काठमाडौँ – पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आजभने बसेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।


ADVERTISEMENT


विभाग गठनका सम्बन्धमा कुरा नमिल्दा सचिवालय बैठक पटकपटक स्थगित भएको थियो ।


ADVERTISEMENT

# # #


पार्टीको स्कुल विभाग प्रमुखमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का सचिवालय सदस्य ईश्वर पोखरेलमध्ये कसलाई दिने भन्नेमा कुरा नमिल्दा सचिवालय बैठक स्थगित भएको थियो । स्कुल विभाग प्रमुखमा भने नेकपाका नेता झलनाथ खनाल, धनश्याम भुसाल, बेदुराम भुसाल र राम कार्कीसमेतको जिकिर छ ।

सङ्गठन विभाग प्रमुखमा वामदेव गौतम, विदेश विभाग प्रमुखमा माधवकुमार नेपालगायत सबैजसो विभागमा सहमति भए पनि निर्णय हुन भने बाँकी छ । आजको बैठकले पार्टीका विभिन्न ३३ विभागको टुङ्गो लगाउने बताइएको छ । यसअघि गत साउन ५ गते बसेको बैठकले पार्टी जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोकेको थियो ।

विभागको टुङ्गो लगाएपछि पार्टीले जनसङ्गठन इञ्चार्ज र विभिन्न कमिटी गठन गर्ने तयारी गरेको छ । विसं २०७५ जेठ ३ गते पार्टी एकता गरिए पनि अझैसम्म यसले पूर्णता पाइसकेको छैन । रासस