काठमाडौँ – श्रीलंकामा जारी यू-१९ एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमै हार व्यहोरेको छ । नेपाल शुक्रबार आयोजक श्रीलंकासंग पाँच विकेटले पराजित भएको हो ।


ADVERTISEMENT


कोलम्बोस्थित आर प्रेमदसा क्रिकेट मैदानमा वर्षाले प्रभावित भएपछि ४२ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिङ थालेको नेपालले पूरै ओभर खेल्दै ९ विकेट गुमाएर १५९ रन मात्रै बनाउन सक्यो । १६० रनको सामान्य लक्ष्य पच्छ्याएको श्रीलंकाले आक्रामक सुरुवात गर्दै ३३.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।


ADVERTISEMENT

# # #


श्रीलंकाका लागि कामिल मिसाराले उत्कृष्ट खेले । उनले ६२ बलमा ३ चौका र २ छक्काको मदतमा ५५ रन बनाए । यस्तै अहान विक्रमसिंगेले ३० रन बनाउँदा अभिस्क थारिन्डुले नटआउट २५ रन जोडे । यस्तै निपुन पेरेरा १८, रविन्दु डी सिल्भा १५ र नवोद प्रानभिथानाले १२ रन हाने ।

नेपालका लागि राशिद खानले दुई विकेट लिए भने पवन सर्राफ, कमलसिंह ऐरी र सागर ढकालले समान १-१ विकेट लिए । यसअघि ब्याटिङतर्फ नेपालको सुरुवात नै खराब रह्यो ।

१६ रन बनाउँदा पहिलो विकेटका रुपमा पवन सर्राफलाई व्यक्तिगत ४ रनमा गुमाउँदा नेपालले थप ८ रन नजोड्दै आशिफ शेखलाई व्यक्तिगत ७ रनमा गुमायो । १२ बलमा उनले एक चौका हाने ।

दबाबमा रहेको नेपालका लागि रित गौतम र कप्तान रोहित कुमार पौडेलले सम्हालेर ब्याटिङ गरे । ६.५ ओभरमा २४ रन बनाउँदा २ विकेट गुमाएको नेपालका लागि उनीहरुले ९१ रनको महत्वपूर्ण साझेदारी गरे । त्यसक्रममा रितले अर्धशतक हाने । तर, २९.१ ओभरमा ११५ रन बनाउँदा रित आउट भएपछि नेपालको पतन सुरु भयो । उनले ८६ बलमा ४ चौकाको मदतमा ५४ रन हाने ।

त्यसपछि रोहितले हरि चौहानसंग २० रनको साझेदारी गरे । तर, ३४.४ ओभरमा उनी आउट भए । अर्धशतक बनाउन ३ रनले चुकेका उनले एक चौका मात्रै हान्न सके । त्यसपछि नेपाल सम्हालिन सकेन । थप २४ रन जोड्दा नेपालले अरु ५ विकेट गुमाउन पुग्यो । हरि चौहान १२ रनमा आउट हुँदा भीम सार्की (१), कुशल मल्ल (२), कमल सिंह ऐरी (२), सागर ढकाल (१)ले टिमलाई कुनैपनि योगदान दिन सकेनन् ।

राशिद खानले १५ रन बनाए । नटआउट रहेका उनले २२ बलमा १ छक्का हाने । जुन नेपाली ब्याट्सम्यानले हानेको एक मात्र छक्का थियो । सूर्य तामाङ १ रनमा नटआउट रहे ।

श्रीलंकाका लागि दिलशान मदुशंक र नावोद दिन्सुरीले समान ३/३ विकेट चट्काए । यस्तै रोहान सञ्जय शिल्भा र असियन डेनियलका नाममा १/१ विकेट रह्यो । नेपालले अर्को खेल आइतबार बंगलादेशविरुद्ध खेल्नेछ ।