काठमाडौँ– तीजको दिन पशुपतिनाथ मन्दिर दर्शनका लागि आउने भक्तजनको भीडलार्इ लक्षित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सो क्षेत्र र आसपासका सडकमा सवारी प्रवेश निषेध गरेको छ ।


ADVERTISEMENT


पशुपति क्षेत्र र आसपासका रुट हुँदै चल्ने सवारी साधनका विभिन्न ठाउँमा अवरुद्ध हुने भएकोले ती रुटहरुमा चल्ने सवारी साधनका लागि महाशाखाले नयाँ रुट व्यवस्थापन गरेको छ । तीजको दिन चाबहिलदेखि तीलगंगासम्मको चक्रपथ समेत अवरुद्ध हुनेछ । महाशाखाले बागमती करिडोरका केही रुटमा पूर्ण प्रतिबन्ध तथा अन्य केही रुटमा निश्चित स्थानसम्म मात्रै सवारी प्रवेशको व्यवस्था गरेको छ ।


ADVERTISEMENT

# # #


महाशाखाले गरेको नयाँ रुट व्यवस्थापन अनुसार तीजको दिन रातोपुल–गौशाला–चाबहिल हुँदै बौद्धतर्फ चल्ने सवारी साधन पुरानो बसपार्क–भोटाहिटी–जमल हुँदै लाजिम्पाट–नारायणगोपाल चोकदेखि चाबहिल हुँदै बौद्धतर्फ जान पाउनेछन् ।

यसैगरी नयाँबानेश्वर–तीनकुने भएर चक्रपथ परिक्रमा गर्ने सवारी साधनलाई पुरानो बसपार्क–भद्रकाली–माइतीघर बानेश्वर हुँदै सिनामंगलसम्म र सोही रुट भएर फर्कने व्यवस्था गरिएको छ । यसैगरी श्ंखमूल–नयाँबानेश्वर हुँदै पुरानो बानेश्वरबाट गौशाला निस्कने सवारी साधनलार्इ पुरानो बानेश्वरबाट सेतोपुलतर्फ डाइभर्ट गरी धोबिखोला करिडोरको बाटोबाट कालोपुल निस्कने व्यवस्था मिलाइएको छ ।

उता तीनकुनेबाट गौशाला भएर चल्ने मालवाहक सवारी साधनलाई तीजको दिन दिनभरि नै निषेध गरिएको छ, यस्ता सवारीलाई वैकल्पिक रुट दिइएको छैन । रातोपलु–गौशाला हुँदै चल्ने माइक्रो बस र टेम्पोहरूलाई भने रत्नपार्क–भद्रकाली–जमल हुँदै सानो गौचरण–कालोपुल–सिफल र त्यहाँबाट चाबहिल निस्कने व्यवस्था गरिएको छ ।

तीजको दिन पशुपति मन्दिरमा भक्तालु एव‌ं दर्शनार्थीको भीड हुने भएकाले सोको व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषले आवश्यक तयारी गरिसकेको जनाएको छ । कोषले दर्शनार्थी एवं तीर्थयात्री र पर्यटकका तिलगंगामा पार्किङको व्यवस्था गरेको छ भने सरकारी सवारीसाधनलाई प्रहरी प्रभाव गौशालामा पार्किङको व्यवस्था गरिएको जनाएको छ।