काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले मन्त्रीपरिषद्को बैठक भिडियो कन्फेरेन्समार्फत गरेकोप्रति आपत्ति जनाएको छ ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मन्त्रीपरिषद्को बैठक कार्यविधि संशोधन गरेर भिडियोमार्फत मन्त्रीपरिषद् बैठक गर्नु बिल्कुलै अनुचित भएको बताएका हुन् । उनले यस्तो मन्त्रीपरिषद्को बैठकजस्तो संवेदनशील कुरामा पनि सरकार संवेदनशील बन्न नसकेको भन्दै उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो कार्यभार सम्हाल्नुभन्दा अघि गोपनियताको सपथ खाने प्रावधान छ । यसबाट सूचना पनि चुहिने, र गोपनियता पनि चुहिने ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्री उपचारका लागि बाहिर गएको र उनको अनुपस्थितिमा कार्यबाहक प्रधानमन्त्री पनि तोकिएको अवस्थामा भिडियोमार्फत मन्त्रीपरिषद् बैठक गरिएको प्रति उनले गम्भीर आपत्ति जनाए । ‘हामीले सुन्यो, भिडियो कन्फेरेन्समार्फत बैठक गरिएको छ । भिडियो हेर्दा एकातिर प्रधानमन्त्री पनि सक्रिय हुनुहुन्छ, अर्कोतिर कार्यबाहक प्रधानमन्त्री पनि तोकिएको छ । यो आफैमा पनि नकिल्ने कुरा भयो’ उनले भने ।

यस्ता खालका गम्भीर गल्ती नगर्न उनले सरकारलाई सुझाए । ‘भिडियो कन्फेरेन्स मार्फत मन्त्रीपरिषद् बैठक गर्न मिल्ने भए यदि कुनै दिन सभामुख पनि हुनुभएन भने यो प्रतिनिधिसभा बैठक पनि बस्नसक्छ सम्मानीय सभामुखज्यू ?’ उनले प्रश्न गरे, ‘यस्तै राष्ट्रिय सभाका अध्यक्ष पनि नहुनु होला । भिडियोबाटै राष्ट्रियसभा सञ्चालन गर्न मिल्छ ? प्रधानन्याधीश विदेश जानुहोला, न्यायपालिकाको बैठक पनि भिडियोमार्फत नै गरिदिनु होला । त्यसकारण यो बिल्कुलै अस्वभाविक छ ।’

उनले मन्त्रीपरिषद्को बैठक भिडियोबाटै गर्न सकिने गरी संशोधन गरिएको नियम अबिलम्ब संशोधन गरेर पहिलेकै अवस्थामा लिन उनले माग गरे । उनले सरकारले उच्च प्रविधिको प्रयोग नभई दुरुपयोग गरेको दाबी गरे ।

सरकारको कार्यसम्पादन नियमावली २०६४ लाई संशोधन गरेर प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेको बेला भिडियो कन्फ्रेन्सलगायतका प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था गरिएको थियो । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्रीको अध्यक्षतामा सोमबार मात्रै भिडियोमार्फत पहिलो पटक मन्त्रीपरिषद्को बैठक बसेको थियो ।