ठूलो मारमा छन् । अब राम्रो रणनीतिका साथ काम गर्नुपर्छ ।’

उनले आफ्नो कुनैपनि मन्त्रालयसँग समस्या नरहेको स्पष्ट पारे । उनले भने,‘हामीमा कुनै समस्या छैन । हामी अदालतको निर्णय मान्छौं ।’ अहिलेपनि चेकजाँचको काम नरोकिएको उनले स्पष्ट पारे । अहिले २१ वटा विषादीमा प्रतिबन्ध गरिएको उनले सुनाए । विषादी ऐन अन्तिम अवस्थामा रहेको सुनाउँदै छिट्टै कार्यान्वयनमा आउने उनको विश्वास छ ।

विषादी परीक्षण रोक्न भारतीय दुतावासले पत्र पठाएको सन्दर्भमा मन्त्री खनालले भने,‘त्यो पत्र परराष्ट्र मन्त्रालयमा आएको हो । हामीलाई पनि बोद्यार्थ थियो । यो पत्र भनेको दुई देशबीचको सम्बन्धको कुरा हो, डब्लु.टि.ओ.अनुसार पत्र आएको हो । यो सामान्य पत्र हो । तर, यसको जवाफ हामीले भन्दापनि परराष्ट्रले दिनुपर्छ ।’

गत वर्ष यतिवेला ५३ प्रतिशत धान रोपाई भएको सुनाउँदै खनालले यो वर्ष आजको दिनसम्म जम्मा ३० प्रतिशत मात्रै धान रोपाई भएको सुनाए । उनले भने,‘अहिले किन घट्यो भनेर संशय पैदा भएको छ । तर, राम्रो वर्षा भयो भने हामी कभर गर्छौं ।’

नेपालमा मलको अपर्याप्तता रहेको भएपनि अहिले तत्काललाई अभाव नहुने उनले विश्वास दिलाए । उनले भने,‘हामीसँग युरिया पर्याप्त छ ।’

अर्को एक प्रशङ्गमा विप्लव समूह सशस्त्र हिंसामा आउँछ भनेर सरकराले पनि त्यस्तै जवाफ दिने उनको चेतावनी छ । तर, यदि वार्तामा आउन चाहन्छ भने सरकारले वार्ताको लागि ढोका खुल्ला राख्ने पनि उनले स्पष्ट पारे । उनले भने,‘विप्लव समूह कमसेकम हिंसा त्यागेर वार्तामा आउनुपर्छ ।’