नेकपा प्रदेश नं. १ का इन्चार्ज तथा नेकपा स्थायी कमिटी सदस्य भीम आचार्यसंग गरिएको कुराकानी :


ADVERTISEMENT


तपाईको पार्टीले नै देशमा सरकार चलाई रहेको छ । आफ्नो सरकारको गतिलाई कसरी हेर्नुभएको छ ?


ADVERTISEMENT

# # #


पार्टी सरकारमा छ । हामीले चुनावी घोषणापत्र र भाषणमार्फत जनतालाई धेरै आश्वासनहरु दिएका थियौँ । तर, हिजाका कतिपय कुरामा सुधार भएकोजस्तो देखिएतापनि मूलभूतरुपमा जनताको अपेक्षा अनुसार हामी अगाडी बढ्न सकेका छैनौँ । सरकार पनि नयाँ परिस्थित र नयाँ संविधान लागू गर्ने कुरामा अलमलिएको देखिरहेको छ । यो अलमललाई टुंग्याएर एउटा गुरुयोजनाका साथ अगाडि बढ्न जरुरी छ । त्यसका लागि हामीसंग यो वा त्यो को बाहाना गर्ने छुट छैन । सरकार त्यसरी अगाडि जानुपर्छ ।

चुनावी घोषणा अनुसार काम किन हुन सकेन ?

पार्टी एकताले सरकारका कामलाई पनि केही प्रभाव पार्यो । तर, अब त्यो टुंगिएको छ । विकास र समृद्धिको सपना पूरा गर्नका लागि नै जनताले हामीलाई भोट दिएका हुन् । त्यसमाथि घात गर्ने अधिकार कसैलाई छैन । सरकारले पार्टीसंग पनि छलफल गर्नुपर्छ । किनभने सरकार र जनताबीचको पुलको काम पार्टीले गर्ने हो । पार्टीका बैठक नहुने वा सरकारले पार्टीसंग छलफल नगर्ने प्रवृत्तिले गर्दा जनता र सरकारबीचको दूरी बढिरहेको छ । त्यो खाडल अन्त्यका लागि पार्टीसंग सहकार्य गर्न आवश्यक छ ।

सरकार सञ्चालन आलोपालो गर्ने भन्ने खालका अभिव्यक्तिहरु बेलाबेला उठ्ने गरेका छन् । यसमा के भन्नुहुन्छ ?

दुई अध्यक्षबीच सम्झौता के भएको छ, त्यो हामीले पनि हल्ला मात्रै सुनेको हो । त्यतीखेरको ‘अण्डर स्टाण्डिङ’लाई राम्रोसंग पालना गर्न आवश्यक छ । पार्टी हामीले यो चुनावका लागि मात्रै होइन, लामो समय चलाउने हो । त्यसका लागि नेताहरुका बीचमा भएका कुराहरुको पालना हुनुपर्छ ।

पार्टी एकता टुंगियो, तर सिद्धान्त के हुने भन्ने अझै विवाद देखिन्छ । यसलाई कसरी किनारा लगाउने ?

मलाई लाग्छ यो अनावश्यक अलमल हो । किनभने जबजलाई हामी पहिले नौलो जनवाद भन्थ्यौँ । पछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखा परेका समस्याहरु हेरेर हामीले उपुक्त कार्यक्रम ल्यायौँ जबज । त्यसलाई हामीले आदर्श सिद्धान्तका रुपमा मानेका छौँ । अहिले हामीले ६२/६३ को जनआन्दोलन गर्योँ भनेका छौँ । त्यो भनेको पूजीवादी, जनवादी क्रान्ति हो । गणतन्त्र आयो, संविधान बन्यो र हामीले अब समाजवादमा जाने भनेका छौँ । संविधानमै समाजवाद भनिसकेपछि जबज त लागू गर्ने हो । जबज भनौँ या २१ औँ शताब्दीको जनवाद भनौँ या जनताको जनवाद भनौँ, या नौलो जनवाद जे भनेपनि कार्यक्रम एउटै हो । त्यो हामीले कार्यान्वयन गर्ने कुरा हो । हामीले लडाईं गरेर पुग्ने ठाउँ त्यो होइन । पुग्ने ठाउँ भनेको समाजवाद हो । त्यसकारण यी जे विवाद निकाल्न खोजिएको छ, त्यो बेकारको कुरा हो ।

हामी संघियतामा गएका छौँ । पछिल्लो समय प्रदेशहरुका काम कारबाहीप्रति पनि प्रश्न उठ्न थालेका छन् । यो कत्तिको गम्भीर विषय हो ?

यसमा मैंले सबै मानिसहरु अल्मलिरहेको देखेको छु । सातवटै प्रदेश सरकारहरु अल्मलिरहेका छन् । हामी प्रदेश सरकार बनाउँछौँ भनेपछि राम्रो तयारी गनुपर्थ्यो । कानुन बनाइयो भन्नेछ । कानुन बनाउन एक वर्ष लाग्छ ? फुर्सदले बनाउने हो र ? एक महिनामा यी सबै काम गर्न सकिन्थ्यो । तीन महिनामा सबै कानुन संसदबाट पास गर्न सकिन्थ्यो । १० वर्षमा मुलुकलाई अर्कै ठाउँमा पुर्याउने हाम्रो योजना हो । एउटा कानुन बनाउन एक वर्ष लाग्ने हो भने त्यो लागू गर्न कति वर्ष लाग्छ ? त्यसको परिणाम निकाल्न कति लाग्छ ? यो अलमल अब हुनुहुँदैन  ।

तपाई नेकपाको प्रदेश एकको नेतृत्वमा हुनुहुन्छ । प्रदेशमा पनि तपाईकै पार्टीको नेतृत्व छ । त्यहाँका काम कसरी अगाडि बढिरहेको छ ?

पार्टीको कामको सन्दर्भमा हाम्रो कमिटि नै ढिला गठन भयो । त्यसपछि हामीले तल्ला कमिटि बनाउने अभियान चलाएका थियौँ । एउटा जिल्लाबाहेक हामीले सबै काम सम्पन्न गरेको छौँ । एउटा उदयपुरको बाँकी छ । माथि केन्द्रबाट कतिपय निर्णयहरु गरिदिनुपर्ने भएका कारणले केही काम अल्झि पनि रहेका छन् । प्रदेश सरकारको कुरामा त सबै प्रदेश अल्मलिरहेका छन् । पार्टीको कमिटि पूर्ण नभइसकेकाले हामीले प्रदेश एक सरकारलाई निर्देशन दिन मिलेन । तर, हामीले केही सरसल्लाह गर्ने काम भइरहेका छन् ।