– निर्मलराज पौडेल, वेलकम ग्रुपका अध्यक्ष एवं पूर्वअध्यक्ष नेपाल विज्ञापन संघ


ADVERTISEMENT


पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?


ADVERTISEMENT

# # #


अब दशैँ आउन लागेकोले अहिले विज्ञापन निर्माणमा व्यस्तता बढेको छ । यस्तै एकदुई वटा ‘रियालिटी शो’हरुको काम पनि अगाडि बढेको छ । निकट भविष्यमा नै फिल्म महोत्सव भनेर वीरगञ्जमा हुँदैछ । त्यसको आयोजना पनि वेलकम एडभर्टाइजिङले नै गर्दैछ । यस्तै कार्यक्रमहरु भइरहेको छन् ।

नेपालको विज्ञापन क्षेत्रमा तपाईले लामो अनुभव संगाल्नुभएको छ । नेपाली बजारमा विज्ञापनको अवस्था कस्तो छ ? यसलाई कसरी नियाली रहनु भएको छ ?

यो एकदमै दुखलाग्दो कुरा छ । दैनिक रुपमा विज्ञापनको अर्थतन्त्र वृद्धि हुनुपर्नेमा खस्किँदै गइरहेको अवस्था छ । अर्बको बजेट करोडमा झरेको छ । विज्ञापन बजार अहिले भयावह अवस्थामा छ ।

यस्तो अवस्था आउनुका कारणहरु के के हुन् ?

यसका दुईचारवटा कारणहरु छन् । एउटा बैँकिङ्ग नीतिहरु, अर्को लामो समयदेखि भुक्तानी नभएको बिजुलीको डेडिकेट लाईनको पैसा एकैपटक तिर्नुपर्ने भएकाले सिमेन्ट, स्टिल उद्योगहरुले विज्ञापनको पैसा कटौती गरेर उतापट्टी लगाएका छन् । अर्को महत्वपूर्ण भनेको उत्पादन नहुनु हो । सबै सामानहरु बाहिरबाट आयात गरिने र हाम्रो केही पनि नहुने अवस्थाले गर्दा विज्ञापन धेरै हुन नसकेको हो । यसरी स्वदेशी उत्पादनको विज्ञापन हुन पाएन । यस्तै विदेशी कम्पनीहरुले विदेशमा विज्ञापन गरे पनि नेपालमा गर्नु नपर्ने अवस्थाले गर्दा पनि यो भएको हो ।

यसलाई कसरी सुधार गर्न सकिन्छ ?

अर्थतन्त्रलाई टेवा दिने हो भने विज्ञापनलाई अनिवार्य गर्नुपर्छ । जस्तो छिमेकी मुलुक भारतमा यदि कसैले स्वदेशी उत्पादनको विज्ञापन गर्छ भने त्यसमा करमा सुविधा दिइएको हुन्छ । उत्पादनहरुलाई खुल्ला प्रतिस्पर्धा गर्ने अवधारणा ल्याउनुपर्छ ।

अहिले बियरहरुको विज्ञापनमा रोक लगाइएको छ । यसलाई रोकिनु हुँदैन । बरु यसका लागि ‘लेटनाइट’ अवधारणा लागू गर्न सकिन्छ । अमेरिकामा बियरहरुको खुला रुपमा विज्ञापन गरिन्छ । तर, हाम्रोमा यसलाई मदिराका रुपमा लिइन्छ । भविष्य राम्रो भएपनि वर्तमान सन्तोषजनक छैन ।

सरकारले विदेशी च्यानलहरु विज्ञापनरहित हुनेगरी ‘क्लिन फिड’नीति ल्याउँदैछ । यो तपाईकै अवधारणा हो पनि भनिन्छ । ‘क्लिन फिड’ भनेको के हो ? 

क्लिन फिड भनेको हामीले विदेशी च्यानलहरु पैसा तिरेर हेर्छौं । यदि हामीले विदेशी च्यानल हेरेवापत पैसा तिर्छौँ भने विज्ञापन किन हेर्ने ?

