काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले सर्लाही घटनाका बारेमा संसदीय छानविन समिति नबनेसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कांग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुषालले आफूहरुले उठाएका माग सम्बोधन भए भोलि संसद सुचारु हुने नभए अवरुद्ध जारी राख्ने बताइन् । उनले भनिन्, ‘हामीले उठाएका कुराहरु सम्बोधन भए भोलि बस्ने संसद सुचारु हुन्छ । अन्यथा हामी संसद अवरुद्ध जारी राख्छौं ।’ उनले आफूहरु हिंसाको पक्षधर नभएको पनि स्पष्ट पारिन् ।


ADVERTISEMENT

# # #


भुषालले सरकारबाट लोकतान्त्रिक मूल्य र मान्यताको आधारस्तम्भ भत्काउने काम भयो भने आफूहरु त्यसको विरोधमा उत्रिने बताईन् । उनले सर्लाही घटनामा मानव अधिकार उल्लंघन भएको भन्दै उनले राज्यले ईनकाउन्टरको नाममा नागरिकको हत्या गरिरहेको आरोप लगाइन् । ‘यो घट्नामा मानवअधिकारको उल्लघंन भएको छ । यो घट्नामा संसदीय समिति गठन गर्नुपर्छ ।’ उनले भनिन्, ‘यसबारेमा संसदले सरकारलाई आवश्यक निर्देशन दिनुपर्छ ।’

सर्लाहीका तीन वटै घट्नामा सरकारले चालेको कदम ठिक छ भन्ने लागेको छ भनेपनि त्यो कुरा संसदमा आएर ठिक हो भनेर भन्नुपर्ने आफूहरुको भनाई रहेको सुनाउँदै उनले भोलि बस्ने बैठक सुचारु गराउनको लागि कांग्रेस तयार रहेको सुनाईन् । तर, संसद चल्ने वा नचल्ने भन्ने कुरा सत्तापक्षमा भर पर्ने पनि जिकिर गरिन् ।

यस्तै राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सर्लाही घट्नाको विषयमा संसदीय छानबिन समिति गठन र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म संसद अवरुद्ध जारी रहने चेतावनी दिए । उनले भने, ‘संसद अवरोध गर्ने हाम्रो ईच्छा होईन । हामीले यो चाहेको छैन् ।’

उनले सर्लाहीमा भएका दुईवटै घट्ना गैरन्यायिक हत्या भएको टिप्पणी गरे । ‘अवैध धन्धा चलाएर ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने अनि त्यही खाल्डोमा पुरिएर बालकको ज्यान गएको छ ।’ उनले भने, ‘यो त मानवअधिकारको गम्भिर उल्लंघन हो ।’ समिति गठन गर्दा गैरन्यायिक हत्यामा सरकार संलग्न भएको कुरा सबैले थाहा पाउँछन् र आफू उदांगो भईन्छ भन्ने डरले समिति गठन गर्न सत्तापक्षले नमानेको पनि कर्णको गम्भिर आरोप छ ।

कर्णले सभामुखले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नको लागि सरकारलाई तीन पटकसम्म निर्देशन दिएको अवस्थामा अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारप्रति कडा आपत्ति जनाए । संसदको रोष्ट्रमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छु भनेर बोलिसकेको तर अहिलेसम्म सार्वजनिक नगरेकोमा कर्णले गुनासो पोखे ।

यता नेपाल कम्युसनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले भने कांग्रेस र राजपाले सर्लाहीका तीन वटा घट्नालाई लिएर संसद अवरुद्ध गर्नु नै गलत भएको बताए । मानवअधिकार आयोगले छानबिन गरेर प्रतिवेदन सार्वजनिक गर्न लागेको अवस्थामा फेरि अर्को छानबिन समिति बनाउन माग गर्नु गलत भएको पनि गुरुङको भनाई छ ।

सोमबार प्रतिनिधिसभा बैठक बस्ने विश्वास व्यक्त गर्दै उनले सदन सुचारु गर्न लागिपरेको बताए । उनले भने, ‘संसद अवरुद्ध गर्दा कांग्रेसलाई पनि घाटा छ । आफ्ना कुरा सदनमा राख्ने हो ।’

सर्लाहीमा असार ५ गते घटेको कुमार पौडेल हत्या प्रकरणको बारेमा संसदीय छानबिन समति गठन गर्नुपर्ने माग गर्दै राजपा र कांग्रेसले लगातार प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् ।