हेटौँडा – प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको सङ्कल्प पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएको आजको दिन चौथो संविधान दिवसका अवसरमा एक सन्देश दिँदै मुख्मन्त्री पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना व्यक्त गरेका छन् । “आजको दिनसम्म आइपुग्दा यो देशको परिवर्तनका लागि थुप्रै योद्धाले आफ्नो अमूल्य जीवनको बलिदानी दिनुभएको छ । संविधान दिवसका अवसरमा परिवर्तनको पक्षमा भएका अनेकन आन्दोलनमा शहादत प्राप्त गर्नुभएका महान् शहीदप्रति हार्दिक श्रदासुमन व्यक्त गर्दछु । घाइते तथा अशक्त योद्धाप्रति सम्मान व्यक्त गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ ।
नेपाली जनताको सदियौँ लामो बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त संविधानसभामार्फत निर्माण भएको संविधान कार्यान्वयनको चरणमा छ । यस क्रममा तीनै तहको निर्वाचन सम्पन्न भई जननिर्र्वाचित प्रतिनिधिमार्फत शासन व्यवस्था सञ्चालन भइरहेको छ । नागरिक अधिकार र राजनीतिक परिवर्तनका मुद्दालाई संविधानमा लिपिबद्ध गरेपश्चात् तीनै तहको सरकार जनअपेक्षा पूरा गर्ने अभिभारा पूरा गर्न क्रियाशील रहेको मुख्यमन्त्री पौडेलद्वारा सन्देशमा उल्लेख छ । उनले सन्देशमार्फत जनतालाई व्यवस्था परिवर्तन भएको अनुभूति दिनका लागि जनताको अवस्था बदल्नुपर्ने र तदनुरुपका योजना तथा कार्यक्रम बनाउनुपर्ने बताएका छन ्। यसका लागि प्रदेश सरकार इमान्दारिताका साथ लागिपरेको र आफ्ना नीति तथा कार्यक्रम सोही दिशामा केन्द्रित भएको उनले उल्लेख गरेका छन् ।
“सङ्घीयता हाम्रो लागि नयाँ अभ्यास हो । यस क्रममा सीमित स्रोत र साधनबीच आरम्भ भएको हाम्रो यात्रा केही अगाडि बढेको छ । वर्तमान संविधानले हाम्रो बाटो र गन्तव्य प्रस्ट पारेको छ । विकास र समृद्धि नै अहिले हाम्रो प्रमुख कार्यभार बनेको छ । प्रदेश नं ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको सङ्कल्प पूरा गर्न प्रतिबद्ध छ । यसका लागि हामी सबैको दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मिहिनेतको आवश्यकता छ । संविधान दिवसले हामीलाई यो लक्ष्य पूरा गर्न थप प्रेरणा दिने विश्वास छ” मुख्यमन्त्री पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।