काठमाडौँ– नयाँ शक्ति पार्टीका असन्तुष्ट डेढ दर्जन केन्द्रीय नेताहरुले संयोजक बाबुराम भट्टराईसँ ‘सम्बन्ध विच्छेद’ गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार विज्ञप्ति जारी गर्दै नयाँ शक्ति पार्टी महाधिवेशन आयोजक समिति सदस्य देवेन्द्र पौडेलसहित १७ नेताले बृहत् ध्रुविकरण केन्द्रीय संयोजन समिति गठन गरेको जानकारी गराए । ध्रुविकरण समिति संयोजकमा नयाँ शक्ति पार्टीका स‌ंगठन विभाग प्रमुख पौडेल रहेका छन् । विज्ञप्तिमा भट्टराईसँग सम्बन्ध टुटेको घोषणा नगरिए पनि यसलाई छुटेकै रुपमा बुझ्नुपर्ने असन्तुष्ट नेताहरु बताएका छन् । नेता वामदेव क्षेत्रीले भने, ‘ध्रुविकरण समिति भनेको मुद्दा मिल्ने दलहरुसँग एकता वार्ता गर्नलाई हो, यसलाई भट्टराईसँग सम्बन्ध टुटेकै भन्दा फरक पर्दैन’ । उनका अनुसार ध्रुविकरण संयोजन समितिले अहिले विभिन्न पक्षसँग वार्ता छलफल गरिरहेकोले छिट्टै मुद्दा मिल्ने र केन्द्रीय शक्तिसँग एकता हुने छ ।


ADVERTISEMENT

# # #


नयाँ शक्तिको ‘विद्रोही समूह’ले संविधान जारी भएपछि प्राप्त उपलब्धिको रक्षा र थप अग्रगामी उपलब्धि प्राप्तिको रक्षाका लागि समान एजेन्डा बोकेका शक्तिबीच ध्रुविकरणमा जोड दिएको छ । ध्रुविकरण समितिले चाँडै राष्ट्रिय भेला आयोजना गरी राजनीतिक कार्यदिशासहितको प्रतिवेदन र घोषणापत्र जारी गरिने विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय तह निर्वाचनमा लज्जास्पद हार बेहोरेको र नयाँ शक्ति पार्टी कार्यदिशा अस्पष्ट रहेको भन्दै असन्तुष्ट नेताहरुले केही दिनअघि काठमाडौंमा पत्रकार सम्मेलन गरेर ध्रुविकरणका लागि आदिवासी जनजाति, महिला, मधेसी लगायतलाई अपिल गरेको थियो । तर, पार्टी केन्द्रले अनुशासन उल्लंघन गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधेको थिए । उनीहरुले प्रस्टीकरणसमेत बुझाइसकेका छन् ।

ध्रुविकरणको पक्षमा नेता देवेन्द्र पौडेल, वामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीरपाइली, वलावती शर्मा, तिलक थापा, अमरध्वज लामा लगायत छन् । नयाँ शक्तिका नेता रामचन्द्र झा, रामकुमार शर्मा, रामेश्वर खनाललगायत नेताले यसअघि नै पार्टी छाडिसकेका छन् ।