खगेश्वरी कार्की, काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरीलाई अंग्रेजी भाषा र शिष्टतासम्बन्धी प्रशिक्षण दिइएको छ ।


ADVERTISEMENT


विमानस्थलको सुरक्षार्थ खटिएका विमानस्थल प्रहरी, केन्द्रीय प्रहरी विशेष कार्यदल, डग शाखा, ट्राफिक प्रहरी, पर्यटक प्रहरी लगायतका प्रहरी कर्मचारीहरुलाई पाँच दिने प्रशिक्षण दिइएको हो ।


ADVERTISEMENT

# # #


विमानस्थलका सुरक्षा प्रमख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्दीप भण्डारीका अनुसार विदेशी पर्यटकहरुको सहजतालाई लक्षित गर्दै यस्तो प्रशिक्षण दिइएको । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले थालेको ‘भ्रमण वर्ष २०२०’ अभियानलाई समेत प्रशिक्षणले सहयोग पुर्याउने महानगरीय विमानस्थल प्रहरी कार्यालयले जनाएको छ ।

अंग्रेजी भाषा ज्ञानको अभावमा नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिने पर्यटकले विभिन्न किसिमका समस्या भोग्दै आएका छन् । प्रशिक्षणपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकहरुसंग संवाद गरेर आवश्यक परामर्श दिन सहयोग मिल्ने एसएसपी भण्डारीको विश्वास छ ।

‘प्रहरी कर्मचारीहरुलाई ईमान्दार, अनुशासित, व्यवसायिक भई सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न हामीले प्रशिक्षण दिइएको हो ।’ उनले भने, ‘प्रशिक्षणबाट लाभान्वित भएका सुरक्षाकर्मीको सेवा प्रवाहबाट कार्यक्रमको सफलतामा समेत सहयोग पुग्ने विश्वास लिएका छौँ ।’

यात्रु सेवामैत्री विमानस्थल बनाउनका लागि त्यहाँ कार्यरत प्रहरी र कर्मचारीको व्यवहार सभ्य, शिष्ट र नम्र हुन आवश्यक रहेको उनले बताए ।

अनियमितता, तस्करी तथा कर्मचारीको व्यवहारको आलोचना भइरहेका बेला विमानस्थलको सुरक्षाको जिम्मा लिएको महानगरीय विमानस्थल प्रहरी कार्यालयले सुधारका काम अगाडि बढाएको छ ।