विज्ञापन नभई कार्यक्रम मात्रै आउनु भनेको क्लिन फिड हो । संसारमा दुई किसिमका च्यानल हुन्छन् । एउटा ‘पे च्यानल’ हुन्छ । जसलाई हामीले पैसा तिरेका हुन्छौँ,  त्यसमा विज्ञापन आउनु हुँदैन।

अर्को  ‘फ्रि टु एयर’ जसका लागि पैसा तिर्नुपर्दैछ तर कार्यक्रमका बेला विज्ञापन आउँछ । अहिले पैसा तिरेर विज्ञापन किन हेर्ने भन्ने सवाल उठेको हो । त्यसै अनुसार ‘क्लिन फिड’ नीति ल्याइन लागिएको हो । यस्का लागि मैले धेरै पहिले देखि आवाज उठाउँदै आएको हुँ ।

यसको सफल कार्यान्वयन जरुरी छ ।  नीति त आउँदैछ । तर, यो पूरानै ढर्रामा हालेको जस्तो छ । विज्ञापन बोर्ड गठन गर्नुपर्नेछ । त्यहाँ नेतृत्वमा विज्ञापनसंग सम्बन्धित व्यक्ति पुगेमा राम्रै हो । तर राजनीतिक नियुक्ति भयो भने त्यसको औचित्य हुँदैन ।

विज्ञापनको बजार सुधार गर्न यसको भूमिका के रहला ?

जहाँसम्म क्लिनफिडले विज्ञापनको बजार सुधार गर्नसक्छ कि सक्दैन भन्ने कुरामा मलाई लाग्छ सत प्रतिशत त बढ्नै पर्छ । किनभने एउटा उदाहरण: कोक, पेप्सीहरु नेपाली पानी बेचेर खर्बौँ रुपैया कमाउँछन् । तर, विज्ञापनमा एक रुपैयाँ पनि खर्चिँदैनन् ।

अन्तर्राष्ट्रिय बजारमा उत्पादनको ५ प्रतिशत विज्ञापनमा लगाउने प्रावधान छ ।  यदि एक खर्बको सामान बेच्ने पेय यपदार्थले ५ प्रतिशत मात्रैको विज्ञापन गर्ने हो भने ५ अर्ब रुपैयाँ विज्ञापनमा खर्च हुन्छ ।

काठमाडौँमा मात्रै हल्दीरामको भूजिया एक अर्बको बिक्री हुन्छ रे । आजसम्म उनीहरुले विज्ञापनमा एक रुपैयाँ लगानी गरेको देख्नुभएको छ ? उल्टै भारतमा गरेको विज्ञापन शुल्कसमेत हामीबाटै ठगिरहेका छन् । नेपालीले भारतीय च्यानल हरिहाल्छन् भनेर उनीहरु विज्ञापन नेपालमा गर्नुभन्दा भारतमै गर्छन् ।

यदि भारतीय च्यानल क्लिनफिड भएर आउने हो भने नेपालमा बिक्रि गर्ने जुनसुकै कम्पनीले पनि विज्ञापन नेपालमा गर्नु पर्यो नि । अहिले नाडा अटो शो चल्यो। यो बेला यति मात्रै विज्ञापन हुन्थ्यो ? क्लिन फिड हुने हो भने अहिले विज्ञापनको उत्सव नै लाग्थ्यो । अहिले उनीहरुले हाम्रो यहाँ स्टल छ भनेर मात्रै विज्ञापन गरिरहेको छन् । ती अन्तर्राष्ट्रिय कम्पनीबाट ५ प्रतिशत मात्रै बजेट आउने हो भने पनि नेपालको अहिलेको बिज्ञापन बजार दोब्बर हुन्छ ।

तपाई उपभोक्ता संगठनको पनि प्रतिनिधित्व गर्नुहुन्छ । विज्ञापन कस्तो हुनुपर्छ ? उपभोक्ताको लागि वा कम्पनीको लागि ?

विज्ञापन दुई किसिमले बन्ने हो । एउटा ग्राहकको सन्तुष्टिका लागि र अर्को कम्पनीको सन्तुष्टिका लागि । तर, नेपालजस्तो सानो बजार भएको देशमा ग्राहकको सन्तुष्टिका लागि बनेका विज्ञापनहरु न्यून मात्रामा छन् ।

अन्तर्राष्ट्रिय बजारमा उपभोक्तालाई हेरेर, सर्वे गरेर बनाइन्छ । ग्राहकलाई मन पर्यो भने त्यो विज्ञापन बजाइन्छ । जसको सुरुवात नेपालमा हामीले नै गरेका छौँ । जस्तो जगदम्बा स्टिलको विज्ञापन । जुन निकै लोकप्रिय भयो । त्यो विज्ञापनले जगदम्बालाई नै लोकप्रिय बनाइदियो ।

तपाई आफ्नो यहाँसम्मको व्यावसायिक यात्रालाई कसरी सम्झिनुहुन्छ ?

