काठमाडौं – मलेसियामा आजदेखि सुरु भएको २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।


ADVERTISEMENT


मलेसियाको क्वालालम्पुरस्थित किनरारा मैदानमा टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२८ रन बनायो ।१२९ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर १८.३ ओभरमै पुरा गर्यो ।


ADVERTISEMENT

# # #


नेपालका लागि कप्तान पारस खड्काले आक्रामक इनिङ खेले । ३२ बलमा नै अर्धशतक पूरा गरेका पारसले ५० बलमा नटआउट ८६ रन बनाए । त्यसक्रममा उनले ८ चौका र ५ छक्का प्रहार गरे ।

ओपनिङमा आएका पारसले प्रदिप ऐरीसँग मिलेर २९ रनको साझेदारी गरे। १७ बलमा ८ रन बनाएर प्रदिप पाँचौ ओभरमा फित्री शामबाट क्याच आउट भए।

दोश्रो विकेटको लागि पारसले ज्ञानेन्द्र मल्लसंग २१ रनको साझेदारी गरे। ज्ञानेन्द्र २० बलमा ७ रन बनाएर १० औं ओभरमा अनवर रहमानबाट बोल्ड हुन पुगे। रोहित पौडेल पनि ४ बलमा १ चौका मदतले ५ रन बनाएर अनवरबाट एलबिडब्लु आउट हुन पुगे। त्यसपछि पनि पारस खड्काले एक किनार सम्हालीरहे र आक्रामक इनिंग खेले।

११.२ ओभरमा ६८/३ को अवस्थाबाट पाँचौ नम्बरमा ब्याटिंग गर्न आएका शरद भेसावकर संग पारसले ७ ओभरमा नटआउट ६१ रनको साझेदारी गरे। त्यसक्रममा शरदले २० बलमा एक छक्का सहित १६ रन बनाए ।

मलेसियाको लागि बलिंगमा अनवर रहमानले २ विकेट लिए । ४ ओभरमा उनले २० रन खर्चिए । यस्तै फित्री शामले ४ ओभरमा २६ रन दिएर १ विकेट लिए ।

यसअघि मलेसियाका लागि भिरन्दीप सिँहले अर्धशतक प्रहार गरे । निकै सम्हालिएर खेलेका उनले ४९ बलमा ७ चौका र एक छक्का सहित ५७ रन बनाए ।

यस्तै कप्तान एहमद फैजले ३९ बलमा २ छक्कासहित ४५ रन हाने । फित्री शामले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

नेपालका लागि करन केसीले ३ विकेट लिए । ४ ओभरमा उनले २७ रन खर्चिए । अन्तिम ओभरमा ३ विकेट लिएका उनले एक रन आउट समेत गरेका थिए । यस्तै सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २-२ विकेट हात पारे ।

सन्दीपले ४ ओभरमा २५ रन खर्चिए भने बसन्तले २८ रन दिए । यस्तै सोमपाल कामीका नाममा एक विकेट रह्यो । उनले ३ ओभरमा १५ रन दिए ।

टी-२० अन्तर्राष्ट्रियमा पारसको दुई अर्धशतक

यो बीचमा पारसले टि-२० अन्तर्राष्ट्रियमा आफ्नो दोश्रो अर्धशतक पुरा गरेका छन् । मलेसियाविरुद्धको यो इनिङ (८६ रन) नेपाली ब्याट्सम्यानको सबै भन्दा ठूलो इनिङ हो ।

यस अघि पारसले नेदरल्याण्ड विरुद्ध २०१५ मा अर्धशतक ( ५४ रन ) बनाएका थिए।

टि-२० अन्तर्राष्ट्रियमा पारस पछि सुबास खकुरेल र सन्दिप जोराले मात्र अर्धशतक बनाउन सकेका छन्। सुवासले सन् २९१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा अफगानिस्तान विरुद्ध (५६ रन) अर्धशतक बनाएका थिए ।

यस्तै सन्दीप जोराले गत जनवरीमा युएई विरुद्ध उसकै मैदानमा अर्धशतक बनाएका थिए । त्यसक्रममा उनी अर्ध शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए ।