एजेन्सी – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु काश्मीर मामिलामा संविधानको ३७० धारा खारेज गर्नुलाई हिटलरले जस्तै अन्तिम कार्ड खेलेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


पाकिस्तान शासित काश्मीरको एसेम्बलीको विशेष सत्रलाई बुधबार सम्बोधन गर्दै उनले हिटलरले पनि उतिबेला नाजीहरुका लागि अन्तिम ‘सोलुसन’ बनाएको बताएका थिए ।


ADVERTISEMENT

# # #


उनले भारतले अब पाकिस्तान शासित क्षेत्रमा केही गर्ने तयारी गरिरहेको जनाउँदै युद्ध भएमा पाकिस्तान पुरै तयार रहेको समेत जनाएका छन् । उनले भारतका प्रधानमन्त्री मोदीको नाम लिएर इँटाको जवाफ पत्थरले दिने बताएका थिए । उनले भनेका छन्,“नरेन्द्र मोदीले जुन अन्तिम कार्ड खेलेका छन् यसपछि काश्मीर आजादीतिर जानेछ ।”

उनले मन्तव्यका क्रममा कैयौं पटक भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को नाम लिएका थिए । उनले भारतमा जे भइरहेको छ सबै आरएसएसको विचारधारा बमोजिम भइरहेको समेत बताए । उनले आरएसएसको विचारधारालाई जर्मनीको नाजीको विचारधारा जस्तै भएको आरोप लगाए ।

यस पटक पाकिस्तानले आफ्नो स्वतन्त्रता दिवस १४ अगस्टलाई ‘काश्मीर एकजुटता दिवस’को रुपमा मनाएको छ । उसले काश्मीरको सम्बन्धमा भारतले चालेको कदमको विरोधमा यो कदम चालेको हो । बुधबार पाकिस्तानका प्रधानमन्त्री खान पाकिस्तान शासित काश्मीरको राजधानी मुजफ्फराबादमा पुगेका थिए । उनलाई पाकिस्तान प्रशासित काश्मीरका राष्ट्रपति सरदार मसूद खान र प्रधानमन्त्री राजा फारुक हैदरले स्वागत गरेका थिए । उनलाई गार्ड अफ अनर पनि दिइएको थियो ।

भारतका प्रधानमन्त्री मोदीप्रति आक्रामक हुँदै उनले आरएसएसको विचारधाराले महात्मा गान्धीको हत्या गरेको र यसै विचारले अहिले आएर मुसलमानलाई कत्लेआम गरेको आरोप लगाएका थिए ।

मोदीले आखिरी कार्ड खेलेर ‘रणनीतिक ब्लन्डर’ गरेको बताउँदै खानले यो मोदी र भाजपाको लागि बहुत भारी पर्ने चेतावनी समेत दिएका छन् ।

उनले भने, “पहिला काश्मीरबारे कुरा गर्न मुश्किल थियो । अब दुनियाको नजर काश्मीरमा परेको छ ।” उनले भारतको अहिलेको शैलीले कसैलाई नोक्सान हुन्छ भने सबैभन्दा बढी भारतलाई नै हुने समेत जनाएका छन् । भारतमा अहिलेपनि १८ देखि १९ करोड मुसलमान भएकोले अहिलेको कदमले भारतलाई तवाहीतिर लग्नेसमेत उनले बताएका छन् । बीबीसी