१३ वर्षको उमेरमा म हास्यव्यग्य गर्थें । मेरो एकजना रतन सुवेदी भन्ने साथी हुनुहुन्थ्यो । उहाँ १४-१५ वर्षको हुनुहुन्थ्यो । हामी दुईजना प्यारोडी गाउँथ्यौँ । त्यतीबेला हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त लगायतका ठूला कलाकारसंग पनि मैँले काम गर्ने मौका पाएँ । त्यसपछि मैँले सन्तान, आमाको माया, सौता लगायतका धेरै फिल्ममा पनि काम गर्ने मौका पाएँ । त्यसपछि पनि मैँले विभिन्न पेशाहरु कहिले पसल राख्ने, कहिले कुखुरा पाल्ने काम समेत गरेँ । ती सबै व्यवसाय सफल भए ।

विज्ञापन पेसामा कसरी आइपुग्नुभयो ?

म फिल्म क्षेत्रमा काम गर्ने भएका कारण एउटा साथीको विज्ञापन बनाउनु पर्ने जिम्मेवारी आइपरेको थियो । उक्त विज्ञापनमा मैँले सुधांसु जोशीलाई पहिलो पटक खेलाएको थिएँ ।  अर्को  एउटा विज्ञापन बनाएँ ।

एउटा भारतीय साथी आएर यत्रो खुबी भएको मान्छेले किन आफ्नो विज्ञापन एजेन्सी नखोल्ने भनेपछि नै वेलकम एडभर्टाइजिङ एजेन्सी खोलेका हौँ । यसरी नै विज्ञापन क्षेत्रमा व्यवसायिक रुपमा लागेको हुँ । ३० वर्षदेखि नै यो सेवामा हामी छौँ । अहिलेसम्म मैँले ५ सयभन्दा बढी विज्ञापनहरु बनाइसकेँ । यसअवधिमा मैँले ‘विज्ञापन गुरु’ को उपनाम पनि पाइसकेको छु ।

विज्ञापन संघले पनि मलाई ‘एड गुरु’ भनेर सम्मान गरेको छ । विज्ञापन संघमा पनि मैँले नेतृत्व गर्ने अवसर पाएँ । पेशामा इमान्दार भएर लाग्यो भने सफल भइन्छ भन्ने कुरा मैँले आफैबाट सिकेको छु ।

सञ्चारमाध्याममा समाचार र विज्ञापन बीचको द्वन्द्व लामो समयदेखिको हो । समाचार कक्षमा बस्नेहरुले समाचार बढी होस् भन्ने गर्छन् भने व्यवस्थापन पक्ष त्यसको विपरित हुन्छ । एउटा विज्ञापन एजेन्सीका हिसाबले यसमा के भन्नुहुन्छ ?

यो विश्वभरि नै छ । सबैको आ–आफ्नो जिम्मेवारी र फरकपन हुन्छ । मिडियालाई बचाउने पनि विज्ञापनले नै हो । विज्ञापन कम्पनीहरुले आफ्नो केही न केही प्रचार होस् भनेर नै विज्ञापन दिने हो । त्यसकाण मार्केटिङकोले आफ्नो हिसाबले दबाद दिनु र समाचारले समाचारको हिसाबले दबाब दिनुलाई सामान्य रुपमा हेर्न सकिन्छ ।

अन्त्यमा, के भन्नुहुन्छ ?

उद्योगहरु अहिले आफ्नो उत्पादित वस्तुहरु हेरौँ र कुरौँ भन्ने अवस्थामा छन्  । मैँले आफ्नो ३० वर्षे अनुभवको एउटा किस्सा सुनाउँछु । २९ दिने जनआन्दोलन हुँदै गर्दा मैँले जगदम्बा स्टिललाई आफ्नै अफिसमा बोलाएर  यो बेला सम्पूर्ण कार्यालय बन्द छन्, विज्ञापन बन्द छन्, तपाईहरु व्यापक विज्ञापन गर्नुहोस् भनेको थिएँ । कर्फ्यु लागेको छ, मान्छेहरु बाहिर निस्किन सकेको छैनन् । सबैले घरमा बसेर टेलिभिजन हेर्छन् व्यापक विज्ञापन योजना बनाउनुहोस् दर्शकको संख्या बढी हुन्छ भनेर ग्यारेन्टी गरेपछि व्यापक विज्ञापन गरियो । तपाईहरुलाई थाहा छ भने त्यतीबेला जुन टेलिभिजन हेरेपनि जगदम्बा स्टिल आउथ्यो । यसले पनि परिचित र लोकप्रिय बनाउन सहयोग गर्यो । अहिले पनि बजार छैन वा बजारको स्थिति कमजोर छ भनेर विज्ञापन बजेट घटाउनु भनेको आफ्नो उत्पादित वस्तुलाई कमजोर बनाउनु हो ।

बिज्ञापनले नै बस्तु र उपभोक्तालाई जोडेकै हुन्छ । हामी त्यसको तुईन बन्न सँधै तयार छौं ।