काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चीनको यूनान प्रान्तका उपगभर्नर चाङ कुवहुय ले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार उपराष्ट्रपति भवनमा भएको भेटमा नेपाल चीनबीचको सम्बन्ध, आपसी सहयोग र सहकार्यका बारेमा छलफल भएको छ ।


ADVERTISEMENT


भेटमा उपराष्ट्रपतिले औपचारिक रुपमा सन् १९५५ मा स्थापित भए पनि नेपाल चीन सम्बन्ध शताब्दीऔं पुरानो भएको बताए । उनले जनस्तरसम्म फैलिएको दुई देशबीचको प्रगाढ् सम्बन्धलाई थप सुदृढ् गर्दै लैजानुपर्ने बताए । उपराष्ट्रपतिले यूनान प्रान्त नेपालका लागि धेरै महत्वपूर्ण भएको बताए । नेपाल पनि संघीयतामा गएको र प्रदेशहरुले संघीय सरकारको अनुमतिले चीनका प्रान्तहरुसँग सहकार्य गर्न सक्ने बताए ।


ADVERTISEMENT

# # #


उपराष्ट्रपतिले भेटमा चीनका राष्ट्रपति सि चिनफिङले अगाडि सारेको अवधारणा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)मा सहभागी हुन पाउनु नेपालको लागि गौरव भएको बताउँदै त्यसले उचित लाभ दिनुपर्ने बताए । ‘बीआरआईमा नेपाल जोडिएको छ । यसमा हामीलाई गौरव लागेको छ,’ उनले भने, ‘यसले दुवै देशलाई उचित लाभ दिनुपर्छ ।’

उपराष्ट्रपतिले वैदेशिक लगानीका लागि नेपालमा अनुकुल वातावरण रहेको उल्लेख गर्दै चिनियाँ लगानीका लागि आग्रह गरे । उनले नेपालको प्राथमिकता आर्थिक समृद्धि रहेको बताए ।

‘हामी समृद्ध नेपाल, सुखी नेपालीको नाराका साथ आर्थिक विकासतिर अगाडि बढेका छौँ,’ उनले भने, ‘नेपालको विकास र समृद्धिका लागि आन्तरिकका साथै वैदेशिक लगानीको खाँचो छ । यसमा चिनियाँ लगानीकर्ताले अधिकतम लगानी गर्ने अपेक्षा लिएका छौँ ।’ उनले कृषिको आधुनिकीकरण, पर्यटन पूर्वाधारको विकास, जडिबुटीको प्रशोधन, खनिज पदार्थको उत्खनन् र भौतिक पूर्वाधार निर्माण विकासका प्राथमिकता भएको उल्लेख गर्दै यी क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

उपराष्ट्रपतिसँगको भेटमा यूनान प्रान्तका उपगभर्नर चाङ कुवहुयले नेपालसँग विभिन्न क्षेत्रमा सहकार्य गर्न पाउँदा चीन र यूनान प्रान्त खुशी रहेको बताए । उनले राष्ट्रपति सिले यूनान प्रान्तलाई दक्षिण एशिया र पूर्वी एशियाका राष्ट्रहरुसँग चीनको सम्बन्धको गन्तव्य बनाउनुपर्ने धारणा लिएको उल्लेख गर्दै सोही बमोजिम काम भइरहेको बताए ।

उनले यूनान प्रान्तले नेपालमा जलविद्युत निर्माणका लागि लगानी गरिरहेको र थप लगानी गर्न लागेको बताए । ‘यसबाट नेपालको अर्थतन्त्रा योगदानप पुग्ने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘आजै हामी दुई ठूलो आयोजनामा हस्ताक्षर गर्दैछौँ । एउटा नेपाल विद्युत प्राधिकरणसँग र अर्को काठमाडौं महानगरपालिकासँग ।’

उपगभर्नरले यूनान प्रान्त र नेपालको सहकार्यलाई थप विस्तार गर्नुपर्ने बताए । ‘यूनान र नेपाल मिलेर धेरै भन्दा धेरै काम गर्न सक्छौँ । हाम्रो कामबाट चीन र नेपालको परम्परागत मित्रता र दुई मुलुकका जनताबीको सम्बन्ध अझै बलियो हुनेछ ।’