काठमाडौं – चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । उनीहरुले लामिछानेको रिहाईको माग गरेका छन् ।


ADVERTISEMENT


शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रियामा बोल्दै कलाकारहरुले यस्तो बताएका हुन् ।हाँस्यकलाकार, अभिनेता तथा फिल्म निर्माता दिपकराज गिरीले रवि लामिछाने भोलि रिहाई हुने कामना गरे । उनले भने, ‘अब रविजीको बारेमा बोल्दाखेरि, मैले मेरो फेसबुकमा पनि लेखेको थिएँ, त्यस्तै पीडाबाट म पनि गुज्रिरहेको व्यक्ति हुँ । त्यो पीडा मैले नजिकबाट आत्मसात गरेको छु ।’


ADVERTISEMENT

# # #


उनले देशको कानुनमै दोष रहेको भन्दै आरोप लगाउँदैमा कोही दोषी नहुने बताए । ‘आक्षेप लगाउने मान्छे १०० प्रतिशत सत्य हुँदैन् । कानून सुधार गर्नुपर्छ ।’ उनले भने, ‘यदि कोही मान्छेले म त मर्छु र अरुलाई पनि दुःख दिन्छु भन्यो भने धेरै मान्छे कष्टडीमा हुन्छन् ।’

गिरीले आत्महत्या भनेको आफैंमा अपराध भएको सुनाए । ‘यो केशमा भोलि न्याय हुनेछ । रविजीले भोलि न्याय पाउनुहुन्छ ।’–उनले थपे । उनले कानूनमै सुधार गर्नुपर्नेमा जोड दिए । तर, उनले भीडले न्याय नदिने कुरामा आफू विश्वस्त रहेको सुनाए ।

अर्का कलाकार निखिल उप्रेतीले विशुद्ध नेपाली झण्डामुनि बसेर सत्य बोल्ने मान्छेले नेपालमा दुःख पाउने सुनाए । उनले पछिल्लो समय मानवता खत्तम भएको र सत्य भन्ने चीज हराएको सुनाए । उप्रेतीले भने, ‘हामी सत्यको पक्षमा लडौं ।’ देश र जनताप्रति राजनीतिक गर्ने व्यक्तिहरु ईमानदार हुनुपर्ने उनको भनाई छ । तर, शक्तिकेन्द्रित भएपछि मान्छे नशामा केन्द्रित हुने उनले प्रष्ट्याए ।

उनले अघि थपे, ‘रविजी त पपुलर हुनुहुन्थ्यो । आफ्नो आवाज प्रष्ट भनिरहेका छन् । कानूनको व्याख्या नै गलत छन् भने कानूनले कसरी काम गर्छ ? हामी रविजीको पक्षमा एकजुट हौं । धेरै विश्लेषण नगरौं ।’ उनले नेपालमा सही व्यक्ति र पार्टीको रंग नलागेको व्यक्तिलाई अप्ठ्यारो अवस्था रहेको सुनाए ।

अर्का कलाकार रमेश उप्रेतीले रवि लामिछाने पक्राउ प्रकरणमा छिटोभन्दा छिटो छानबिन हुनुपर्ने माग गरे । उनले भने, ‘छिटोभन्दा छिटो छानबिन होस् । यो केश कोर्टमा गैसक्यो । प्रेसर दिएर राम्रो निर्णय ल्याउँदैन् ।’

उनले रवि लामिछाने स–सम्मान छुट्नुहोस भनेर प्रार्थना गर्न आग्रह गरे । तर, यो प्रकरणमा दोषी भए रविले पनि सजाय पाउनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा कलाकार निर्मल शर्मा ‘गैंडा’ ले पनि रवि लामिछाने निर्दोष रहेको भन्दै भोलि रिहाई हुने विश्वास दिलाए । त्यस्तै अर्का कलाकार अनुराग कुँवरले रवि लामिछानेले न्याय पाउनुपर्ने धारणा राखेका थिए । उनले भने, ‘रविजी निर्दोष हुनुहुन्छ । उहाँले न्याय पाउनुपर्छ ।’

यस्तै पत्रकार ऋषि धमलाले आफू पनि रवि लामिछानेले न्याय पाउनुपर्ने पक्षमा रहेपनि मुद्दालाई निष्पक्ष ढंगले छानबिन गर्न दिनुपर्ने बताए । ‘म रविजीको पक्षमा छु । रिहाईको लागि म आग्रह गर्दछु । तर, मुलुकमा कानूनको शासन छ । म न्यायमूर्तिप्रति विश्वास राख्दछु’ उनले भने । उनले स्वतन्त्र र निश्पक्ष रुपमा छानबिन गर्न दिनुपर्ने भन्दै दबाब र भीडले छानबिन प्रक्रियामा असर पुर्याउन नहुनेतर्फ सचेत गराए ।