काठमाडौं–चिनियाँ राष्ट्रपति सी जिनपिङले आत्मअनुशासन बलियो बनाउन नेकपा नेताहरुलाई सुझाव दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीमा आत्मअनुशासन बलियो रहेको भन्दै उनले नेपाल कम्युनिस्ट पार्टी नेकपामा पनि आत्मअनुशासन बलियो हुनुपर्नेमा जोड दिए ।


ADVERTISEMENT


राष्ट्रपति सी र नेकपाका नेताहरुबीचको सामूहिक भेटवार्तामा सीले नेपालको विकासलाई नजिकबाट नियालिरहेको र त्यसमा सहयोग गर्न चीन प्रतिबद्ध रहेको बताएको भेटपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


सीले जनता, पार्टी र सरकारबीचको समन्वयात्मक सम्बन्धलाई अगाडि बढाउनुपर्नेमा पनि सो क्रममा जोड दिएका थिए । सन् १९४९ मा शक्ति आर्जन गरेपछि मात्रै चीनले विकास गरेको नभइ समयानुकुल जनतासँग जोडिएर विकास गरेको उनको भनाइ थियो ।

जनतालाई जोडेर गरिएको विकासले जनता खुसी हुने र पार्टी तथा सरकार पनि बलियो हुने सीको भनाइ छ ।

छलफलका क्रममा नेकपा अध्यक्ष प्रचण्डले शब्दमा मात्र नभइ एक चीन नीतिप्रति नेपाल व्यवहारिक रुपमा प्रतिबद्ध रहेको बताए ।

चीनको विकासबाट नेपाल लाभान्वित हुन चाहेको भन्दै प्रचण्डले पार्टीस्तरमा पनि सहयोग विचार आदानप्रदान चाहेको बताए ।

सो अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच राजनीतिक रुपमा सम्बन्ध बढाउँदै लैजानुपर्नेमा सीले पनि सहमति जनाएका थिए ।

छलफलमा दुवै छिमेकी राष्ट्र आर्थिक विकासमा एकअर्काको सहयोगमा अगाडि बढ्नुपर्ने कुराकानी भएको सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले जानकारी दिए । ‘नेपाल जुन रुपमा आर्थिक समृद्धिका लागि अगाडि बढिरहेको छ त्यो निकै सकारात्मक कुरा रहेको बताउँदै यसमा चीन हरेक प्रकारको सहयोग गर्न तयार रहेको राष्ट्रपति सीले धारणा राख्नुभयो,’ खनालले रातोपाटीसँग बताए ।

दुई देशको सरकार–सरकार बीचको सम्बन्ध, जनता–जनताबीचको सम्बन्धलाई अझ बलियो बनाउन दुवै देश प्रतिबद्ध रहनु पर्ने कुरा दुवै पक्षबाट कुरा आएको उनले बताए ।

भेटवार्तामा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, सचिवालय सदस्यहरुः बामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका सहभागी थिए। सो भेटमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी थिएनन् ।