डा. शम्भुराम सिम्खडा, अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ

अन्तर्राष्ट्रिय सम्बन्धको दृष्टिकोणले हेर्ने हो भने नेपाल कुन स्थानमा छ ?


ADVERTISEMENT

# # #


कठीन स्थानमा छ । नेपाल देशको निर्माणकालदेखि नै एउटा अत्यन्त चाखलाग्दो प्रयोगशालाका रुपमा देखा परेको छ । पृथ्वी नारायण शाहले जतिबेला उत्तरमा विशाल चीन, दक्षिणमा उदयीमान वृटिश साम्राज्य । यी दुईटाको बीचमा हिमालदयको दक्षिण भागलाई र त्यो पनि ससाना राज्यहरुलाई एकिकरण गरेर नयाँ एकिकृत नेपाल राज्यको परिकल्पना मौलिक र महत्वपूर्ण किसिमको प्रयोग थियो । अहिलेसम्मपनि हामी एक किसिमको प्रयोगमै छौँ । खासगरी अन्तर्राष्ट्रिय सम्बन्धको हिसाबले हामी अहिले अत्यन्त जटिल अवस्थामा छौँ ।

हाम्रो दुइतिर दुई विशाल देशहरु छन् । जो वर्तमान अवस्थामा अर्थव्यवस्थाका एउटा उदयीमान राष्ट्रका रुपमा चिनिन्छन् । भौगोलिक र सांस्कृतिक दृष्टिकोणले नेपाल बढी भारततिर ढल्केको देखिन्छ । यहाँको विश्लेषण के छ ? कस्तो छ नेपाल भारत सम्बन्ध ?

यस विषयमा मेरो मौलिक दृष्टिकोण नै छ । मैँले अंग्रेजीमा भनेको छु जसको नेपाली हुन्छ– सामिप्यताले दुई देशबीचको सम्बन्ध गाढा बनाउँछ । तर, त्यो सामिप्यताले जटिलता पनि थप्छ र सम्बन्ध संवेदनशील पनि हुन्छ । अहिले त्यस्तै छ । हाम्रो सम्बन्ध घनिष्ट छ । महत्वपूर्ण छ । तर, जटिल र संवेशदनशील पनि छ ।

नेपाल र चीनबीचको ?

नेपाल र चीनबीचको सम्बन्धमा अहिलेलाई जटिलता र संवेदनशीलता कम छ । कारण के भने हाम्रो भारतसंगको जस्तो नजिकपन चीनसंग छैन । त्यसको कारण भाषा, भौगोलिक र सीमाको कठिनाईका कुराहरु होलान् । हाम्रो लनदेन भारतसंगै बढी छ । तर, यति हुँदाहुँदै पनि चीनसंगको सम्बन्ध महत्वपूर्ण छ । किनभने चीन अर्को नजिकको छिमेकी राष्ट्र हो । तर, मँले यो जटिलता र संवेदनशीलता अझै बढ्ने देखिरहेको छु । त्यसको उदाहरण म एउटा दिन्छु, अस्ति म बाहिर भएको बेला सुनेँ, नेपालमा एटीएममा लुट्ने काम भयो र त्यसमा चिनियाँहरु संलग्न थिए । त्यो कारणले वक्तव्य नै निकालेर हामी माफी माग्छौँ भनेको पनि सुनेँ । जब घनिष्ठता बढ्दै जान्छ, आवतजावत बढ्दै जान्छ, यसले पनि जटिलता ल्याउँछ ।

अमेरिकासंगको सम्बन्ध चाहीँ कस्तो छ ?

अमेरिका नेपालको दोस्रो सबैभन्दा पहिले दौत्यसम्बन्ध स्थापना भएको देश हो । त्यसकारण यो अन्यत्न महत्वपूर्ण सम्बन्ध हो । तर, अहिले अमेरिकालाई हामीलाई भारत र चीन भए पुग्छ भनेजस्तो लाग्छ । त्यसकारणले ऊ अलि चिन्तित छ । दोस्रो जनआन्दोलनको बेलामा अत्यन्त सक्रिय राजदूत यहाँ आएका थिए । उनको नाम जिम मोरियाट् थियो । उनको एउटा एउटा अन्तर्वार्ता छ । त्यसमा उनले के भनेका छन् भने नेपालमा जे भइरहेको छ, त्यसले अमेरिका नर्भस छ ।

पछिल्लो समय इण्डो प्यासिफिकको विषय बाहिर आएको छ । यसलाई कसरी हेर्नुहुन्छ ?

अमेरिकाले यो क्षेत्रको महत्वलाई ध्यानमा राखेर विगतको अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रबिन्दु युरोप थियो । तर, अहिले त्यो केन्द्रबिन्दु एशिया प्यासिफिकमा सरेको छ । त्यही एशिया प्यासिफिकमा सरेको केन्द्रबिन्दुलाई आफ्नो दृष्टिकोणमा ल्याउनका लागि अमेरिकाले प्रतिपादित गरेको एउटा रणनीति हो इण्डो प्यासिफिक ।

यसलाई नेपालको दृष्टिकोणबाट हेर्दा के देखिन्छ ?

