काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौँ उपत्यका लगायतका सहरी क्षेत्रका घरबेटीलाई भाडामा बस्नेबाट विद्युतको महसुल बढी लिएर व्यापार नगर्न आग्रह गरेका छन् ।


ADVERTISEMENT


आइतबार प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा घिसिङले तोकिएको भन्दा बढी दरमा भाडावालासँग महसुल नलिन घरबेटीसँग आग्रह गरेका हुन् । ‘प्राधिकरणसँग विद्युत् लिएर मनलाग्दी तवरले व्यापार नगर्नूस्, जति महसुल उठेको हो, सोही अनुसार मात्रै घर बहालमा बस्नेसँग महसुल लिनूस् ।’ उनले भने, ‘तोकिएको भन्दा बढी दरमा भाडा असुल्नु गैरकानूनी हो । प्राधिकरणसँग निश्चित दरमा किनेको बिजुली त्योभन्दा बढीमा बेचेर व्यापार गर्न पाइँदैन ।’


ADVERTISEMENT

# # #


उनले घर बहालमा बस्नेहरुलाई विजुलीको दरररेटबारे जानकारी लिएर त्योभन्दा बढी नतिर्न आग्रह गरे । प्राधिकरणले २० युनिटसम्मको विद्युत्मा रु ३० सेवा शुल्क लिएको छ भने प्रतियुनिट रु तीनका दरले लिने गरेको छ । यस आधारमा २० युनिट विद्युत् प्रयोग गर्नेले रु ९० महसुल तिर्नुपर्छ । यस्तै २१ देखि ३० युनिटसम्म सेवा शुल्क रु ५० र प्रतियुनिट रु सातका दरले लिने गरेको छ । यस आधारमा रु १२० महसुल तिर्नुपर्छ । यस्तै ३१ देखि ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकले सेवा शुल्क रु ७५ र प्रतियुनिट आठ रुपैयाँ ५० पैसाका दरले तिर्नुपर्छ ।

प्राधिकरणको महसुल दरअनुसार ५१ देखि १५० युनिटसम्म खपत गर्ने ग्राहकले सेवाशुल्क रु १०० र प्रतियुनिट रु १० का दरले तिर्नुपर्छ । एक सय ५१ देखि २५० युनिटसम्म सेवा शुल्क रु १२५ र प्रतियुनिट रु ११, २५१ देखि ४०० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकले सेवा शुल्क रु १५० प्रतियुनिट रु १२ र त्यसभन्दा माथि सेवा शुल्क रु १७५ र प्रतियुनिट रु १३ का दरले तिर्नुपर्ने व्यवस्था छ ।

सो महसुल पाँच एम्पियर विद्युत् लिने ग्राहकको हकमा लागू हुने गरेको छ । यस्तै १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरको महसुलमा भने सामान्य बढी मात्रै रहेको छ । तर शहरी क्षेत्रमा घर बहालमा बस्नेले मनलाग्दी शुल्क लिएको विषयमा गुनासो पनि आएको भन्दै प्राधिकरणले विद्युत्मा अनावश्यक व्यापार नगर्न भनेको हो ।