काठमाडौँ – महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली नोट बनाउने मेसिनसहित एक गिरोहलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि सुरु गरेको अप्रेशन ‘क्लिन बौद्ध’ अभियान अन्तर्गत सो गिरोह नक्कली नोट र छपाइ मेसिनसहित पक्राउ परेको जनाइएको छ ।


ADVERTISEMENT

# # #


काठमाडौं गोकर्णेश्वर नगरपालिका–६, नयाँबस्ती विपुल चोकमा रहेको एउटा घरको ‘फ्ल्याट’ भाडा लिएर नक्कली नोट छपाइको काम गर्दै आएको गिरोहलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेमा तीन जना छन् ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशबहादुर सिंहले जानकारी दिए । छापाका क्रममा नोट बनाउने सामग्री बरामद भएको उनले बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले नक्कली नोट छाप्ने मेसिनसमेत फेला परेका कारण उक्त गिरोहलाई चानचुने मान्न नसकिने बताए । यद्यपि उनीहरुको कोठाबाट करिब ३५ हजार नक्कली नोटमात्र बरामद भएको छ ।

नक्कली नोट थोरै परिमाणमा बरामद भए पनि उनीहरुले छाप्नका लागि तयारी अवस्थामा राखेका कागज र मेसिन हेर्दा ठूलै गिरोह रहेको अनुमान गर्न सकिने उनले बताए ।