काठमाडौँ – मालपोत कार्यालय कलंकीका नायब सुब्बा हरि आचार्यले आत्महत्या गरेका छन् । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको घटनामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा धाइरहेका उनले शनिबार राती आत्महत्या गरेका हुन् ।


ADVERTISEMENT


आचार्यको शव आइतबार उदयपुरको त्रियुगा नगरपालिका–९ को रातामाटेको जंगलमा झुण्डिएको अवस्थामा भेटिएको हो । सोही नगरपालिका–१० घर भएका उनी काठमाडौंबाट शनिबार उदयपुर गएको बताइएको छ ।


ADVERTISEMENT

# # #


घटनाको अघिल्लो दिन काठमाडौंबाट आउने वित्तिकै आचार्य हराएको सूचना प्रहरीलाई आएको जिल्ला प्रहरी कार्यालय, उदयपुरका डीएसपी हरिकृष्ण केसीले बताए । डीएसपी केसीका अनुसार आचार्यको साथबाट दुई पृष्ठ लामो ‘सुसाइड नोट’ भेटिएको छ।

के छ ‘सुसाइड नोट’मा ?

आचार्यले ‘सुसाइड नोट’ मा ‘आफू निर्दोष रहँदारहँदै भ्रष्टाचार मुद्दा लगाइएको’ उल्लेख गरेका छन् । अख्तियार प्रमुख नवीन घिमिरेको नाम जोड्दै उनले ‘म कसैको दुई रुपैयाँसमेत नखाने चोखो मान्छेलाई भ्रष्टाचारी बनाउन खोजियो। अहिलेसम्म कसैको एक पैसा हिनामिना गरेको छैन, भ्रष्टाचार गर्ने कुरा त परै जाओस्। मलाई भ्रष्टाचारी देख्ने अख्तियार प्रमुख नवीनकुमार घिमिरेज्यू, २ सय वर्ष बाँच्नुस्, शुभकामना !,’’ भनेका छन् ।

यस्तै उनले ‘सुसाइड नोट’मा पारिवारिक कुराहरु समेत उल्लेख गरेको डीएसपी केसीले बताए ।

९२ रोपनी सरकारी जग्गा कीर्ते गरी हाउजिङका नाममा नामसारी गरेको भन्दै नायब सुब्बा आचार्यसहित कलंकी मालपोतका अधिकृत शिवप्रसाद रिमाल, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङका सञ्चालक रामकुमार सुयल थापा, मीनाकुमारी थापाका वारेश दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरूद्ध गत जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।