काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाईल फोनमा समेत संवाद नगर्न सचेत गराएका छन् ।


ADVERTISEMENT


मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्वीर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कारबाही गर्न विमानस्थल नेतृत्वलाई कडा निर्देशन दिएका हुन् । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आईतबार काठमाडौंमा उद्घाटन गर्दै उनले कुनै पनि दाग लागेका कर्मचारीहरुलाई सो विमानस्थलमा नराख्ने स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


मन्त्री भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनीसमेत दिएका छन् । सो विमानस्थलका अनुशासनहिन कर्मचारीलाई कार्वाहीको दायरामा ल्याउन सिसिटिभी क्यामेराको थप व्यवस्था गर्ने पनि मन्त्री भट्टराईको योजना छ ।

मन्त्री भट्टराईले सो विमानस्थल मुलुकको ईज्जतसँग जोडिएकाले पनि यसका कर्मचारीहरु बढि अनुशासित हुनुपर्ने पनि बतए । मन्त्री भट्टराईले सेवाग्राहीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको व्यवहारप्रति नकारात्मक टिप्पणी गर्ने गरेकाले सरकारले त्यसमा सुधार ल्याउन सो प्रशिक्षण कार्यक्रम सुरु गरिएको पनि स्पष्ट पारे ।

उनले ६ दिनसम्म चल्ने सो प्रशिक्षण कार्यक्रमले त्यहाँ कार्यरत कर्मचारीहरुको काम गर्ने शैलीमा पनि सुधार आउने विश्वास व्यक्त गरे । प्रशिक्षण कार्यक्रममा सो विमानस्थलका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीहरु सहभागी भएका छन् ।