काठमाडौं – कृषि तथा पशुपछी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले दशैंमा मासुको कुनै अभाव नहुने आश्वस्त पारेका छन् । सोमबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री खनालले दशैंमा देशभरि कतैपनि मासुको अभाव नहुने स्पष्ट पारेका हुन् ।


ADVERTISEMENT


उनले भने,‘काठमाडौं उपत्यकामा मात्रै ५५ हजार खसी बोका आवश्यकता हो, ४० हजार खसीबोका आउने भैसके । अब हामीलाई पर्याप्त हुन्छ । मासुको कुनै अभाव हुँदैन ।’ दशैं सुरु भएकोले सरकारले बजारमा अनुगमन बढाएको पनि उनले सुनाए ।


ADVERTISEMENT

# # #


चाडपर्व सुरु भएसँगै आपुर्तिमा असहजता भएको, व्यापारीको मनोमानी बढेको भन्ने गुनासो आएकोले कृषि मन्त्रालय र आपुर्ति मन्त्रालयले संयुक्त अनुगमन सुरु गरेको पनि उनको भनाई छ । उनले भने,‘आपुर्ति सहज बनाउनको लागि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले नियमित अनुगमन गरिरहेको छ ।’

काठमाडौंमा खसीको मासुको मुल्य अस्वभाविक रुपमा वृद्धि गरिएको भनेर गुनासो सुनिएकोले सरकारले खसीको मासुको मुल्यवृद्धिबारे नियमन गरिरहेको छ ।

खनालले मासुमा नेपाल आत्मनिर्भर हुने अवस्थामा रहेको सुनाए । उनले भने,‘हामीले आफ्नै उत्पादनले ७५ प्रतिशतसम्म धान्न सक्छौं । कुखुरामा आत्मनिर्भर छौं ।’ खसी, बोकाको मासुमा आत्मनिर्भर बन्नको लागि मन्त्रालयले यसपटक जोन, सुपरजोन चलाउने, लाईभ स्टक ईनोभेसनमा पनि खसी, बोका उत्पादन र कृषिमा युवा कार्यक्रम गरेर तीन वटा कार्यक्रम सुरु गरेको उनले सुनाए । आगामी तीन वर्षभित्र नेपाल खसी, बोकामा पनि आत्मनिर्भर हुने उनको दाबी छ ।
आफूहरुले बजार अनुगमनको कामलाई तिव्रताका साथ अघि बढाईएको सुनाउँदै केही मिठाई पसलले गुणस्तरहीन सामान बेच्ने गरेकोले गुणस्तरीयता कायम गर्न कडा निर्देशन दिएको पनि खनालले स्पष्ट पारे ।

भारत सरकारले प्याज निर्यात नगर्ने भनेर निर्णय गरेको भनेर बाहिर हल्ला भएपनि आधिकारिक रुपमा आफूहरुलाई यसबारेमा जानकारी नभएको उनले स्पष्ट पारे ।

आफूहरुले क्वारेन्टाईन चेकजाँच गरेर नै खशी, बोका भित्र्याउने गरेको पनि उनले सुनाए ।