नेपालमा किन ठूला शक्ति राष्ट्रहरुको चासो छ भन्दाखेरि मैँले अघि भने एउटा प्रयोगशालाको रुपमा र भूराजनीति नै हौ जुन अवस्थितिमा हामी छौँ, त्यसले गर्दा प्रत्येक ठूला शक्ति राष्ट्रहरु यहाँको आन्तरिक राजनीति र आन्तरिक स्थितिमा संलग्न हुन खोज्छन् भने देखिन्छ । यही कारणले उनीहरु नजिक हुने हो । अमेरिकाको पनि राष्ट्रिय हित नेपालको आन्तरिक विकाससंग कुनै न कुनै रुपमा जोडिएको छ । त्यसकारण पनि उसले चासो राखिरहेको छ ।

त्यसकारण अब नेपालले सबैभन्दा पहिले आफ्नो घरलाई ठीक राख्नुपर्यो । अन्तर्राष्ट्रिय सम्बन्ध भनेको ‘जान्यो सहयोग, नजान्यो हस्तक्षेप’ प्रकृतिको हुन्छ । यसलाई नकारात्मक रुपमा नदिनुहोला, तर नेपाल विगतदेखि नै क्रिडा स्थल हो । किनभने हिजो राणा शासनमा पनि वृटिश यहाँ कार्यालय नै खोलेर बसेको हो । अन्य देशसंग दौत्यसम्बन्ध अघि बढाउँदा पनि उनीहरुले स्वार्थ देखाइरहेकै छन् । अब हामीले चासो दिनुपर्ने कुरा त्यो क्रिडास्थल रंगभूमि वा रणभूमिमा परिणत नहोस् ।

किन त्यो सम्भावना छ र ?

सम्बन्ध राम्रोसंग सञ्चालन गर्न सकेन भने त सम्भावना जहिले पनि रहन्छ ।

सरकारले अहिले विकास र समृद्धिको एजेण्डा अघि सारेको छ । त्यसका लागि अन्तर्राष्ट्रिय समुदायको प्रयोग कसरी गर्न सकिन्छ ?

सबैभन्दा पहिले त हामीले आफ्नो आचरण र व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ । सञ्चार र प्रविधिको युगमा अन्तर्राष्ट्रिय समुदायको प्रकृति पनि परिवर्तन भएको छ । उनीहरुले हाम्रा प्रत्येक कामहरुको नजिकबाट अवलोकन गरिरहेका हुन्छन् ।

त्यसकारण भाषणभन्दा पनि आचरण र व्यवहार ठीक भयो भने अन्तर्राष्ट्रिय समुदायको पनि हेर्ने नजर ठीक हुन्छ । सहयोग पनि त्यही किसिमको हुन्छ । तर, उनीहरुको एजेण्डामाथि हामीहरुलाई प्रभावित गर्न सक्छन् भन्ने उहीहरुलाई लागेमा उनीहरुको पनि आफ्नै एजेण्डा र स्वार्थ छन् त्यही अनुसार लिन्छन् । त्यसकारण हामी कसरी जाने आफै स्पष्ट हुनुपर्छ ।

अन्त्यमा, नेपालमा आएको संघियताप्रति यहाँको धारणा के छ ?

संघियता सही रुपले विकसित भयो भने देशलाई फाइदा गर्छ । तर, अहिले संघियताको मूल उद्देश्य अनुरुप गइरहेको म देख्दिनँ । संघियताको सबैभन्दा ठूलो फाइदा भनेको राजनीतिलाई जनताको नजिक ल्याउँछ भन्ने हो । राजनीति नजिक आयो भने जनउत्तरदायी बन्छ । अहिले जनताको होइन, जनप्रतिनिधिको सेवासुविधातिर हाम्रो संघियता केन्द्रित भइरहेको जस्तो देखिन्छ ।

नेपालमा संघियता सोचेर सम्झेर नभई संवैधानिक आवेगमा आएको हो । काम गर्नेलाई सेवा सुविधा चाहिन्छ । तर, अहिले जनप्रतिनिधिहरुले जसरी सेवा सुविधा लिइरहेका छन् । हरेकलाई गाडी चाहियो, मोटरसाइकल चाहियो, बस्ने घर चाहियो भन्यो भने कहाँबाट ल्याउने ? यसले गर्दा जनतामा संघियताप्रति वितृष्णा पैदा गरिरहेको छ । त्यसकारण जनप्रतिनिधिले आफ्नो लागि नभई जनताको सेवाका लागि सोच्नुपर्छ ।

 

प्रतिकृया

प्रतिकृया